संबिधानसभा निर्वाचन; सोलुखुम्बुमा तीन दलबीच कडा प्रतिस्पर्धा

१२ कार्तिक २०७०, मंगलवार ०३:३६ मा प्रकाशित

सोलुखुम्बु, १२ कार्तिक । सोलुखुम्बु जिल्लामा यसपटक तीनवटा दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। एउटा मात्र निर्वाचन क्षेत्र र ५२ हजार ७२५ जना मतदाता रहेको सोलुखुम्बु जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ११ दलका ११ जना र एक जना स्वतन्त्र उमेदवार गरी १२ जना रहेको भएपनि हाल मुख्य तीन दलको बीचमा मात्रै कडा प्रतिस्पर्धा देखिएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष एवम् पूर्व जिल्ला सभापति आङ ङिमा लामा र एकीकृत नेकपा (माओवादी)का पूर्व जिल्ला इञ्चार्ज गोम्बु शेर्पा (कर्ज्याङ)बीच प्रतिस्पर्धा देखिएको हो। उनीहरु सबैले आ–आफ्नो जितको दाबी गरिरहेका छन्।

चौतीस जिल्ला रहेको सोलुखुम्बुमा जिल्लाको इलाका नं ७ अन्तर्गतका तिङ्ला, नेचाबतासे, नेचाबेतघारी र सल्यान गाविस तथा कोसीपारी भनेर चिनिने बुङ, छेस्काम, सोताङ र गुदेललाई भोट बैंकको रुपमा हेरिन्छ। जसमा इलाका नं ७ का मतदाता बढी सचेत भएको र तीनवटै दलको सङ्गठन राम्रो भएकाले कोसी पारीको क्षेत्रको मत विजय प्राप्तिका लागि निर्णायक मानिन्छ। २०६४ सालको निर्वाचनमा कोसीपारीका अधिकांश बुथ तत्कालीन नेकपा माओवादीको नियन्त्रणमा रहेर निर्वाचन भएको थियो। कोसीपारी कै मतको कारण भारी अन्तरमा माओवादीले जित हासिल गरेको थियो। तर अहिले त्यो अवस्था नरहेको कारण त्यहाँका जनताले आफूलाई भोट दिने काँग्रेस उम्मेदवार केसीको दाबी छ। तर एमाले र माओवादीले पनि त्यस क्षेत्रमा आफू सशक्त हुने प्रयास गरिरहेका छन्।

विसं २०५६ को निर्वाचनमा काँग्रेसका बलबहादुर केसीसँग करिब १७५ मतले पराजय बेहोरेका राप्रपाका सोनाम छिरिङ शेर्पा अहिले स्वतन्त्र उम्मेदवार बनेका छन्। निकै खर्च गरेर वर्षौदेखि गाउँ नफर्किएका युवापुस्ताको सशक्त टोली लिएर गाउँ अभियानमा रहेका शेर्पाले पनि जित्ने दाबी गरिरहेका छन्। यता सङ्घीय समाजवादी पार्टीले नेकपा एमालेलाई केही धक्का दिएको छ। नेकपा एमाले सोलुखुम्बुको सङ्गठन विभाग प्रमुखसमेत बनेका भिम किरात अहिले सङ्घीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। उनको कारण इलाका नं ७ का केही गाउँ, कासीपारीका केही गाउँ र गोराखानी, टाप्टिङलगायतका क्षेत्रका मतमा एमालेलाई घाटा लाग्नसक्छ।

पञ्चायत कालमा माननीय बनेका भुपाल किराती अहिले राप्रपा नेपालका तर्फबाट समानुपातिक उम्मेदवार बनेका छन्। उनको पनि जिल्लामा प्रभाव रहेकाले केही भोट उनको पक्षमा जानसक्छ। एकीकृत नेकपा माओवादीले भने गोम्बु शेर्पा कर्ज्याङ्लाई उम्मेदवार बनाएपछि केही प्रभावशाली नेता मौन बस्नु, अघिल्लो चुनावमा जस्तो चुनावी अभियानमा पार्टीको सशक्त उपस्थिती नहुनु, जिल्लाका विभिन्न स्थानमा भएका विद्युत् आयोजना माओवादीकै कारण अलपत्र पर्नुले उसलाई ठूलो घाटा हुने देखिएको छ भने २०६४ को चुनावमा जातीय नारामा काँग्रेस र एमालेका जिल्लास्तरीय नेता नै लागेको भएपनि यस पटक त्यो नहुँदा माओवादी कमजोर देखिएको छ।

काँग्रेस र एमाओवादीमा विवाद

नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)को सोलुखुम्बुमा आन्तरिक विवाद देखिएको छ। काँग्रेसको जिल्ला समितिले पार्टी सचिव आङ गेलु शेर्पालाई उम्मेदवारका लागि सिफारिस गरेको भएपनि केन्द्रीय सदस्य बलबहादुर केसीलाई उम्मेदवार बनाएपछि सभापति पक्ष रुस्ट बनेको छ। सभापतिले पार्टीको नीतिअनुसार काम गर्ने बताएपनि उनी हालसम्म चुनावी अभियानमा आएका छैनन्, उनका पक्षीय मानिने कोषाध्यक्ष मङ्गलसिंह तामाङले पार्टी कार्यालयमा कालोझन्डासहित पत्रकार सम्मेलन गरेर केसीलाई सहयोग नगर्ने बताउनुभयो।

उता माओवादीमा पनि सिकारु नेता मानिने कर्ज्याङलाई उम्मेदवार बनाएपछि केही प्रभावशाली नेता चुनावी अभियानमा सहभागी भएका छैनन्। चुनावी अभियानमा पार्टी सशक्त नभएको भएपनि उम्मेदवार सकेसम्म सबै गाउँमा पुग्ने भनी जिल्ला दौडाहामा छन्। एमाले भने यसपटक एकजुट देखिएका छन्। विसं २०६४ को चुनावमा आङ ङिमा लामा, मानवीर राईजस्ता प्रभावशाली नेताले आफ्नै पार्टीको उम्मेदवारलाई सहयोग नगर्दा चोट पाएको एमालेले अहिले पाठ सिकेको पाइन्छ। जिल्लाका अधिकांश शिक्षक बलबहादुर केसीले नियुक्त गरेको कारण आफूलाई व्यक्ति हेरेर भोट दिने हुँदा विवादले खास असर नगर्ने काँग्रेसका केसी बताउनुहुन्छ, भने आफ्नो पार्टीमा समस्या नरहेको एमाओवादीका कर्ज्याङको दाबी छ।

चुनावी सभामा नागरिक उपस्थिति न्यून

अघिल्ला वर्षको निर्वाचनमा गाउँघरमा हुने चुनावी सभामा नागरिक उपस्थिति बाक्लो देखिने गरेको भएपनि यसपटक दलका कार्यकर्ता बाहेकको उपस्थिति अत्यन्तै कम छ। विभिन्न साप्ताहिक हाटको अवसरमा गरिएका कार्यक्रममा केही मानिस भेला भएको देखिए पनि अन्य गाउँठाउँमा सभामा उपस्थिति सामान्य रहेको पाइन्छ। ठूला तीन दलले समेत गाउँस्तरका २०/२५ जना कार्यकर्ताको माझमा मात्र कार्यक्रम गर्दै हिँड्नु परेको दल नै बताउँछन्। आफू घरदैलो कार्यक्रममा रहेकाले सभामा नागरिकको उपस्थिति कम देखिएको दलले बताए पनि नागरिक नेताका कुरामा खासै चासो नरहेको बताउँछन्।

तीनवटै दलद्वारा विकासे एजेन्डालाई प्राथामिकता

जिल्लामा रहेका सबै राजनीतिक दलद्वारा विकासका एजेन्डालाई गाउँघरमा लगेका छन्। काँग्रेस नेता बलबहादुर केसीले आफू निर्वाचित भएमा आगामी पाँच वर्षभित्रमा जिल्लाका ३४ मध्ये ३२ वटा गाविसमा सडक सञ्जाल पुर्यानउने, हरेक घरमा बिजुली बाल्ने, पर्यटन व्यवसायमा आधुनिकीकरण र कृषिमा आमूल परिवर्तन आफ्नो लक्ष्य र प्रतिबद्धता रहेको बताउनुभएको छ।

एमालेका उम्मेदवार आङ ङिमा लामाले जिल्लामा भएका अनियमितता छानबिन गर्ने, ३४ मध्ये ३२ गाविसमा मोटर बाटो, शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्था सुदृढीकरण, पर्यटन व्यवसाय सुधारको प्रतिबद्धता जनाउनुभएको छ भने एमाओवादीका गोम्बु शेर्पा कज्याङले आफू जितेमा पर्यटन मन्त्री बन्ने जिल्लाको पर्यटन व्यवसायमा आमूल परिवर्तन ल्याउने बताउनुभएको छ। जिल्लामा पर्यटन विश्वविद्यालय सञ्चालन, नौ वटै इलाकामा डाक्टरसहित हेल्थ सेन्टर सञ्चालन, जिल्लामा पर्यटन विश्वविद्यालय सञ्चालन, विद्युतीकरणलगायतका प्रतिबद्धता जनाइरहेका छन्।

विरोधीको प्रभाव शून्यः

निर्वाचन हुनुहुँदैन भन्ने नेकपा–माओवादीका केही कार्यकर्ता भएको भए पनि उनीहरुबाट अहिलेसम्म जिल्लामा चुनाव विरोधी कार्यक्रम भएका छैनन्। वैद्य पक्षीय माओवादीको सङ्गठन कमजोर भएकाले पनि जिल्लामा यस्ता घटना नभएका हुन्। जिल्लाको सुरक्षा कुनै चुनौती नरहेको र सुरक्षा अवस्था चुस्त बनाइएको प्रहरी नायव उपरीक्षक वद्रीविक्रम थापाले बताउनुभयो। सोलुखुम्बुमा सशस्त्र प्रहरी परिचालन गरिएको छैन भने नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा