आन्दोलनरत भूपू गोर्खासँग वार्ता गर्न बेलायती प्रधानमन्त्री तयार

२३ आश्विन २०७०, बुधबार २१:४१ मा प्रकाशित

नवीन पोखरेल, लन्डन, २४ असोज । माग सुनुवाइ नभएपछि भोक हडतालको तयारी गरिरहेका भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबाट सकारात्मक जवाफ पाएका छन् । समान पेन्सनलगायत माग राखेर थालिएको गोर्खा सत्याग्रहको ६ महिना सकिनै लाग्दा प्रधानमन्त्री क्यामरुनले तेस्रो पत्र पठाउँदै वार्ताका माध्यमबाट समस्या समाधान गर्ने आश्वासनसहित भोक हडताल नगर्न अपिल गरेका छन् ।
पत्रमा प्रधानमन्त्रीले गोर्खाहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको अधिकार आन्दोलनप्रति समर्थन जनाएका छन् । ‘बेलायती रक्षामन्त्रीले निकट भविष्यमै सविस्तार अर्को पत्र लेख्ने प्रत्याभूति दिँदै त्यसले वार्ताको आधार तयार गर्ने र वार्ताबाट समस्या समाधान गरी गोर्खाहरूलाई आमरण भोक हडतालजस्तो पीडादायी समस्याबाट मुक्ति दिलाउने’ दृढता क्यामरुनको छ ।
गोर्खा सत्याग्रह, लन्डन संयुक्त संघर्ष समिति यूके नेपालका संयोजक सन्तोष थलङले बेलायती प्रधानमन्त्रीको पत्रलाई गोर्खा आन्दोलनको इतिहासकै ‘उत्कृष्ट’ भनेका छन् । अभियान निर्देशक ज्ञानराज राईले वार्ताबाट समस्या हल गर्ने वातावरण बन्नु अकल्पनीय उपलब्धि भएको जनाउँदै यस्तो सकारात्मक जवाफ गोर्खा आन्दोलन इतिहासमा यसअघि कहिल्यै नपाएको दाबी गरे । समितिका गोर्खादूत राम नारायण कन्दङवाले प्रधानमन्त्री क्यामरुनको गोर्खाहरूप्रतिको धारणा, माया, सम्मान, वर्तमान आन्दोलनप्रति बलियो समर्थन तथा आफ्ना मागहरू सम्बोधन गर्न उनले लिएको पहलकदमीको उच्च  मूल्यांकन गरे ।
समितिले ऐतिहासिक उपलब्धिलाई तार्किक निष्कर्षमा पुर्‍याई आन्दोलन अरू घनीभूत बनाउन अत्यन्त जरुरी रहेको बताउँदै त्यसका निम्ति बलियो एकता औंल्याएको छ । साझा हितका निम्ति जुझारु एकता प्रदर्शनसहित सम्पूर्ण प्रकारका सहयोग गर्न उसले सबैमा अनुरोध गरेको छ ।
गोर्खा सत्याग्रहपछि बेलायती प्रधानमन्त्रीले तीनवटा पत्र लेखिसकेका थिए, जसमध्ये पहिलो अत्यन्त नकारात्मक थियो । पहिलो पत्रमा बेलायतले गोर्खाहरूलाई भेदभाव नगरेको, समान तथा समयानुकूल व्यवहार गरेको, सधैं सम्मान र माया गरेको तथा बेलायतले गोर्खाहरूलाई गर्ने व्यवहार सम्बन्धमा बेलायत सरकारको दृष्टिकोणमा कुनै परिवर्तन नआएको भनिएको थियो । तर, प्रतिउत्तरमा भूपू गोर्खाहरूले बेलायतले आज पनि गम्भीर भेदभाव गरिरहेको, गोर्खाहरूलाई गर्ने व्यवहार र दृष्टिकोण शतप्रतिशत गलत भएको र त्यो गोर्खाहरूलाई कुनै हालतमा मान्य नहुने जवाफ दिएका थिए । फेरि क्यामरुनले दोस्रो पत्र पठाउँदै गोर्खाहरूको बिन्तीपत्रले बेलायत सरकारको ध्यानाकर्षण भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले