नेतालाई चुनावी चटारो, मतदातालाई बाली भित्र्याउन हतारो

२५ कार्तिक २०७०, सोमबार ०३:०३ मा प्रकाशित

पाँचथर, २५ कार्तिक । निर्वाचनको मिति नजिकिँदै गर्दा यस जिल्लामा विभिन्न राजनीतिक दलका उम्मेदवार एवम् कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर भोट माग्न र चुनावी आमसभा गर्न व्यस्त छन्।

यतिबेला घरदैलोको चुनावी सरगर्मीभन्दा पनि यहाँका किसानलाई खेतबारीमा पाकेको अन्न बाली भित्र्याउन हतारो छ। कृषकहरूलाई चुनावी सरगर्मीले छोएको पाइँदैन। यसपटकको चुनावका लागि मतदातामा खासै उत्साह पनि देखिएको छैन।

‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान सुनाउँदै ओयाम–१ का भीम राई भन्नुहुन्छ, “जुनसुकै पार्टीलाई भोट दिए पनि किसानको लागि केही सुविधा नल्याउने र संविधान पनि नबनाउने भएकाले चुनावप्रति खासै उत्साह छैन।”

चुनाव अघि दसैँ, तिहार र छठ पर्व जस्ता महत्वपूर्ण चाड परेको हुनाले मतदातालाई चुनावी रौनकले खासै छोपेन। चाडपर्व सकिनासाथ उच्च पहाडी भेगमा अलैंची, गाउँबेसीमा धान, कोदो मस्याम जस्ता अन्न बाली थन्काउने समय भएकाले आम मतदातालाई चुनावी रौनकले छुन नसकेको हो।

यसअघि पर्वका बेला जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता तास खेलेर चाड मनाउनेे गर्थे भने यस पटकको दसैँ र तिहारमा उनीहरूलाई तासको खालमा बस्ने फुर्सद भएन। उनीहरूले यस पटकको दशैं र तिहार मतदाताको घरदैलोमा गरए मनाएको पाइएको छ।

गतवर्ष तिहारको समयमा सदरमुकाम फिदिमबाट प्रहरीले डेढ दर्जनभन्दा बढी नेता र कार्यकर्तालाई जुवाको खालबाट नियन्त्रणमा लिएको थियो। यसवर्षको तिहारमा भने फिदिममा जुवा तास खेल्नेको समूह फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दीप शम्शेर राणाले बताउनुभयो।

चाडबाड सकिनासाथ आफ्नो पार्टीको चुनावी नारा बोकेर गाउँ पसेका सबै राजनीतिक दलका प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवार तथा कार्यकर्ता चुनावप्रति निराशा बोकेर खेतबारीमा पाकेको अन्नबाली भित्र्याउन व्यस्त आम मतदातासँग मत मागिरहेका छन्।

“हामीले मतदाताको बाध्यता र समस्यालाई बुझेका छौँ, त्यसैले सबै मतदाताको खेत खलोमा नै गएर आफ्ना कुरा राखी भोट माग्ने कार्यक्रम भइरहेको छ” – नेकपा (एमाले) क्षेत्र नं १ का उम्मेदवार गणेश काम्बाङले भन्नुभयो।

दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा अघिल्लो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट नौ र क्षेत्र नं २ बाट दश राजनीतिक पार्टीले भाग लिएका थिए। यसपटकको निर्वाचनमा क्षेत्र नं १ बाट १८ र क्षेत्र नं २ बाट १६ वटा राजनीतिक दलले भाग लिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज