जसलाई दसैँ मनाउन फुर्सद छैन

२२ आश्विन २०७०, मंगलवार २१:४७ मा प्रकाशित

अञ्जलि रम्तेल, काठमाडौ । दसैँ खुसीयालीको प्रतीक भए पनि सबै मानिस र वर्गमा यो लागू हुन सकेको छैन। भनिन्छ, ठूलाबडाका लागि दसैँले खुसी ल्याए पनि गरिबी र निमुखाका लागि यो सधैँ बोझका रुपमा रहेको छ।

वषौदेखि प्रदर्शनीमार्ग क्षेत्र वरपर याममा मकै र अन्य बेला नाङ्लो पसल थापेर बस्ने गरेको एक कार्की दम्पतीका लागि दसैँ दशाका रुपमा आउने गर्छ। आफूले जन्माएका सन्तानले वास्ता गर्न छाडेपछि उनीहरुको सडकको बास भएको थियो। श्रीमती नानु भन्नुहुन्छ– “साना छँदा मर्लान् कि भन्ने डर, ठूलो भएपछि मार्लान् कि भन्ने डर, त्यसैले सन्तानको सम्झना पनि नगरौँ होला।”

अहिले सुन्धारामा बस्नुभएका कार्की भन्नुहुन्छ– “दसैँ आएको गएको मतलबै हुन छाडेको छ, कैयौँ वर्ष भयो जोइपोइ मात्र भएर दसैँ मनाएको, सन्तान सानो हुँदा उसैका लागि भनेर पनि दसैँ मनाइन्थ्यो, अहिले त अब कसरी गर्जो टार्नु भन्ने चिन्ताले सधैँ सताउँछ, अनि के को दसैँ?” उहाँहरुको जीवनमा दसैँले खुसी नल्याएको पनि थुप्रै वर्ष भइसकेको छ। “नयाँ कपडा र रातो टीका निधारमा लगाई पिङ खेल्न गएको अझै सम्झनामा ताजै छ”, उहाँले भन्नुभयो– “अब त उमेरले पनि डाँडो काटिसकेको छ अब त्यही खुसी फर्कन्छ भन्ने पनि लाग्न छाडिसकेको छ।”

सधैँको दुःखबाट पार पाउने र परिवारलाई सुख दिने आशामा आठ वर्षअघि वीरगन्जबाट काठमाडौँ छिर्नुभएका जितेन्द्रप्रसाद मण्डलको जीवन पनि सोचेअनुरुप सहज हुन सकेको छैन। दसैँका बेलामा केही बढी आम्दानी गर्न सकिएला भन्दै दिनरात मेहेनत गर्दा पनि अरुको हेपाहा प्रवृत्तिका कारण उहाँले आम्दानीलाई सञ्चय गर्न सक्नुभएको छैन। नरिवल विक्रेता मण्डल दसैँको नाममा नगरपालिका र फोहोरमैला उठाउन आउनेले पैसा माग्न आउनेदेखि वाक्क भइसक्नुभएको छ। चार सन्तानका बाबु मण्डल दसैँमा आफ्ना सन्तान र परिवारसँग भेट गर्न पाइने कुराले पनि निकै दङ्ग हुनुहुन्छ। आफ्ना क्षेत्रमा दसैँ मनाउने तरिका नै फरक हुने बताउँदै उहाँ भन्नुहुन्छ– ‘यहाँ त दसैँ भन्दै सधैँ मासु र रक्सी खाने गर्छन् तर हाम्रातिर त दसैँको नौ दिनसम्म व्रत बसेर पूजाआजा गर्छौ।’

करिब पन्ध्र सोह्र वर्षदेखि काठमाडौँमा सडक व्यापार गर्दै आइरहनुभएका मोरङकी दुर्गा चाहर आफ्नो एउटै सन्तानलाई राम्ररी किनमेल गराइदिएर दसैँ मनाउने तयारीमा हुनुहुन्छ। आफ्नो दसैँको योजनाबारे उहाँले बताउनुभयो– “हाम्रो त के दसैँ, अब त बच्चाहरुको हो नि, उनीहरुलाई मन पर्ने सामान, लुगा किनिदिने र उनीहरुको खुसी हेरेर रमाइलो मान्छौँ।” ठूलाबडा कहाँ टीका थाप्न जाने भए पनि घरमा बस्न फुर्सद नहुने उहाँ बताउनुहुन्छ। “हामीलाई त अब दसैँ मनाएर बस्ने फुर्सद कहाँ हुन्छ र? कसरी दसँैको लागि खर्च जुटाउने भन्ने ध्यान हुन्छ” उहाँले भन्नुभयो।

“दसैँ आएको छ भन्ने अनुभव पनि गर्न पाएको छैन” उहाँले भन्नुभयो– “जीवन सुखसँग बिताउने कल्पनामा काठमाडौँ छिरे पनि सधैँ अभाव र व्यस्त जीवनले त्यो अनुभव हुन पाएको छैन।”

रत्नपार्कमा नाङ्लो पसल चलाएर आफ्नो जीवन धानिरहनुभएकी काभ्रेकी दुर्गा चौलागार्इं दसँै मनाउन घरतिरै लाग्ने बताउनुहुन्छ। ‘जाउलो खाने’ मेलोका रुपमा रहेको नाङ्लो पसलले आफ्नो दैनिकी राम्रैसँग धानिरहेको बताउन पनि उहाँले भुल्नुभएन। “छोराबुहारीले काम नगरी घरैमा बस्नू ” भने पनि दुःख नगरी पाएको सुखको महत्व नहुने भन्दै आफैँ काम गर्न काठमाडौँ छिरेको उहाँले बताउनुभयो। उहाँ भन्नुहुन्छ– “आफ्नो हातखुट्टा लागुन्जेल त उनीहरुले केही नभन्लान्, भरे केही भइहालेमा उनीहरुले स्याहार्न मान्दैनन्, बरु अहिलेदेखि नै आफ्नो ज्यान आफैँ पाल्नु बेस सम्भि्कएर काम गर्न आएँ।”

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा