नेपाली नागरिकता नत्यागी अष्ट्रेलियन नागरिकता

२३ आश्विन २०७०, बुधबार ०६:५६ मा प्रकाशित

हेमन्त काफ्ले, सिड्नी, अस्ट्रेलिया, २३ असोज । ‘विदेशमा कमाएर स्वदेशमा लगानी गर्छन् अर्थात् विदेशमै बसे पनि स्वदेशमा योगदान पुर्‍याउँछन्, त्यसैले विदेशमा बस्‍ने नेपालीलाई दोहोरो नागरिकता दिनुपर्छ’, गैरआवासीय नेपाली (एनआरएन) ले पटकपटक गर्दै आएको माग हो यो।

तर स्वदेशको सम्पत्ति बेचेर विदेशमा घरजम गर्ने नेपालीका लागि राज्यले किन दोहोरो नागरिकता दिने? अहिले यस्तो प्रश्न पनि उठ्न थालेको छ। आफ्नै देशको मात्र नागरिकता लिएका र खाडी मुलुक गएर लाखौं नेपालीले कमाएको ‘रेमिट्यान्स’ ले देशको अर्थतन्त्र चल्ने अनि अस्ट्रेलिया, क्यानाडा, अमेरिका र युरोपमा बसेर मुलुकका लागि केही नगर्ने व्यक्तिलाई राज्यले दोहोरो नागरिकता दिने? यो प्रश्न अस्ट्रेलियामा बस्ने नेपाली नागरिकले उठाएका छन्।

नेपालको सम्पत्ति बेचेर अस्ट्रेलियामा घर किन्ने र नेपालमा केही पनि नभित्र्याउने प्रवृत्ति बढेपछि यहाँका नेपालीले यस्तो आवाज उठाउन थालेका हुन्। अस्ट्रेलियामा बस्ने ६ हजार नेपालीले अस्ट्रेलियाको नागरिकता लिइसके पनि नेपाली नागरिकता त्याग्‍ने पाँचजना मात्रै छन्। बाँकी सबैले दुई देशको नागरिकता राखेर दोहोरो सुविधा उपभोग गरिरहेका छन्।

‘उनीहरू अस्ट्रेलिया बसुन्जेल अजी (अस्ट्रेलियाली नागरिक) हुन्छन्, नेपाल पुगेपछि नेपाली। दोहोरो नागरिकतामा उनीहरू कारोबार गर्दै आएका छन्। दोहोरो नागरिकता लिनु नेपाली कानुनीअनुसार अपराध हो, त्यसैले पनि यसबारे छानबिन हुनुपर्छ’ , सिड्नीमा उच्‍चशिक्षा अध्ययनरत मोरङका निसम बस्नेत भन्छन्, ‘यहाँ अस्ट्रेलियाली भनेर धक्‍कु लगाउने अनि नेपाल गएपछि खुसुक्‍क नेपाली नागरिकता झिकेर कारोबार गर्ने?’

प्रवासका लाखौं नेपालीसँग अहिले पनि दोहोरो नागरिकता छ। अन्य देशको नागरिक बन्न पाउने अधिकार उनीहरूसँग सुरक्षित छ। तर नेपाली नागरिकता त्याग्‍नुपर्छ।
एनआरएनले वर्षौंदेखि दोहोरो नागरिकता दिन माग गर्दै आए पनि सरकारले त्यस्तो कानुन बनाएको छैन। तर अस्ट्रेलिया, अमेरिका र युरोपको नागरिकता लिएका धेरै नेपालीले दोहोरो सुविधा उपभोग गर्दै आएका छन्। यसको छानबिन गर्ने निकाय नहुँदा नेपाल सरकार अलमलमा छ।

अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बढेपछि यहाँको नागरिकता लिनेको संख्या उल्लेख्य वृद्धि भएको छ। महिनैपिच्छे हुने नागरिकता शपथ समारोहमा नेपालीको लामो सूची हुन्छ। हरेक महिना सरदर १० नेपाली अस्ट्रेलियाली नागरिक हुने गरेका छन्।

क्यानबेरास्थित नेपाली दूतावासका कन्सुलर लोकबहादुर थापा आफ्नो चारवर्षे कार्यकालमा दुईजना नेपालीले मात्र नागरिकता त्यागका लागि आवेदन दिएको बताउँछन्। कुनै अर्को देशको नागरिकता लिएमा उक्त व्यक्तिको नेपाली नागरिकता स्वत: खारेज हुने नेपाली कानुनी व्यवस्था छ। तर यहाँको नागरिकता लिएका अधिकांश नेपालीसँग दोहोरो नागरिकता छ।

‘थुप्रै नेपालीले यहाँको नागरिकता लिएको हामीले पनि सुनेका छौं तर कानुनी प्रावधानअनुरूप नागरिकता त्याग्‍नेको संख्या अत्यन्त कम छ’, थापाले भने, ‘६ हजार हाराहारीमा नेपाली अजी भइसकेका छन् तर ६ जनाले पनि नागरिकता त्याग्‍न पत्र दिएका छैनन्।’

दूतावासको अभिलेखअनुसार ३० हजार नेपाली अस्ट्रेलियामा बसोवास गर्दै आएका छन्। तर यो अभिलेख अद्यावधिक नगरिएको विभिन्न संघसंस्थाको तथ्यांक छ। ती संघसंस्थाका अनुसार अहिले करिब ६० हजार नेपाली अस्ट्रेलियामा बसोबास गर्छन्।

अस्ट्रेलियाको कानुनअनुसार चाहेका बेला यहाँको नागरिकता त्याग्‍न पाइन्छ। तर अस्ट्रेलियाले राज्यविहीनताको न्यूनीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेका कारण केही सर्त भने पालना गर्नुपर्ने हुन्छ। दोहोरो नागरिकताको व्यवस्था भएका देशका लागि खासै फरक नपर्ने भए पनि नेपाललगायत दोहोरो नागरिकताको व्यवस्था नभएका मुलुकका लागि भने यो समस्या हो। यस कारण नेपालीले एकपटक अस्ट्रेलियाको नागरिकता लिएपछि त्याग्‍न पाइने अवस्था रहँदैन।
नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ को दफा ११ मा विदेशी नागरिकता लिएका नेपालीले नेपाल फर्केर सम्बन्धित अधिकारीसामु विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेमा मात्र फेरि नेपाली नागरिकता दिने व्यवस्था छ।

सिड्नीको कोग्रा काउन्सिलले यसै महिना जारी गरेको तथ्यांकअनुसार उक्त काउन्सिलमा बसोवास गर्ने नेपालीको जनसंख्या सबैभन्दा उच्‍च छ। सिड्नीस्थित कोग्रा, रकडेल, सेन्ट जर्ज, ग्रानभिल, अवन, एसफिल्ड, स्टार्टफिल्डलगायतका क्षेत्रमा नेपालीको बाक्लो बसोवास छ। सिड्नीमा बस्ने नेपालीको संख्या २५ हजार छ। मेलवर्न, ब्रिसबेन, पर्थ र एड्लेड, न्यु फार्मलगायतका क्षेत्रमा पनि नेपाली बसोवास गर्छन्।

अस्ट्रेलियास्थित अध्यागमनको रेकर्डअनुसार सन् १९६० को दशकबाट नेपाली अस्ट्रेलिया आउन थालेका हुन्। सन् २००८ र २००९ मा करिब २० हजार नेपाली अस्ट्रेलिया प्रवेश गरेको तथ्यांक छ।

ब्रिसबेनका सञ्‍चारकर्मी भरतराज पौडेल नेपालको सम्पत्ति बेचेर अस्ट्रेलियामा घर किन्ने अनि दोहोरो नागरिकता चाहियो भनेर माग गर्नुको कुनै अर्थ नरहने बताउँछन्। प्रकोप व्यवस्थापनमा विद्यावारिधि गरिरहेका पौडेल भन्छन्, ‘अस्ट्रेलिया र अमेरिकामा बस्नेहरू उतै कमाउँछन्, उतै घर किन्छन्। बरु नेपालको सम्पत्ति बेचेर पैसा बाहिर लैजान्छन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का