मोरङमा कांग्रेसबाट उम्मेद्वार हुन रोचक प्रतिस्पर्धा

६ भाद्र २०७०, बिहीबार ०५:५३ मा प्रकाशित

काठमाडौं, ६ भदौ । नेपाली काङ्ग्रेसले भदौ २० भित्र सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन गरेपछि पचहत्तरवटै जिल्लामा काङ्ग्रेस नेता तथा कार्यकर्ताको गतिविधि बढेको छ । यसै क्रममा राजनीतिक दृष्टिले राजधानीपछिको सबभन्दा महत्त्वपूर्ण मानिने मोरङको नौवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी सुरु भएको छ । मोरङमा गिरिजाप्रसाद कोइराला जीवित रहिन्जेल काङ्ग्रेसको बेग्लै स्थिति रहेकोमा उहाँको निधनपछि मोरङ काङ्ग्रेसमा युवाहरूको सक्रियता ह्वात्तै बढेको छ । विगतमा सुनसरीबाट चुनाव लड्दै आउनुभएकी काङ्ग्रेस नेतृ सुजाता कोइरालाले पनि मोरङलाई नै कर्मक्षेत्र बनाउने इच्छा दर्शाउनुभएको छ । उहाँले मोरङको क्षेत्र नम्बर एकबाट समानुपातिकतर्फको उम्मेदवार बन्न चाहनुभएको छ । त्यस क्षेत्रमा काङ्ग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायले प्रत्यक्षतर्फको उम्मेदवारी पाउनुहुने निश्चित मानिन्छ ।
तर, सत्तरी वर्षको उमेर नाघिसक्नुभएका उपाध्यायलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने र साठी वर्ष हाराहारीकी सुजातालाई समानुपातिक उम्मेदवार बनाउने कुरालाई स्थानीय कार्यकर्ताले सहज रूपमा लिने सम्भावना भने कम देखिएको छ । मोरङ क्षेत्र नं. २ मा यसअघिका तीनवटा निर्वाचनमा पराजित भएका वसन्त भट्टराई फेरि पनि टिकटका निम्ति इच्छुक हुनुभएको छ । सो क्षेत्रमा क्षेत्रीय सभापति बद्री निरौला तथा अन्य युवा नेताहरू शेखर थापा, सञ्जय भट्टराई र यदु विष्टले वसन्तलाई चुनौती दिइरहेका छन् । उनीहरू आफैँ उम्मेदवार बन्ने प्रतिस्पर्धामा जुटेका छन् । तीन नम्बर क्षेत्रमा नन्दु सरदार, गुरु घिमिरे, दिलीप गच्छदार, सत्यनारायण भगत र मानबहादुर लिम्बूमध्ये एकले काङ्ग्रेसको टिकट पाउने निश्चित मानिएको छ । त्यस्तै क्षेत्र नं. चारमा सुबोध सिंह, गोपालमानसिंह राजभण्डारी र गयानन्द मण्डलबीच प्रतिस्पर्धा देखिएको छ । पाँच नम्बर निर्वाचन क्षेत्रमा जिल्लाका लोकप्रिय नेता एवम् पार्टी सभापति अमृत अर्यालले टिकट पाउने सम्भावना बढी छ । त्यस क्षेत्रमा महन्तलाल यादव र अशोक सिंहले पनि उम्मेदवारीको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्र नम्बर ६ मा काङ्ग्रेसका लोकप्रिय युवा नेता डा. मीनेन्द्र रिजालको नाम सर्वाधिक चर्चामा रहेको छ । तर, त्यस क्षेत्रका पार्टी केन्द्रीय सदस्यहरू कविता सरदर र महेश आचार्यले पनि दाबी गरिरहेका छन् । कदाचित डा. रिजालले सो क्षेत्र छोड्नुभयो भने कविता सरदार र महेश आचार्यमध्ये एकले उम्मेदवारी पाउने बताइन्छ । उक्त क्षेत्रमा पुराना नेता अशोक कोइरालाले समेत चुनाव लड्ने इच्छा दर्शाउनुभएको छ । सात नम्बर क्षेत्रमा काङ्ग्रेस नेता डा. शेखर कोइरालाले यसअघिको निर्वाचनमा पनि विजय हासिल गर्नुभएको थियो भने अहिले पनि त्यस क्षेत्रमा उहाँ नै लोकप्रिय मानिनुहुन्छ । त्यसैले उक्त क्षेत्रमा डा. कोइराला नै उम्मेदवार बन्नुहुने सम्भावना बढी छ । तथापि भुवनेश्वर मण्डल र निरञ्जन रिजालले पनि आफूलाई उम्मेदवारीका निम्ति प्रतिस्पर्धामा अगाडि सारेका छन् ।
क्षेत्र नम्बर आठमा पहिले अशोक कोइराला चुनाव लडेर पराजित हुनुभएको थियो । यसपटक उक्त क्षेत्रमा कोइरालाले दाबी छोड्नुभएको छ । सो क्षेत्रमा पनि डा. मीनेन्द्र रिजालकै चर्चा सर्वाधिक बढी देखिएको छ । तथापि दिलीप सापकोटा, सुवास पौडेल, लोकप्रसाद सङ्ग्रौला, ललित श्रेष्ठ र हरिनारायण चौधरी पनि टिकट निमित्त इच्छुक देखिएका छन् । डा. रिजालले ६ नम्बर क्षेत्र छोड्नुभएमा यहीँबाट उहाँ उम्मेदवार बन्नुहुने पक्कापक्की छ । नौ नम्बर निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा डिगबहादुर लिम्बूलाई काङ्ग्रेसले उम्मेदवार बनाएको थियो । लिम्बू पराजित भएको र अहिले त्यहाँको स्थितिमा पनि परिवर्तन आएकोले नयाँ युवा उम्मेदवारको चाहना स्थानीय नेता–कार्यकर्ताले गरेका छन् । यसक्रममा लक्ष्मण ढकालको नाम सर्वाधिक अगाडि आएको छ । चौंतीस हजार जनजाति रहेको सो क्षेत्रमा डिगबहादुर लिम्बूलाई समानुपातिकतर्फको उम्मेदवार बनाएर युवा नेता लक्ष्मण ढकाललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएमा काङ्ग्रेस विजयी हुने निश्चित भएको बताइन्छ । सो क्षेत्रमा क्षेत्री–ब्राह्मण समुदायको मत सतचालीस हजार रहेकोले काङ्ग्रेसले लिम्बू र ढकाललाई मिलाएर उम्मेदवार चयन गर्नु उपयुक्त हुने देखिएको छ । पहिले माओवादी विजयी भएको सो क्षेत्रमा यसपाली त्रिपक्षीय टक्करको सम्भावना छ । त्यहाँ उम्मेदवार बन्न स्थानीय युवा खड्ग फागुले पनि इच्छा दर्शाएका छन् । तर, निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउने हो भने त्यहाँ लक्ष्मण ढकालको अर्को विकल्प नरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर