पूर्वराजाको रहस्यपूर्ण मौनता

१६ आश्विन २०७०, बुधबार २२:३३ मा प्रकाशित

काठमाडौ, १७ असोज । धनगढीमा भव्य स्वागत पाएर राजधानी फर्कनुभएका पूर्वमहाराजाधिराज ज्ञानेन्द्र विगत दुई महिनादेखि कसैसँग कुनै संवादसमेत नगरी चुपचाप बसिरहनुभएको छ। पूर्वराजालाई भेट्नका लागि निजी सचिवालयमा निवेदनका चाङ परेको जानकारी प्राप्त भएको छ। भेटका लागि सचिवहरूसँग टेलिफोनबाट पनि त्यत्तिकै आग्रह गर्ने गरिएको छ तर उहाँले भेटघाटबारे कुनै प्रतिक्रिया दिनुभएको छैन। यसअघि पूर्वराजाले हप्तैपिच्छे कसै न कसैलाई भेट दिने गर्नुहुन्थ्यो।
प्राप्त जानकारीअनुसार मङ्सिरमा हुने संविधानसभाको निर्वाचन र अन्य राजनीतिक विषयलाई लिएर भेटघाट गर्न चाहने नेताहरूको सूची निकै लामो छ, तर उहाँले उनीहरूलाई भेट्छु या भेट्दिनँ केही भन्नुभएको छैन। अरू त अरू संवैधानिक राजतन्त्रलाई मुख्य एजेण्डा बनाएर चुनाव लड्न लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्म पनि पूर्वराजालाई भेट्न पाएका छैनन्। राजेश्वर देवकोटा हुँदै पूर्वमन्त्रीहरू, नेपाली काङ्ग्रेस तथा माओवादीका केही नेताहरूले पनि भेटघाटका लागि आग्रह गरेका छन् तर उनीहरूले पनि कुनै जवाफ पाउन सकेका छैनन्। नेताहरूलगायत केही प्राज्ञिक व्यक्तित्व, पत्रकार, कलाकार, सामाजिक कार्यकर्ता तथा युवाहरूले उहाँसँग भेट्नका लागि अनुरोध गरेका बुझिएको छ। राजधानी तथा अन्य जिल्लावासी केही सर्वसाधारणले निवेदन हालेरै ‘दर्शन भेट पाऊँ’ भनेका छन् तर भेटघाटलाई लिएर दुई महिनादेखिको राजाको मौनता तोडिएको छैन।
स्रोतका अनुसार यसअघि प्रायः विभिन्न व्यक्तित्वहरूसँगको भेटघाटमा रमाउने पूर्वराजाको भेटघाटबाहेक अन्य दिनचर्यामा भने परिवर्तन आएको छैन। शारीरिक अभ्यास, लेखपढ, इन्टरनेट सर्चिङ, नाति–नातिनीसँग बिताउने क्षण सब नै उस्तै
छ। बिहानै प्रायः सबै अखबार पढ्ने र आफूलाई महत्त्वपूर्ण लागेका समाचार तथा लेखमा चिह्न लगाउने उहाँको पुरानै आदत हो। निर्मलनिवास प्रायः सबै दैनिक र मुख्य साप्ताहिकहरूको ग्राहक पनि हो। ‘टेलिभिजनमा भन्दा इन्टरनेटमा बस्न मन पराइबक्सिन्छ,’ स्रोतले भन्यो। इन्टरनेटमा बसे पनि अखबार भने छोएरै पढ्नुपर्छ भन्ने उहाँको मान्यता रहेको पनि बुझिएको छ। पूर्वराजालाई पुस्तक पनि इ–पुस्तकभन्दा किताब नै किनेर पढ्नमा रुचि भएको बताइन्छ। अन्य सबै कुरामा सक्रिय पूर्वराजाले चुनावको नजिक भेटघाटका लागि देखाएको मौनताले सम्बन्धित सबैलाई आश्चर्यचकित बनाएको छ। जिल्लास्थित नेताहरूले काठमाडौं आएर पटक–पटक ताकेता गर्दा पनि भेट नपाएपछि ‘सरकार.., यस्तो मौनता किन?’ भन्ने प्रश्न गर्दै भेटघाटका लागि आग्रह गरेका बताइन्छ।
पूर्वराजपरिवारका निकटवर्तीहरूका अनुसार पूर्वयुवराज्ञी हिमानी पति पारसलाई लिन बैंकक जानुभएको हल्ला गरिए पनि उहाँ पारसलाई लिन नभएर पारस बसेको पुनर्स्थापना केन्द्रको पैसा तिर्न जानुभएको थियो। अस्पतालबाट डिस्चार्ज गरी पुनर्स्थापना केन्द्रमा राखेपछि परिवारका सदस्यहरू पूर्वयुवराजलाई हेर्न गएका थिएनन्। खानपान र भेटघाटको कडा बन्देजका बीच केन्द्रमा बसेका पूर्वयुवराजले अझै केही समय उक्त केन्द्रमा बस्नुपर्ने अवस्था रहेको बताइएको छ। पूर्वयुवराज्ञी हिमानीले केन्द्रको अहिलेसम्मको हिसाबकिताब चुक्ता गरेर आउनुभएको र विगतको भन्दा स्वास्थ्य स्थितिमा धेरै नै सुधार आएको पनि बुझिएको छ। एउटी पत्नीका लागि आफ्नो पतिलाई पुनर्स्थापना केन्द्रमा राखेर पैसा तिर्दै हिँड्नु कतिसम्मको पीडादायी कुरा हो भनेर यत्तिकै पनि अन्दाज गर्न सकिन्छ। तथापि, पारसको स्वास्थ्यस्थितिलाई लिएर उहाँ खुसी हुनुभएको बताइन्छ। पूरै स्वस्थ नभई पारसलाई काठमाडांै आउन प्रोत्साहित नगरिने पनि थाहा भएको छ। उहाँको पासपोर्ट थाई प्रहरीसँगै भएकाले पनि अहिले काठमाडौं आउने कुनै सम्भावना देखिँदैन। लागूऔषध प्रयोग गरी पुनर्स्थापना केन्द्रमा बस्ने कुनै पनि मुलुकका नागरिकको पासपोर्ट थाई प्रहरीले लिने गरेको छ। पूर्णतः स्वस्थ नभईकन पासपोर्ट प्राप्त गर्न नसक्ने प्रावधान रहेको छ। पुनर्स्थापना केन्द्रले डिस्चार्ज गर्ने सल्लाह नदिएसम्म त्यहीँ राख्ने सोच पूर्वराजपरिवारको रहेको पनि बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा