समाजबादी आन्दोलनका प्रणेता बीपी कोइरालाको जन्म दिन

२४ भाद्र २०७०, सोमबार ११:५१ मा प्रकाशित

काठमाण्डौ, २४ भदौ । नेपाली राजनीतिका युग पुरुष बीपी कोइराला आजकै दिन जन्मेका हुन् । विश्व समाजबादी आन्दोलनका प्रणेता बीपी कोइराला यति बेला हुनुहुन्न र पनि देश र दुनियाले उहाँले निर्देश गरेको समाजबादी प्रजातान्त्रिक आन्दोलनको दिग्दर्शनमा देश र दुनिया चलेको हेर्न चाहान्छ । समाजबादी प्रजातान्त्रिक आन्दोलनको बाटो सहज छैन, कठिन छ । न हिंसा न उत्तेजना मात्र राष्ट्रियता समाजबाद र प्रजातन्त्र । विश्व समाजबादी आन्दोलनका प्रणेता बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई भरियाको थोत्रा लुगाको पुलिन्दासमेत गरिब जनताको हितमा काम गर भन्ने सन्देश पठाएबापत पिताजी कृष्णप्रसाद कोइराला तत्कालीन शासनको कोपभाजनमा पर्नुभएको थियो । अनि उहाँ भारतको निर्वासनमा जानुभयो । बीपीको हुर्काइ, शिक्षा, दीक्षा भारतमा नै भयो । भारतीय स्वतन्त्रता संग्राममा पनि छिमेकीको हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्नुभएका बीपीले भारत स्वतन्त्र भएपछि नेपालमा पनि प्रजातन्त्र स्थापना हुने विश्वासको आहृवानका साथ ०३ सालमा राष्ट्रिय नेपाली काङ्ग्रेसको स्थापना गर्नुभयो ।

बीपीको निधन विसं.२०३९ साउन ६ गते भएको थियो । अहिलेभन्दा २९ वर्षअघि बित्नुभएका बीपीले नेपाललाई प्रजातान्त्रिक, आधुनिक र समृद्ध बनाउने आन्दोलनका क्रममा झण्डै दुई दशक नेपालको जेल र भारतको प्रवासमा बिताउनुभयो । उहाँ भारतमा पनि जेल पर्नुभएको थियो । बीपी जीवनमा कहिल्यै हार्नुभएन । यदि उहाँको नेतृत्व हारेको हुनुहुन्थ्यो भने प्रजातान्त्रिक नेपाली चेत यति उन्नत हुने थिएन ।

साहित्यमा विश्वेश्वरप्रसाद कोइराला भनी प्रसिद्धी प्राप्त राजनीतिज्ञ बीपी नेपाली साहित्यमा मनोवैज्ञानिक विश्लेषक हुनुहुन्छ भने राजनीतिमा प्रजातान्त्रिक, समाजवादी । उहाँले भन्नुभयो- राजनीतिमा म प्रजातान्त्रिक समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । किनकि, साहित्यमा सम्राट पनि नाङ्गै हुन्छ । यस्तो शाश्वत टिप्पणी गर्ने बीपीलाई सम्झदा यो संकुचित ठाउँमा धेरै भन्न सम्भव छैन । केवल सम्झना मात्र हो । आजसमेत भोलिका पुस्तालाई पनि विचारोत्तेजक प्रेरणा दिनसक्ने जननायक बीपी हामी नेपालीका लागि स्मरणीय व्यक्तित्व हुनुहुन्छ भन्ने संक्षिप्त प्रयत्न मात्र हुन् यी हरफहरू । यस्ता व्यक्तित्वहरू राष्ट्रिय हुन्छन् र राष्ट्रिय पहिचान बन्छन् । यसैले बीपी स्मरणीय, पठनीय र अनुकरणीय हुनुहुन्छ । भूराजनीतिको सीमा नाघेर नेपाललाई अन्तर्राष्ट्रिय चिनारीमा पुर्‍याउने नेपाली मान्छे बीपीलाई समयको अनन्त शृङ्खलाबीच पनि आर्थिक, सामाजिक, राजनीतिक भनियोस् वा कृषि र वातावरण अथवा साहित्यजस्ता अत्याधुनिक विषयहरूमा निरन्तर पढ्न सकिन्छ । समाजवादी चिन्तकमा बुझ्न सकिन्छ ।

बीपी चिन्तनको खानी र दार्शनिक हुनुहुन्थ्यो । आज पनि उहाँलाई पढ्दा हामीहरूबाट अहिले प्राप्तिका लागि आग्रह गरिएका कुरा उहाँले उतिबेलै देखाउनु भएको थियो । माग्नुभएको थियो, र त्यसैका लागि प्रजातान्त्रिक आन्दोलनको कठोर यात्रा गर्नुभएको थियो । अहिले मागिएको समावेशी, साझेदारी अथवा पहिचान र समृद्धिको वा राष्ट्रिय एकता र मेलमिलापको लक्ष्य बीपीले आन्दोलनको आरम्भमा नै पहिचान गर्नुभएको थियो । शब्दान्तर होला । सन्देश बीपीकै हो, लक्ष्य पनि यसैबाट निस्सृत छ । जसलाई उहाँका भनाइको केही उद्धरणमा बुझ्न सहज हुन्छ । भविष्यमा समेत नेपाली समाजलाई दिग्दर्शन गर्नसक्ने आफ्ना उन्नत विचारले बीपी दार्शनिक हुनुहुन्थ्यो भन्ने पुष्टि भएको छ ।

नेपालमा प्रजातन्त्र र नेपालीलाई अधिकार तुल्य बनाउन एक संगठनको निर्माणका लागि पहिलो आहृवान गर्दै -सन् १९४६) राजा ईश्वरको अंश हुन् भन्ने पारम्परिक धारणालाई बीपीले अस्वीकृत गर्नुभयो र भन्नुभयो- आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो । त्यो सित आफ्नो अधिकार नखोस्नु प्रजाको नपुंशकता हो । -नेपाली काङ्ग्रेस, ऐतिहासिक दस्तावेजहरू, प्रकाशन- विचार विविध, सम्पादक गगन थापा) । त्यस्तै उहाँको अर्को भनाइ छ- पहाडे र मधिसे -हेय) भावनाले मुलुकको उन्नति हुँदैन ।- विश्वेश्वरप्रसाद कोइराला, ऐतिहासिक दस्तावेज, सम्पादक प्रदीप गिरि) । त्यस्तै अर्को भनाइ- प्रजातन्त्रमा विरोधी दल खडा हुन्छन्, हुनुपर्छ तर व्यक्तिगत द्वेष र स्वार्थका लागि होइन । -ऐ ऐ ) ।

अहिले बीपीका यी तीन कुरालाई मात्र पढ्दा पनि गणतन्त्र भएको नेपालको प्रेरणा स्रोत कहाँ वा के र को थियो भन्ने थाहा पाउँछौं । यसैगरी यतिबेला हामीभित्र पन्पिएको क्षेत्रीयता र जातिवाद जस्ता विषयविरुद्ध उहाँको समतावादी चिन्तन त्यतिबेलै प्रकट भएको थियो । राजनीतिक रूपमा दलहरूको एवं विचार विविधताको मान्यता बीपीले उतिबेलै स्थापित गर्नुभयो । प्रेरणाप्रद बीपीको दर्शनको उज्यालोमा वर्तमानका हामीहरूले नियाल्यौं भने आफूलाई बढी संकुचित र निषेधको धरातलमा भेट्छौं । अहिले विचारको संकुचन छ, विचार निषेध हुँदैछ । एक प्रकारले विचारको स्वतन्त्रतामाथि प्रहार हुँदैछ । विचारमाथिको निषेध र प्रहार व्यक्तित्व विकासमाथिको अमानवीय प्रहार हो । जसले राष्ट्रिय सोचको विविध स्वरूप अनि आधार-जगलाई नै कमजोर पार्छ । निषेध, जसलाई दरिद्र भन्नोस् अथवा अधिनायकवादी वा तानाशाही सोच भन्नुपर्छ ।

विश्वमा खोजियो भने सभ्यताको क्रमसँगै विचार निषेधका हजारौं यत्न भेटिन्छन् । मानिसलाई काल कोठरीमा बन्द गर्दा पनि वा लेखनी रोक्दा पनि विचार रोकिएको छैन । राणा र राजतन्त्रले बीपीलाई रोक्न खोजेकै हो तर सकेनन्, समयक्रममा उनीहरू आफैँ विदा हुनुपर्‍यो । हेक्का रहोस्, अन्ततः विचारकै विजय भएको छ, निषेध गर्नेहरू पराजित भएका छन्, दोषी ठहरिएका छन् । मानव सभ्यताले देखाएको बाटो यही हो । बीपी स्मृति दिवसको सन्दर्भमा हामीले उहाँको जीवनपद्धति भन्नोस् अथवा दर्शनबाट सिक्ने मूलभूत संस्कार र चिन्तन यही हो । विश्व समाजबादी आन्दोलनका प्रणेता बीपीप्रति श्रद्धाञ्जली ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा