भूमिगत हुँदै माओवादी नेताहरू,नेतृत्व गिरफ्तारी दिने तयारीमा

२८ कार्तिक २०७०, बिहीबार १९:५५ मा प्रकाशित

काठमाडौ, २८ कार्तिक । नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभरि परे पनि नौ दिनसम्म गर्ने भनिएको यातायात बन्दको प्रभाव भने आंशिक मात्र परेको छ। राज्यले सम्पूर्ण शक्ति परिचालन गरेर केही सार्वजनिक सवारीसाधनहरू सञ्चालनमा ल्याए पनि निजी तथा सरकारी गाडीहरूको आवागमनमा भने निकै कमी आएको छ। बन्दले निर्वाचनलाई पूरै बिथोल्ने स्थिति देखिएको छैन, तर न्यून मतदानको सम्भावना भने बढाएको छ। न्यून मतदान भएमा चुनाव परिणाममा समेत त्यसको गम्भीर असर पर्नेछ। नेकपा–माओवादीले बन्दको आह्वान गरेपछि उक्त पार्टीका नेता–कार्यकर्ताहरू सडकमा खासै देखिएका छैनन्। तर, माओवादीले बन्दका निम्ति लगाएको भन्दा कैयन गुणा बढी शक्ति सरकारले बन्दविरुद्ध प्रयोग र परिचालन गरेको छ। सरकारी प्रयासले बन्द तोड्ने केही सफलता प्राप्त गरेको भए पनि जनतामा उत्पन्न भय र त्रास हटाउन भने सरकार पूरै असफल भएको छ। विद्यमान भय र त्रासको स्थिति यथावत् रहेमा मङ्सिर चार गते मतदानमा सहभागी हुन चाहनेहरूको सङ्ख्यामा कमी आउने र मतदान न्यून हुँदा त्यसको असर सीधै परिणाममा पर्ने देखिन्छ। खासगरी प्रजातन्त्र पक्षधर शक्तिहरूलाई यसले क्षति पुर्याअउने निश्चित छ।
नेकपा–माओवादीले बन्द आह्वान गरेपछि चुनावको विपक्षमा कुनै शक्ति रहेछ भन्ने सन्देश देशैभरि गएको छ। कुनै तरिकाले निर्वाचन गराए पनि संविधानसभाले सबैलाई मान्य हुने संविधान निर्माण गर्न सक्नेमा थप अविश्वास पैदा गरेको छ। प्राप्त जानकारीअनुसार नेकपा–माओवादीले निर्वाचन बहिष्कार कार्यक्रमलाई क्रमशः आन्दोलनको रूपमा विकास गर्ने र सरकारी दमन बढ्दै गए पुनः सशक्त युद्धमा जाने तयारी गरेको छ। सम्बद्ध सूत्रले जनाएअनुसार पार्टीलाई अर्धभूमिगत हुँदै भूमिगत बनाउने तयारी पनि भइसकेको छ। माओवादी पोलिटब्युरोको पछिल्लो बैठकले देव गुरुङ र पम्फा भुसालबाहेक सबै नेताहरू भूमिगत जाने निर्णय गरेको पनि सम्बद्ध पक्षले जनाएको छ। माओवादीका एकथरि नेताहरू राजनीतिक सङ्घर्षको पक्षमा उभिएका र उनीहरू तत्काल भूमिगत जाने सोचमा पनि नरहेको बताइन्छ। मोहन वैद्य किरण, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, हरिभक्त कँडेल र हितमान शाक्यलगायतका नेताहरू तत्काल भूमिगत हुने र सशक्त सङ्घर्षमा जाने पक्षमा नरहेको बुझिन्छ। तर, नेत्रविक्रम चन्द ‘विप्लव’, कुलबहादुर केसी, सोनाम र खड्ग विश्वकर्मालगायतका नेता तथा कतिपय स्थानीय नेता र कार्यकर्ताहरू भने भूमिगत भइसकेको बताइन्छ। निर्वाचन बहिष्कार आन्दोलनका क्रममा सरकारले चर्को दमन गरे दमनकै स्तरको प्रतिरोध गर्ने तयारी भइसकेको माओवादी सूत्रले जानकारी दिएको छ। आफूहरूले छापामार शैलीमा लड्ने तयारी गरेको र लडाइँको प्रारम्भिक चरणमा देशघाती तथा विदेशी दलालविरुद्धको कारबाहीलाई प्राथमिकतामा राखेको पनि उनीहरूले बताएका छन्। भूमिगत शैलीमा काम गर्नुपरेकै कारण नेता नेत्रविक्रम चन्दले बारम्बार टेलिफोन नम्बर परिवर्तन गर्ने गरेको बुझिएको छ। तर, खुला रहेका मोहन वैद्यलगायतका नेताहरूले भने जेल जाने तर भूमिगत नजाने सोच बनाएको बताइन्छ। महासचिव रामबहादुर थापा बादल पनि भूमिगत भई सशस्त्र सङ्घर्षमा जाने पक्षमा रहेका, तर थापाकी पत्नीको तीव्र दबाबका कारणले मात्र उनी भूमिगत हुन नसकेको माओवादी सूत्रले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत