जनताको अधिकार कुण्ठित गर्नेलाई कारबाही हुन्छ: अध्यक्ष रेग्मी

२२ कार्तिक २०७०, शुक्रबार २३:१३ मा प्रकाशित

काठमाडौं , २२ कार्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनलाई पूर्णरूपमा सफल तुल्याउन उद्योग व्यवसायीहरूलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्च सरकारी अधिकारी र उद्योगी व्यवसायीसँगको सामूहिक बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई राष्ट्रिय महापर्वको रूपमा लिइ हरतरहले सहयोग गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन अन्य आवधिक निर्वाचन जस्तो नभई जनताले आफ्नो संविधान बनाउन सार्वभौम अधिकार प्रयोग गर्न पाउने अवसर हो भन्दै यस्तो ऐतिहासिक अवसरको पूर्वसन्ध्यामा कुनै किसिमको बन्द हडताल एवम् मतदानमा अवरोध सिर्जना नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नु भएको थियो। जनभावना विपरीतका क्रियाकलापलाई निस्तेज गर्न सम्वद्ध सरकारी पदाधिकारी र निजी क्षेत्रलाई आग्रह गर्दै उहाँले निर्वाचनलाई लक्षित गरी आम जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सूचारु राख्न सम्वद्ध सरकारी पदाधिकारीलाई निर्देशन समेत दिनुभएको थियो । जनताको मताधिकारलाई कुण्ठित गर्नु र अस्थिरतालाई सघाउ पुर्याउनु ऐतिहासिक भूल हुने धारणा राख्दै अध्यक्ष रेग्मीले त्यस्ता क्रियाकलापको नियन्त्रणका लागि सरकारले सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण तयार गरेको वताउनु भयो। सो अवसरमा अध्यक्ष रेग्मीले ऐतिहासिक घडीमा निजी क्षेत्रले पनि सामान्य क्षतिको पर्वाह नगरी आ–आफ्नो कल कारखाना एवं व्यापारिक प्रतिष्ठान निरन्तर संचालन गर्न र सार्वजनिक यातायात चालु राख्न आग्रह गर्नुभयो । बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले सुरक्षा व्यवस्था कलियो र भरपर्दो तुल्याइएकाले र जनताको जीउधनको सुरक्षाका लागि सरकारले तत्काल प्रतिक्रीया गर्ने व्यवस्था मिलाएको हुँदा निर्वाधरूपमा आवागमन चालु रनख्न सम्बद्ध निजी व्यवसायी एवं उद्यमीलाई आग्रह गर्नुभयो। उहाँले कानुन हातमा लिने, जनताको अधिकार कुण्ठित गर्ने तथा निर्वाचनमा अवरोध पुर्याउने जो कोहीलाई कारवाही गर्ने दृढता व्यक्त गर्नु भयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले संविधानसभाको पूर्वसन्ध्यामा बन्द हडताल गर्नु आचारसंहिता विपरीतको कार्य भएकाले त्यस्तो कार्य गर्न नपाइने धारणा राख्नुभएको थियो। अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका वाणिज्यमन्त्री शङ्कर कोइरालाले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज रहेको भन्दै निजी क्षेत्रको साथ र सहयोगमा दैनिक जनजीवनलाई भयमुक्त बनाइने बताउनुभयो । ऊर्जामन्त्री उमाकान्त झाले बैठकमा विद्युत् सेवालाई प्रभावकारी तुल्याउन मन्त्रालयको तर्फबाट कुनै पनि कमजोरी नगरिने धारणा राख्नुभएको सचिव बाँस्कोटाले जानकारी दिनुभएको छ । बैठकमा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले बन्द र हडतालका समयमा त्यसका विरुद्ध सामूहिक प्रयासस्वरूप अघि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो । बैठकमा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले कुनै पनि प्रकारको बन्द र हडतालको महासङ्घले विरोध गर्ने धारणा राख्नुभएको थियो। नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्नेतले संविधानसभाको पूर्वसन्ध्यामा हुने बन्द हडताललाई साथ दिन नसकिने भन्दै राष्ट्रिय अभियानलाई साथ दिने बताउनुभएको थियो । बैठकमा नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजय स्वार र महासचिव डोलनाथ खनालले पनि सुरक्षा प्रत्याभूति र उचित क्षतिको व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्दै आफूहरू सार्वजनिक यातायात सञ्चालन गर्न तयार रहेको बताउनुभयो । नेपाल ट्रक व्यवसायी महासङ्घका उपाध्यक्ष हिरालाल श्रेष्ठले सवारी साधनहरू निर्वाधरूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा व्यवसायीहरूले सरकारले सुरक्षाको पूर्णतः प्रत्याभूति गराउन र कुनै क्षति भएमा राहत दिन सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई