टुट्दैछ बेलायतमा नेपालीको दाम्पत्य सम्बन्ध

२३ आश्विन २०७०, बुधबार १९:५२ मा प्रकाशित

नवीन पोखरेल, लन्डन । जीन्दगीको लामो यात्रा संगै छिचोल्ने प्रतिज्ञा गरेर साढे चारवर्ष अघि विहे वन्धनमा बांधिएका रमेश र शिला (नाम परिवर्तन) । लाई बिहे लगत्तै अध्ययनका लागि बेलायतको टियर फोर भिसा मिल्यो । नयां सम्वन्ध, नयां परिवेश र नयां आकांक्षा । दिनचर्या कम रोमाञ्चक रहेन । श्रीमति विद्यार्थी, श्रीमान डिपेन्डेन्ट भएकाले फुलटाइम जव । परिश्रमको कदर हुने देशमा नियमित आम्दानीले अभावको त कुरै भएन ।
घुमफिर, मोजमस्ती । वैवाहिक सम्वन्ध मजवुत थियो । तर, समय बित्दै जांदा रमेशमा पाश्चात्य प्रभाव देखिन थाल्यो । विदेशी साथीबाट उसले नाइट आउट, सोसलाइज, फन इत्यादि सिक्यो । समयमा कहिल्यै घर नआउने, घर व्यवहार भद्रगोल छ । एक पैसा वचत छैन् । उसका यस्तै क्रियाकलापले दाम्पत्य जीवनको त्यो रमाइलो विगत विस्तारै मेटिंदै गयो । एकापसमा कुरै नमिल्ने । अन्ततः बिहेको चार वर्षपछि शिला आफ्नो वैवाहिक सम्वन्ध समापनतिर लागेकी छिन् । उनले एउटा कानुनी फर्ममा दाखिल गरेको सम्वन्ध विच्छेद (डिभोर्स) फाइलमा वैचारिक मतभेद र आफ्नो भावनाको कदर नभएको निवेदन छ ।

उता, रश्मी र हेम (दुवै नाम परिवर्तन) को कहानी बेग्लै छ । १२ वर्ष अघि बेलायत छिरेको हेम विद्यार्थी भिसाबाटै पिआर पाए यता विद्युतीय सामान बेच्ने एउटा कम्पनीमा कार्यरत छ । बेलायत टेकेको ७ वर्षपछि नेपाल गएर उसले घरजम गर्यो । आफूभन्दा ज्यादै कान्छी श्रीमति । साथमै ल्याएपछि दुवै बेलायतको व्यस्त दैनिकीमा रमाउन थाले । हेम काममा बढि नै बिजी हुने । तर, रश्मीको थोरै जागिर ज्यादा घरायसी काम थियो । श्रीमान्को यथेष्ट कमाइ अनि बेलायती रमझमले रश्मीमा क्रमशः परिवर्तन देखिन थाल्यो । अधिकांश समय फेसबुक च्याट, विकेन्डमा गेट टुगेदर अनि साथीभाइसंग आउटिङले परपुरुषसंग उनको हिमचिम बढ्यो । पर पुरुषसंग सम्वन्ध गांसिएपछि त घरमा पतिको वास्तै छैन् । केही पटक आपत्तिजनक अवस्थामा भेटिएपछि हेमले आफ्नो अपमानसहित सामाजिक प्रतिष्ठामै आंच पुग्ने ठानेर अहिले यी दुई जीन्दगीको रथ संगै तान्न नसक्ने निष्कर्ष सहित सम्वन्धलाई बाइ बाइ गर्दैछन् ।

संगै बांच्ने संगै मर्ने कसम त्यति दिगो नहुने रहेछ, समय र परिस्थितिले । अझ बेलायत जस्तो विकसित देशमा रहेर वैवाहिक सम्वन्ध टिकाउन त झन् चुनौती रहेको उदाहरण माथिका दुई घटना हुन् । वैचारिक मतभेद, आर्थिक समस्या, जागिरको व्यस्तताले एकअर्कालाई पर्याप्त समय दिन नसक्नु, महिला अधिकार प्रत्याभूति, बढ्दो स्वतन्त्रता महशुस र साथीसंगीको मिल्नु भन्दा छोडि दे यार.. जस्तो आलो कांचो सुझावले
सम्बन्ध बिच्छेद (डिभोर्स) को क्रम वृद्धि भइरहेको छ । भइरहेको नाता सम्वन्धमा नयाँ व्यक्तिको प्रवेश अनि हिमचिमले पनि सम्बन्ध बिच्छेद (डिभोर्स) तर्फ अभिप्रेरित गरिरहेको देखिन्छ ।

दूतावासमार्फत डिभोर्सका लागि वारेसनामा दिन आउनेको संख्या बढिरहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, गत साउन महिनामा डिभोर्स गर्न ११ वटा वारेसनामा भएको थियो भने भदौ महिनामा ७ जनाले त्यस्तो वारेसनामा दिए । सालाखाला यही दर छ विगत महिनामा पनि ।

समाजशास्त्र पढेका बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले यो क्रम बढिरहेको जनाउंदै सम्वन्ध विच्छेद बढ्नुका केही कारण ठम्याए । उनकै शब्दमा, सम्वन्ध टुंग्याउने सवालमा महिला अग्रपंक्तिमा छन् । खुल्ला पाश्चात्य संस्कृति र पर्यावरणको प्रभाव, आत्मनिर्भरता, महिला पुरुष समान भनेर रटाउने आधुनिक शिक्षा अनि देश छाडेर आएपछि परिवर्तन हुने विलासी मानसिकता र स्वतन्त्रता आपसी सम्वन्धका तगारो हुन् चालिसेको बुझाइमा । ‘महिलाले गर्छु भनेपछि केही जोर चल्दैन’, चालिसे भन्छन्, ‘बेलायतले महिला अधिकार बढि दिएकाले पनि सम्बन्ध बिच्छेद गर्न आत्मवल बढेको हुनुपर्छ ।’
यस्ता मुद्दा धेरै सम्हालिरहेको छ लन्डन इलिङस्थित व्यस्त कानुनी फर्म ‘एभरेष्ट ल सोलिसिटर्स’ ले पनि । फर्मका प्रिन्सिपल एवं पहिलो नेपाली सोलिसिटर राजु थापाको बुझाइमा विशेष गरि नेपाली समुदायभित्र घरेलु हिंसा सम्वन्ध तोडिनुको प्रमुख कारण हो ।
‘सधैं घर झगडा भएर सम्वन्धलाई तिलाञ्जली दिनेहरु धेरै छन्’, थापाले भने । प्रजातान्त्रिक देशमा पनि किन अत्याचार वा असन्तुष्टि खेपेर बस्नु भन्ने मानसिकता अर्को कारण देख्छन् थापा ।

बेलायत भित्रिने उद्देश्यले नक्कली बिहे गरि डिपेन्डेन्टमा आएका धेरै युवायुवती पनि अहिले वैवाहिक जीवन समाप्तितिर लागिरहेको थापाले जनाए । विशेषगरि १८ देखि २२ वर्ष उमेरका केटाकेटी पुरानो बनावटी बिहे (भावनात्मक नभएपनि कानुनमा चाहिं सक्कली नै हो) टुंग्याएर अर्को जीवन शुरु गर्न लागेका हुन् । सन् २००९, मार्चमा बेलायत सरकारले टियर फोरको कानुनी ल्याएपछि धेरै विद्यार्थी नक्कली विहे गरेर यता आए । तर, त्यतिबेलाको सम्वन्ध केवल उद्देश्य पूर्तिका लागि भएकाले अहिले उनीहरु त्यसलाई टुंग्याएर अर्को जीवन शुरु गर्न चाहन्छन् । बेलायतमा आवासीय अधिकार प्राप्तिका लागि आफ्नो भइरहेको सम्वन्ध टुंग्याएर विदेशीसंग विहे गर्ने प्रचलन समेत बढिरहेको थापाको बुझाइ छ ।

श्रीमान् श्रीमति दुवै बेलायतमा संगै रहे पनि छुट्न चाहने एकथरि छन् भने अर्कोतिर कुनै एक पक्ष नेपाल र अर्को बेलायत रहेर प्रत्यक्ष नभेटी बीचैमा सम्वन्ध टुंग्याउन खोज्ने पनि छन् । बेलायत नेपाल जहां रहेपनि डिभोर्स प्रक्रिया बढाउन सकिने प्रावधान छ । नेपालको कानुन अनुसार, केटा वा केटी पक्षले आफू निकटलाई दूतावासमार्फत अख्तियार अर्थात वारेसनामा दिएर विदेशबाटै सजिलै टुंग्याउन सक्छन् सम्वन्ध । बेलायतमै रहेका जोडीलाई भने प्रक्रिया अलिक भिन्न छ । सोलिसिटर थापाले बेलायतमा सम्वन्ध विच्छेद गर्न सकिने पांच आधार रहेको प्रष्ट्याए । पहिलो, सम्वन्ध कायमै रहेका बेला कुनै एक पक्षले दोश्रो सम्वन्ध गांसेमा (एडल्ट्री), दोश्रो, अनुचित व्यवहार गरेमा (गालीगलौज, घरेलु हिंसा, अपमान आदि), तेश्रो, विना कारण छोडेर गएको अवस्थामा, चौंथो, दुई वर्ष निरन्तर एक अर्काबीच अलग्गिएर बसेको र सहमतिमा छुट्टिन चाहेमा र अन्तिम, पांच वर्ष सम्म एक अर्काबीच छुट्टिएर बसेको अवस्थामा अरु प्रमाणविना नै सम्वन्ध विच्छेद भएको ठहरिने छ ।

बेलायतीबीच पनि सम्वन्ध विच्छेद दर उच्च छ । अफिस फर नेशनल स्ट्याटिसटिक्स्को तथ्यांकमा सन् २०११ मा एक लाख १८ हजार सम्वन्ध विच्छेद गरिए, जसमा पुरुष संख्या केवल ९ हजार पांचसय मात्र थियो । उसको प्रतिवेदनमा बिहेको पहिलो दशकभित्र सम्वन्ध विच्छेदका मुद्दा धेरै छन् । बिहेको बीस वर्षपछि पांच जनामा एक र चालिस वर्षपछि एकसयमा एक वटा विच्छेद केस हुने तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न