सबभन्दा ठूलो क्षति व्यहोर्दै एमाओवादी

२८ कार्तिक २०७०, बिहीबार ०१:५८ मा प्रकाशित

काठमाडौँ, २८ कार्तिक । संविधानसभा निर्वाचनको तिथि नजिकिँदै जाँदा देशको चुनावी माहौल प्रजातन्त्र र राष्ट्रपे्रमीहरूको पक्षमा सुदृढ हुँदै गएका सङ्केतहरू देखापर्न थालेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सय बीस स्थानमा विजय हासिल गरेर सबभन्दा ठूलो दलको हैसियत बनाउने एनेकपा माओवादी यसपटकको निर्वाचनमा दोस्रो ठूलो दल बन्न पनि मुस्किल पर्ने स्थितिमा पुगेको छ। देशका दुई सय चालीस निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा नेपाली काङ्गे्रस मूल प्रतिस्पर्धीको रूपमा देखिएको छ। तराईका कतिपय निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलहरूसँग प्रतिस्पर्धामा रहेको काङ्गे्रस सुदूरपश्चिम र पूर्वाञ्चलसहित पहाडी तथा हिमाली क्षेत्रमा नेकपा एमाले र एमाओवादीसँग प्रतिस्पर्धा गर्दै छ। काङ्गे्रसको मूल प्रतिस्पर्धा भने नेकपा एमालेसँग भइरहेको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा नेपाली काङ्गे्रस कम्तीमा चौध निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ भने त्यस क्षेत्रबाट एमाले र एमाओवादीले दुई/दुई स्थानमा मात्र विजय हासिल गर्न सक्ने विश्वास गरिएको छ। मध्यपश्चिमको सुर्खेतमा काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का मात्र नभई सो जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा काङ्ग्रेस विजयी हुने स्थिति छ। दैलेखको दुई क्षेत्रमा काङ्ग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। जाजरकोटमा एमाओवादीका शक्ति बस्नेत अगाडि छन् भने सल्यानको एउटा क्षेत्र र रोल्पा तथा रुकुममा एमाओवादी बलियो प्रतिस्पर्धाको रूपमा छ। दाङको सबै क्षेत्रमा काङ्ग्रेस र एमाले मुख्य प्रतिस्पर्धीको रूपमा रहेका छन्। बागमती अञ्चलका २९ निर्वाचन क्षेत्रमध्ये झण्डै दुई दर्जन निर्वाचन क्षेत्र हात पार्ने एनेकपा माओवादीले यसपालि जम्मा दुईभन्दा बढी स्थानमा विजय हासिल गर्न सके भने त्यसैलाई ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ। बागमतीमा काङ्गे्रस र एमालेबीच मुख्य प्रतिस्पर्धा भए पनि बढी स्थान काङ्गे्रसले हात लगाउने सम्भावना छ भने दोस्रो स्थान नेकपा एमालेले सुरक्षित तुल्याउने स्थिति छ। हालसम्म एनेकपा माओवादी काभे्रको क्षेत्र नं. एकमा मात्र अगाडि देखिएको छ। सिन्धुपाल्चोकमा अग्नि सापकोटा, नुवाकोटमा पोष्टबहादुर बोगटी, धादिङमा शालिकराम जमकटेल, ललितपुरमा हरि दाहाल, काठमाडौंमा नन्दकिशोर पुन मात्र मुख्य प्रतिस्पर्धीका रूपमा देखापरेका छन्। काठमाडौं क्षेत्र नं. १० मा उम्मेदवार बनेका प्रचण्ड अहिलेसम्म तेस्रो स्थानमा छन्। सो क्षेत्रमा नेपाली काङ्गे्रसका राजेन्द्र केसी अग्रपङ्क्तिमा देखिएका छन् भने केसीसँग एमालेका सुरेन्द्र मानन्धरले प्रतिस्पर्धा गरिरहेका छन्। कुनै चमत्कार गरेर प्रचण्ड दोस्रो स्थानमा उक्लन सकेनन् भने उनले यसपटक तेस्रो स्थानमै चित्त बुझाउनुपर्ने अवस्था छ। पूर्वाञ्चलको झापामा एमाओवादीका पूर्णसिंह राजवंशी जो क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन्, उनी मात्र अगाडि देखिएका छन्। क्षेत्र नं. ३ मा काङ्गे्रस महानमन्त्री कृष्ण सिटौलासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता एमाओवादीकी धर्मशिला चापागार्इंले देखाएको भए पनि यसपालि सिटौला नै अगाडि रहेका छन्। क्षेत्र नं. ७ मा एमाओवादीका गोपाल किरातीलाई एमाले नेता केपी शर्मा ओलीले धेरै नै पछाडि पारिदिएका छन्। झापा एक नं. क्षेत्रमा काङ्गे्रसका विश्वप्रकाश शर्मा र एमालेका रविन कोइरालाबीच मुख्य प्रतिस्पर्धा भए पनि शर्मा केही अगाडि मानिएका छन्। झापाको चार नं. क्षेत्रमा काङ्गे्रसका उद्धव थापा एमालेका पे्रम गिरीभन्दा धेरै अगाडि छन् भने ६ नं. क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धामा एमालेका दीपक कार्की केही अगाडि रहेको मानिन्छ। पाँच नं. क्षेत्रमा चाहिँ एमाओवादीका झलक दर्लामी, एमालेका एलपी साँवा र काङ्गे्रसका केशवकुमार बुढाथोकीबीच त्रिपक्षीय प्रतिस्पर्धाको स्थिति छ। इलामका तीनवटै निर्वाचन क्षेत्रमा काङ्गे्रस र एमाले मुख्य प्रतिस्पर्धी रहेका छन्। क्षेत्र नं. तीनमा काङ्गे्रसका केशव थापा र दुईमा एमालेका सुवास नेम्वाङलाई बढी सुरक्षित उम्मेदवारका रूपमा हेरिएको छ। पाँचथर एकमा काङ्गे्रसका नरेन्द्र केरुङ एमालेसँगको प्रतिस्पर्धामा अगाडि रहेका छन् भने दुई नम्बर क्षेत्रमा एमालेका डम्बरसिंह सम्वाहाम्फे र काङ्गे्रसका भीष्मराज आङदम्बेबीच प्रतिस्पर्धा देखिएको छ। ताप्लेजुङको दुई नम्बर क्षेत्रमा भने एमाओवादीका डम्बरध्वज तुम्बाहाम्फे केही बलियो मानिएका छन्। तर, एक नम्बर क्षेत्रमा काङ्गे्रसकी लीला बोखिमले आफ्नो विजय सुनिश्चित तुल्याउँदै लगेकी छिन्। मोरङको क्षेत्र नं. एक मा काङ्गे्रस नेता आमोदप्रसाद उपाध्याय प्रतिस्पर्धामा धेरै अगाडि देखिएका छन् भने क्षेत्र नं.२ मा शेखर थापा, पाँचमा अमृत अर्याल र ६ मा महेश आचार्यले काङ्गे्रसको तर्फबाट विजयी झण्डा फहराउने सम्भावना बढेको छ भने क्षेत्र नं. ७ मा काङ्गे्रस नेता शेखर कोइराला र फोरम अध्यक्ष विजय गच्छदारबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ।
त्यसैगरी क्षेत्र नं. ९ मा एमालेका घनश्याम खतिवडा र काङ्गे्रसका डिकमान लिम्बू मुख्य प्रतिस्पर्धामा छन्। ललितपुर छोडी मोरङको ९ नम्बर क्षेत्रमा उम्मेदवारी दिन पुगेका एमाओवादी नेता वर्षमान पुन हालसम्म तेस्रो स्थानमा रहेका छन्। मोरङ ८ मा एमालेका चन्द्रबहादुर गुरुङ र काङ्गे्रसका रमेशजंग रायमाझीबीच प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नं. ३ मा एमालेका गुरु बरालको स्थिति केही राम्रो मानिएको छ भने ४ नम्बर क्षेत्रमा चाहिँ एमाओवादीका शिवकुमार मण्डल केवट अगाडि देखिएका छन्। क्षेत्र नं. ९ मा वर्षमान पुनले ठूलो धनराशि खर्च गर्न सक्ने चिन्ता काङ्गे्रस र एमालेका उम्मेदवारहरूमा पैदा भएको छ।
सिरहाको ५ नम्बर क्षेत्रमा एमाओवादी अध्यक्ष प्रचण्डलाई एमालेका लीला श्रेष्ठले पछाडि पार्ने स्थिति बनिसकेको छ भने रूपन्देही र गोरखाबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईको स्थिति दुवै क्षेत्रमा कमजोर देखिँदै छ। गोरखामा काङ्गे्रसका किरणबाबु श्रेष्ठ र रूपन्देहीमा एमाले नेता विष्णु पौडेल डा. भट्टराईभन्दा सुदृढ देखिएपछि भट्टराईले दुवै क्षेत्रमा पराजय व्यहोर्ने सम्भावना बढेको छ।
पश्चिम नेपालमा अखण्ड नेपाल पार्टी तथा धवलागिरी अञ्चलका केही जिल्ला र प्युठानमा राष्ट्रिय जनमोर्चा काङ्गे्रस र एमालेको मुख्य प्रतिस्पर्धीको रूपमा देखापरेका छन्। चितवनको एउटाबाहेक सबै क्षेत्रमा काङ्गे्रस र एमालेबीच मुख्य प्रतिस्पर्धा रहेको छ। पर्सा, बारा, रौतहट र सर्लाहीलगायतका जिल्लामा काङ्गे्रस कतै मधेसकेन्द्रित दलसँग त कतै एमाओवादी र एमालेसँगको प्रतिस्पर्धामा देखिएको छ भने सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, दोलखा, रामेछापसहित अधिकांश जिल्लामा काङ्गे्रस र एमाले नै प्रमुख प्रतिस्पर्धी बनेका छन्। यसरी चुनावी मैदानमा सबभन्दा बलियो पार्टीका रूपमा काङ्गे्रस देखापरेको छ भने दोस्रो शक्तिका रूपमा एमाले देखिएको छ। एमाओवादी तेस्रो ठूलो दलको रूपमा सीमित हुने सम्भावना बढ्दै गएकाले संविधानसभाको दोस्रो निर्वाचन एमाओवादीका निम्ति सबभन्दा क्षतिपूर्ण हुने निश्चितप्रायः छ। क्षति त मधेसकेन्द्रित दलहरूले पनि व्यहोर्ने अवस्था छ, तर एमाओवादीलाई निर्वाचनले सबभन्दा बढी क्षति पुर्या उनेमा अब शङ्कै नगर्दा हुने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको