पूर्वराजाको दशैँ नारायणहिटीमा

२४ आश्विन २०७०, बिहीबार ००:५६ मा प्रकाशित

काठमाडौ, २४ असोज । पूर्व ‘श्री ५ महाराजाधिराज’ ज्ञानेन्द्र तथा उहाँको परिवारको दशैं यस वर्ष नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा हुने भएको छ । प्राप्त जानकारीअनुसार मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास रहेको महेन्द्र मञ्जिलमा राजपरिवारको टीका लगाउने कार्यक्रम छ । टीकाको साइतमा राजगुरुज्यू तथा पुरोहितहरूबाट टीका लगाएपछि पूर्वमुमाबडामहारानीबाट सबैले टीका लगाउने र त्यसपछि राजाबाट पूर्वबडामहारानी कोमल तथा बुहारी हिमानी र नातिनातिनी, पूर्वअधिराजकुरमार धीरेन्द्रका छोरीहरू पूजा, दिलासा र सीताष्मा, बहिनी शोभा, छोरी प्रेरणा, ज्वाइँ तथा नाति–नातिनीलाई रोलक्रमअनुरूप टीका लगाउने कार्यक्रम रहेको छ । यसअघि टीकाको साइतमा निर्मलनिवासमै टीका लगाउने गरिएको थियो ।
घटस्थापना र दशैँको पूजापाठ महेन्द्र मञ्जिल र निर्मलनिवास दुवैतिर गरिएको छ । दशैँमा छोरी, ज्वाइँ, बुहारी, नाति–नातिनी सबै भए पनि छोरा पारसको भने उपस्थिति रहने छैन । पूर्वयुवराज पारस अहिले बैंककस्थित एक पुनस्र्थापना केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा अझै केही समय लाग्ने बताइएको छ । पूर्वयुवराज्ञी हिमानी दुई हप्ताअघि मात्रै पुनस्र्थापना केन्द्रको पैसा तिर्न तथा पति पारससँगको भेटघाटका लागि बैंकक पुग्नुभएको थियो । पारसको स्वास्थ्य स्थितिमा सुधार आएका कारण खुसी हुनुभएकी हिमानीसँग आफू पूर्ण स्वस्थ भएपछि मात्रै बाहिर निस्कने कुरा पूर्वयुवराजले गर्नुभएको बताइएको छ । तिहारसम्म पनि उहाँको स्वास्थ्य ठीक नभए प्रेरणा, सीताष्मा, पूजा या दिलासामध्ये कोही न कोही बैंकक गएरै टीका लगाइदिने सोच शाही परिवारले बनाएको बुझिएको छ ।
विगत दुई महिनादेखि कसैसँग भेटघाट नगरी मौन बस्नुभएका पूर्वराजा ज्ञानेन्द्र विजयादशमीको अवसरमा विभिन्न शक्तिपीठहरूको पूजाआजामा बाहिर निस्कनुहुने भएको छ । जानकारीअनुसार असोज २६ गते महाअष्टमीका दिन दिउँसो ४ बजे नक्साल भगवतीमा पूजाआजा गरिने र त्यसपछि क्रमशः गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाङ्काल, सङ्कटा, नरदेवी, रक्तकाली र शोभाभगवतीमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । बडादशैँको टीका महेन्द्र मञ्जिलबाट सुरु गरिने भए पनि सर्वसाधारण तथा अन्य शाही नातेदारलाई भने निर्मलनिवासमै टीकाको कार्यक्रम राखिएको छ ।
विजयादशमीको दिन ३ बजेदेखि निर्मलनिवासमा सर्वसाधारणका लागि टीका खुला गरिएको छ । मुलुकमा औपचारिक रूपले राजसंस्था नरहे पनि पूर्वराजाको हातको टीका थाप्न वर्षेनी हजारौँको सङ्ख्यामा भीड लाग्ने गरेको छ । यता साहेबज्यू, चौतारिया तथा शाही नातेदारका लागि भने विजयादशमीको भोलिपल्ट टीका कार्यक्रम राखिएको छ । यसअघि आफ्नो परिवारको टीका सकेर शाही नातेदार र त्यसपछि मात्रै सर्वसाधारणलाई टीका लगाउने गरिएको थियो । विगतमाझैँ यो वर्ष पनि नेपाली जनताका नाममा पूर्वराजाबाट बडादशैँको शुभकामना सन्देश दिइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी