महत्वपूर्ण निर्णय थाती राखेर कांग्रेस बैठक स्थगित

८ भाद्र २०७०, शनिबार ०८:२६ मा प्रकाशित

काठमाडौं, ८ भदौ । आगामी निर्वाचनका लागि उम्मेदवार चयनको विषय उत्कर्षमा पुगे पनि नेपाली कांग्रेसले भने अझै संसदीय बोर्ड गठन गर्न सकेको छैन । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय संसदीय बोर्डलाई पूर्णता दिने अपेक्षा धेरैले गरेका थिए, तर बोर्ड गठनबारे चर्चासम्म पनि उठेन । बोर्ड गठन हुन नसकेबाट उम्मेदवार चयनमा ढिलाई हुन सक्ने सम्भावना बढाएको छ भने यसले पार्टीको आन्तरिक जीवन अझै विवादको भासमै रहेको संकेत पनि गरेको छ ।
तथापि, शुक्रबार बसेको बैठकमार्फत् संविधानसभा निर्वाचनमा उम्मेदवार हुनेको नाम सिफारिससम्बन्धी निर्णय सच्याउने काम भने कांग्रेसले गरेको छ । गत १ भदौमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रत्येक क्षेत्रीय समितिलाई सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । शुक्रबारको बैठकले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँचजनाको नाम सिफारिस गर्न सबै क्षेत्रीय समितिलाई निर्देशन दिने निर्णय गर्दै यसअघि आफूले गरेको निर्णय सच्याएको हो । कांग्रेस पदाधिकारी बैठकले सबै क्षेत्रीय समितिलाई २० भदौभित्रै पार्टी केन्द्रमा आइपुग्ने गरी संविधानसभा निर्वाचनलाई ध्यानमा राखी तीनजना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । पदाधिकारी बैठकले गरेको निर्णयअनुसार नै सभापति सुशील कोइरालाले १ भदौमा सबै जिल्ला कार्यसमिति सभापतिको नाममा चारबुँदे पत्र पठाएका थिए । तर, पार्टी सभापतिको निर्देशनबमोजिम कुनै पनि जिल्ला कार्यसमितिसमक्ष क्षेत्रीय समितिले सम्भावित उम्मेदवारको नाम सिफारिस नगरिरहेको अवस्थामा केन्द्रले पुनः सो निर्णयलाई सच्याएको हो । बैठकले प्रत्यक्षतर्फका तीन र समानुपातिक निर्वाचन प्रणालीका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई दिने निर्णय गरेको छ।
कांग्रेस विधानको दफा ९ को उपदफा ३ बमोजिम क्षेत्रीय कार्यसमितिले क्षेत्रीय अधिवेशनको रायसुझाव लिएर सांसद उम्मेदवारका लागि समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी तीनजनाको नाम सिफारिस गरी जिल्ला कार्यसमितिमार्फत केन्द्रमा पठाउनुपर्नेछ । तर, समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवार हुने सम्बन्धमा विधानमा स्पष्ट उल्लेख नभएपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार समानुपातिकका सम्भावित पाँचजनाको नाम सिफारिस गर्न भनेको हो । शुक्रबारको बैठकले एक साताअघि पदाधिकारी बैठकले गठन गरेको सभापति कोइराला संयोजकत्वको निर्वाचन कोष समिति र उपसभापति पौडेले संयोजकत्वको निर्वाचन घोषणापत्र मस्यौदा समिति गठनको प्रस्तावलाई भने पारित गरेको छ । सभापति कोइरालाले पार्टीले निर्वाचनको वातावरण बनाउन हालसम्म अन्य दलसँग गरेको छलफल, वार्ता र सहमतिबारे केन्द्रीय कार्यसमितिमा जानकारी गराइएको थियो । तर, महत्वपूर्ण मुद्दाहरुमा छलफल र निर्णय गर्न बाँकी रहँदारहँदै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भने स्थगित गरिएको छ । आन्तरिक विवादका विषयमा अनौपचारिक छलफलमार्फत् समाधानका उपाय खोजेर मात्र बैठक बसी निर्णय लिने उद्देश्यले तत्कालका लागि बैठक स्थगित गरिएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले