ठाकुरको विवरण दोहोर्याएर माग्यो अख्तियारले

२ भाद्र २०७०, आईतवार ०७:५५ मा प्रकाशित

काठमाडौं, २ भदौ । अकूत सम्पत्ति छानबिनलाई तीव्रता दिएर सर्वत्र प्रशंसा बटुलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरको बैंक तथा वित्तीय विवरण दोहोर्याएर मागेको छ ।  अकूत सम्पत्ति छानबिनको पहिलो चरण पूरा गरेको अख्तियारले पुनः दोस्रो पटक पूर्वकार्यकारी निर्देशक ठाकुरको विस्तृत विवरण मागेको अख्तियारसम्वद्ध एक कर्मचारीले जानकारी दिए । ठाकुर केही समयअघि मात्र राष्ट्रबैँकको कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका व्यक्ति हुन् ।
आयोगले ठाकुर र उनको परिवारका सदस्यहरूको  काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, नवलपरासी, स्याङ्जा, कास्की, झापा, मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा र सर्लाही जिल्लाअन्तर्गत रहेका बैंक खाताको विवरण माग्दै खाता खोलेर बन्द भएको भए सोको समेत विवरण दिन भनेको बताइएको छ ।
आयोगले २४ साउनमा राष्ट्र बैंकसँग ठाकुर परिवारको विवरण मागेको भए पनि राष्ट्र बैंकले भने चार दिनसम्म उक्त पत्र रोकेर उल्लेखित बैंक तथा वित्तीय संस्थाहरूलाई बैंक विवरण १५ दिनभित्रमा दिन पत्राचार गरेको थियो । आयोगले ठाकुर र उनकी आमा कृष्णा, श्रीमती आभा र छोराहरू आसय र अभिवनको समेत बैंक तथा वित्तीय विवरण मागेको हो ।
अख्तियारले यसअघि कार्यकारी निर्देशक विष्णु नेपाल र निर्देशक वासु अधिकारीसहित परिवारका सबै सदस्यको विवरण मागिसकेको छ । पहिलो चरणको छानबिनमा अकूत सम्पत्ति देखिएपछि आयोगले दोस्रो पत्र पठाई विस्तृत विवरण मागेको बुझिएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार