निर्वाचन र बहिष्कार दुवै सशक्त हुने !

२६ भाद्र २०७०, बुधबार २१:०७ मा प्रकाशित

काठमाण्डौ, २६ भदौ । नेकपा–माओवादीको गम्भीर असहमति र विरोधका बाबजुद आगामी मङ्सिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन गराउने तयारी अन्तिम चरणमा पुगेको छ । एमाओवादी नेतृत्वले अन्तिम क्षणमा आएर निर्वाचनबाट पिठ्यूँ फर्काउने आशङ्का रहे पनि केही खास कारणबस प्रचण्ड पछि हट्न नमिल्ने स्थिति भएकोले मङ्सिर ४ मा चुनाव हुने निश्चितता बढेको हो । प्रचण्डको विश्लेषणमा निर्वाचन परिणाम एमाओवादीको पक्षमा जानेछ, ‘जित्ने चुनाव’बाट पछि हट्न नहुने धारणा प्रचण्डको छ । पार्टीका कतिपय नेताहरूले नेकपा–माओवादीलाई समेत सहभागी नगराई चुनावमा जानु उचित नहुने दिएको सुझावप्रति प्रचण्ड सकारात्मक नभएको बताइन्छ । यसअघि चार महिना पहिले धादिङको जीवनपुरमा आयोजित विशेष कार्यकर्ता प्रशिक्षण शिविरमा प्रचण्डले ‘भदौसम्मको स्थिति हेरेर मात्र पार्टी चुनावमा जाने या नजाने कुराको अन्तिम निर्णय लिइने’ बताएका थिए । आफू विजयी हुने पक्का भए मात्र निर्वाचनमा जान तयार भएको एमाओवादी नेतृत्व यतिबेला आफू विजयी बन्नेमा विश्वस्त रहेको छ, एमाओवादीको विश्वासले निर्वाचनको सम्भावना बढाएको छ । तथापि कुनै पनि बहानामा प्रचण्ड चुनावबाट पछि हट्न सक्ने सम्भावना भने यथावत् रहेको छ । विभिन्न सूत्रहरूमार्फत एमाओवादी नेतृत्वले निर्वाचनको मिति सार्नुपर्ने सन्देश काङ्गे्रसमा पठाइरहेको चर्चा राजधानीमा यो साता निकै चल्यो । यद्यपि एमाओवादीले यस चर्चामा सत्यता नभएको बताएको छ । यस सम्बन्धमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको ध्यान आकर्षित गर्दा उहाँले भन्नुभयो, ‘वैद्यजीहरूलाई पनि निर्वाचनमा सामेल गराइनुपर्छ भन्ने अर्थमा केही अघि नै निर्वाचन मिति सार्ने कि भन्ने कुरा उठेको थियो, तर वैद्यजीहरू कुनै पनि हालतमा चुनावमा सहभागी नहुने स्पष्ट भएपछि चुनावको मिति सार्ने विषयले कुनै प्राथमिकता पाएको छैन ।’
नेकपा–माओवादीको गत आइतबार र सोमबार बसेको पोलिटब्युरो बैठकले आफ्ना मागहरू सम्बोधन भए चुनावमा सहभागिता जनाउने निर्णय लिएको छ । तर, माओवादीका माग सम्बोधन हुने कुनै सङ्केतहरू देखिएका छैनन् । त्यसैले अन्तत: मङ्सिर ४ गते चुनाव भइछाड्ने र उक्त चुनावको माओवादीले सक्रिय बहिष्कार गर्ने निश्चित भएको छ । माओवादीले गत असारमा सम्पन्न पोखरा बैठकबाट ‘जनयुद्धको जगमा जनविद्रोहमा जाने’ कार्यनीति जुन पारित गरेको छ उक्त कार्यनीति बदल्ने पक्षमा उक्त पार्टी अहिलेसम्म छैन । पार्टीमा वैचारिक नेतृत्व मोहन वैद्य किरणले लिने, सङ्गठनको नेतृत्व रामबहादुर थापा बादलले गर्ने, सैन्य विभागको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले, मोर्चा (जनसरकार) को नेतृत्व देव गुरुङले र विदेश विभागको नेतृत्व सीपी गजुरेलले गर्ने गरी यसअघि नै कार्यविभाजन भएको छ । पोखरा बैठकको निर्णयअनुसार नेत्रविक्रम चन्दले सेना गठनको प्रक्रिया सुरु गरिसक्नुभएको छ र चुनाव बहिष्कारको निम्ति युवा प्रतिरोध दल निर्माणको प्रक्रिया पनि चन्दले सुरु गरिसक्नुभएको बताइन्छ । पचहत्तर वटै जिल्लामा प्लाटुनहरूको निर्माण गर्नेगरी आवश्यक प्रक्रिया सुरु गरिएको माओवादी सूत्रले जनाएको छ । चुनावलाई सक्रिय, सशक्त र सशस्त्र बहिष्कार गर्ने नीति लिएको माओवादीले ‘विद्रोहको रिहर्सल’ यही चुनावमा गर्ने तयारी गरेको सम्बद्ध सूत्रले बताएको छ । बहिष्कारका क्रममा राष्ट्रिय राजनीतिक दलका बलिया उम्मेदवारहरूलाई लक्षित गरी भौतिक कारबाहीसम्म गर्ने तयारी माओवादीले गरिरहेको छ ।
माओवादीको एउटा पक्ष निर्वाचनप्रति केही सकारात्मक भए पनि उनीहरू पोखरा बैठकको निर्णयका विरुद्ध जानसक्ने स्थितिमा छैनन् । सीपी गजुरेललगायतका नेताहरू चुनावप्रति केही सकारात्मक भए पनि उनीहरूलाई आफ्नै पार्टीको निर्णयविरुद्ध जान सक्ने वातावरण सत्ता पक्षले बनाइदिन सकेन । जसका कारण माओवादी एकढिक्का भएर बहिष्कार अभियानमा जुट्ने स्थिति बनेको छ ।
यसरी निर्वाचन र बहिष्कार निश्चित हुँदै गएको भए पनि निर्वाचन पक्षीय दलहरूभित्र निर्वाचनमा जानका लागि आवश्यक तयारी भने भइसकेको देखिँदैन । एमाओवादी र एमालेभित्र आन्तरिक विवाद चरम चुलीमा पुगेकोले उम्मेदवार चयन प्रक्रिया सहज वातावरणमा सम्पन्न हुने देखिएको छैन । आन्तरिक स्थिति नसम्हालीकन ती पार्टीहरू कसरी निर्वाचनमा सामेल होलान्– जिज्ञाशाको विषय बनेको छ ।
उता निर्वाचन आयोगले अहिलेसम्म गरिसक्नुपर्ने प्राविधिक तयारी पनि गर्न सकेको छैन । काङ्गे्रस–एमालेलगायत दलहरू म्यादी प्रहरी भर्नाको पक्षमा नरहेको भए पनि निर्वाचन आयोगले अन्तिममा आएर म्यादी प्रहरी भर्ना गर्नुपर्ने निर्णय गरी ‘प्रहरी’ भर्नाका निम्ति सरकारलाई अनुमति दिएको छ । मतदाता परिचयपत्रको छपाइसमेत विलम्ब भएकोतर्फ दृष्टिगत गर्दा कतै निर्वाचन आयोगकै कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न नसकिने हो कि भन्ने आशङ्का पनि कतिपयले गरेका छन् । जे होस्, मङ्सिर ४ गते निर्वाचन गरिने निश्चित भएको छ, तर हतारहतारमा गरिने यो निर्वाचनको औचित्यमाथि भने इतिहासले प्रश्न उठाइरहनेमा शङ्का गर्नु नपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई