ओ मेघना मैले तिमीलाई देखेँ :: इल्या भट्टराई

१ भाद्र २०७०, शनिबार १८:४९ मा प्रकाशित

दिउसो ३ बजेको उडानको लागि १ बजे नै विमानस्थल पुग्नु पर्ने हुनाले म डलर साटनको लागि १० बजे नै बैंक पुगेकी थिएँ । तर उडान निर्धारित समयभन्दा दुई घन्टा ढिलो हुनेछ भन्ने खबर मैले घर पस्दा पस्दै पाएँ ।

मन सशंकित भयो – खबर विश्वासिलो त हो ?

योभन्दा पहिला सधैं दीपकज्युसंगै विदेश भ्रमणमा गएकी हुनाले यस्ता खालका जिम्मेवारी सधैं उहाँले लुनी हुन्थ्यो । अनि म निर्धक्क उहाँको पछि लाग्ने गरेकी थिएँ । तर यसपालिको भ्रमण बेग्लै खालको छ । यो भ्रमणमा म एक्लै छु । अनि यी सबै जिम्मेबारी पनि स्वतः मेरै काँधमा आइपरेको छ ।

हो कि होइन ? हो कि होइन ? दोधार…..दोधार…..खबर पुष्टिका लागि थप दुई चार कलहरू…..

आखिर तीन बजे विमानस्थलमा सबैजना भेट भयौं । कोही पहिले नै आइसक्नु भएको रहेछ । कोही आउदैं हुनुहुन्थ्यो । हामी एघारजनाको टोली एउटा सम्मेलनमा भाग लिनका लागि बंगलादेश जान लागेका थियौं ।

बंगलादेशको बंगलादेश इन्जिनियर्स इन्स्टिच्युटको बार्षिकोत्सव अवसरमा उनीहरूले नेपालको इन्जियर्स एशोसिएशनका पदाधिकारीहरूलाई तीन दिने सम्मेलनमा भाग लिन निम्ता गरेका रहेछन् । उनीहरूकै आमन्त्रणमा नेपाल इन्जिनियर्स एशोसिएशनका छजना पदाधिकारीसहित “नेपाल इन्जिनियर श्रीमती समाजका पांच जना पदाधिकारीहरू पनि बंगलादेशको त्यस सम्मेलनमा सहभागी हुनका लागि त्यहाँ जान लागेका थियौं ।

गृहिणी मात्रको चिनारी बोकेका हामी आज डेलिगेट्समा परिणित भएका छौं । आज हाम्रो चिनारी फेरिएको छ । आज हामी आफ्नै बल बुतामा विदेशमा हुन लागेको एउटा वृहत् सम्मेलनमा सहभागी हुन जान लागेका छौं । हाम्रो खुसि अनि हाम्रो उत्पलताले आकाश छोला छोला जस्तो गर्दैछ ।

टिकटमा काठमाडौंबाट ढाकासम्मको उडानको समय जाँदा दुई घन्टा तथा फर्किंदा जम्मा एक घन्टा लेखिएको थियो । यति छोटो उडानमा पनि यत्रो समयको फरक किन होला ? आकाशमा उड्नु पर्ने अनि आकाशमा हावाको निर्देशन हुने हुनाले होला यतिका समयको फरक लाग्ने पो हो कि ?

उडानको नियमित प्रकृयाहरू यहाँ पनि दोहोरिने नै भयो । तर यत्तिका धेरै पैसा लिएता पनि यस विमान सेवाले दिएको खानेक¬रा साधारण रहेछ । मन खिस्रिक्क भयो ।

मलाई किन हो कुन्नि हवाइजहाजको खानेकुराले सधैं आकर्षित गर्ने गर्दछ ।

टिकटमा उडान समय दुई घन्टाको लेखिएता पनि काठमाडौंबाट ढाका जम्माजम्मी एक घन्टामै पुग्यौ । गफको सहर । हवाइजहाज अवतरण भएको पनि हेक्का भएन । किन यो आवाज ? किन जहाज यस्तरी हल्लिएको भन्ने भावना मनमा उब्जिनमात्रै भ्याएको थियो । उत्तर स्वतः आइहाल्यो । हामी त जमिनमा गाड्न थालिसकेका रहेछौं ।

अँध्यारोको कालिमाले ढाकालाई आफ्नो अँगालोमा बेरिसकेको रहेछ । तरै पनि रातको अँध्यारोलाई असंख्य बिजुली वत्तीको झिलिमिलिले जित्न खोज्दै छ ढाका सहर । केहीमात्रामा ऊ सफलै छ । विमानस्थलबाट सहरतिर जाने सडकका दुवैतिर बलेका बिजुलीको उज्यालोले सडक मजैले उजेलिएको छ ।

भीड छ सडकमा । यति अबेला पनि किन यस्तो भीड हुने होला ? यो भीडमा नारी जातिको संख्या पनि निकै छ । सके कामबाट फर्किंदैछन् होला । जाडो महिनाको साँझ । चाँडै अँध्यारो हुने । दगुर्दै छन् ती । कोही गाडीबाट । कोही ट्याम्पुबाट । कोही बसमा । अनि कोही साइकलमा । यीमध्ये सके धेरै प्रतिसतले घर पुगेपछि घरको कामको यज्ञमा फेरि आफ्नोलाई होम्नु पर्ने नै छ ।

एसियाली महिलाहरूको पीडा हो यो । यहाँका अधिकांश नारीले जीवनमा घरभित्रको र घरबाहिरको दोहोरो मोर्चा सम्हाल्नु परेको छ ।

यहाँको ट्याम्पो हाम्रो यताकोभन्दा निकै बेग्लै रहेछन् । ढोकाको साटो ग्रिल हालिएको । हेर्दा गुड्ने झ्यालखानजस्तो । त्यहाँ भित्र बसेकाहरू प्रति अनायासै कठैबरीको ! भाव उब्जाइदिने ।

एयरपोर्टबाट होटलसम्म आउँदा देखिएका बाटाघाटा,ठाउँहरू खासै आकर्षक लागेनन् ।

“के चैँ हेर्ने होला यस्तो ठाउँमा ! कता चैँ डुल्ने होला यस्तो यो गरिब अनि प्रकृतिले ठगेको ठाउँमा !” मनमा खेलिरहेका प्रश्नले चित्त बुझ्दो उत्तर पाउन सकेन ।

कुनै बेला संसारकै गरीब देश । अहिले आएर पनि खासै प्रगति भएजस्तो लागेन । उही साधारण सहर, साधारण बजार हेर्दै होटल पुग्यौ ।

“होटल..”। ढाकाको व्यापारिक हिसाबले निकै महत्वपूर्ण ठाउँ गुलशन बजारमा भएको होटल। आफ्नो छातीमा तीन हो कि चार तारा सजाएर मख्ख परेको छ । जमिन एक रत्ति पनि रहेनछ । तर मानिसहरू साहै फरासिला । कोठाहरू राम्रा । सुविस्ताका ।

के थाक्नु थियो र फुर्तिलो नहुनु !तरै पनि मुख, हात खुट्टा धोइवरी ताजा भएर तल खाने ठाउँमा गइयो नै । आज डिसेम्बर ३१ तरिख । कति रमझम हुनु पर्ने । होटल आफैं पनि सिंगारिएर बेहुलीझै बन्नु पर्ने । तर यहाँ त खासै केही पनि छैन । मुसलमान देश भएर होला । इसाईहरूको नयाँ वर्षको उनीहरूलाई के वास्ता । हामीकहाँ कत्ति रमझम होला । झन् अचेलका वर्षहरूमा हामीकहाँ यो विदेशी नयाँ वर्ष धुमधामले मनाउने चलन बढदै गएको छ । आज त न्यू इयर इभ… भोलिको नयाँ वर्षलाई स्वागत गर्ने रात । सारा संसार यतिखेर भोलि आउने नयाँ वर्षको खुसीमा नाच र गानमा रमाइरहेको छ । तर यहाँ किन होला यसको केही पनि चहलपहलै छैन । बाटोभरि त्यो चहलपहल र रमझमको कुनै आभासै भएन । आखिर यिनीहरूले पनि मान्ने त त्यही ग्रेगरियन क्यालेन्डर नै हो ।

आज हाम्रो टोलियाहरू कति रमाइलो गरेर पार्टी गरिरहेका होलान् ।

भोलिपल्ट विदेशी कै सही, आपस मै सही नयाँ वर्षको शुभकामना साटासाट ग¥यौं । सुस्मिता र सूर्यासंगै हामी एकाबिहानै वरिपरिको बजार घुम्न भ्यायौं । आज होटलले उपलब्ध गराएको मिनीबसमा गुड्दै छौं । सडक दुबैतिरका परिवेश मेरा लागि एकदमै परिचित छन । मैले बाल्यपनदेखि किशोरावस्थासम्म मिन पचासको दुई महिने बिदा बिताउने गरेको मामाघर बारा जिल्लाको पिपराका खेतहरूजस्तै । जाडोको मृदुल अँगालोमा बेहि«एर लठ्ठिएको सिंगै परिवेश । पहेँलपुर फुलेका तोरीका पाटाले मनमा पनि वासन्ती रंग पोतिदियो । साँच्चै जाडोमा किन यतिविघ्न रहरलाग्दो हुन्छ तराई ? यतिखेर जाडो महिना हो, अनि ढाका पनि तराई नै होला । त्यसैले यतिखेर मनमा राताम्य पलाँस फुलेका छन् । मनभरि सिमलका भुवाहरू हलुका हलुका उडिरहेका छन् ।

के तरकारी रोपिएका हुन कुन्नि ! नापो मिलाएर रोपिएका ती तरकारीका बोटमा एकै नापोका भाटा ठड्याइएका रहरलाग्दा देखिएका छन् । हाम्रा यताका ज्यापुका दक्ष हातले लगाइएका तरकारी बारी मलाई सधैँ कोरीबाटी गरेर सिनित्त परेकी सुकुमारी, सुकसुकाउँदी कन्याजस्तै लाग्छ । यताका यी सिपालु किसानहरूले पनि आफ्ना जमिनमा बाली उमारेर त्यस्तै रहरलाग्दा तुल्याएका छन् । कुरो मात्र सीपको हो । कुरो मात्र जाँगरको हो । अनि कुरो मात्र बाँच्नुको हो ।

ढाका समुद्रको नजिक छैन क्यार । तर अगाडि समुद्रकैजस्तो जलराशी आफ्नो उत्ताल तरंगमा लहराइरहेको छ । नजिक पुग्यौं नदी पो रहिछन् । समुद्रजस्तै विशाल देखिएता पनि आफ्नो यति र गतिमा यो जल प्रवाहित छ । मलाई किन किन नदीहरूप्रति एउटा नजानिदो श्रद्धा छ । अव्यक्त आकर्षण छ । बाल्यकालमा मामाली हजुरआमाले बाटामा भेटिने प्रत्येक नदीलाई आफु पनि श्रद्धाले पैसा चढाउनु हुन्थ्यो अनि हामीलाई पनि चढाउन लगाउनु हुन्थ्यो । सके नदीप्रतिको श्रद्धा र आकर्षण मेरो मनमा त्यतिखेरै पलाएको हुन सक्छ ।

मलाई संधै आफुले साक्षात्कार गरेका नदीहरूबारे जान्ने तीव्र आकांक्षा पनि हुने गर्दछ । त्यही भएर अहिले हाम्रो यात्रासंगै यात्रारत हुन आइपुगेकी यस अन्नपूर्णाको नाम सोधेँ गाइडसंग । “मेघना” वातावरणमा माधुर्यको तरगं बग्यो । कति सुन्दर ? कति मधुर ?

मेघना नदीसंग म आफ्नो जीवनको बीसको दशकदेखि परिचित भइसकेकी थिएँ । मेघनाको नामबाटै प्रभावित भइसकेकी थिएँ । ती मेघनालाई कुनै दिन यसरी अनायासै भेटुँली भनेर सपनामा पनि चिताएकी थिइनँ । तर आज अकस्मात देखादेख भयो । र पनि न त मैले तिनलाई छुन सकेँ, न त तिनले नै मलाई आफूमा अनुभूत गर्न सकिन । उनी तल तल बग्दै रहिन्, म भने उनीमाथि बनेको बृहदाकार पुलमाथि गाडीमा गुड्दै गएँ ।

उहिल्यै भारतीय बंगाली अभिनेत्री राखीले आफ्नी छोरीको नाम मेघना राखेकी थिइन् । त्यतिखेरै मलाई मेघना नदीको आकर्षण र माधुर्यको शक्ति अनुभूत भएको थियो । त्यो नदीको शक्ति अनि त्यसको नाम मेरो मानसपटलमा रहिरहेको थियो । आफूले छोरी पाएपछि मेघना नाम नसम्झिएकी होइन । तर कसो कसो त्यो नाम राख्न राष्ट्रियताको भावनाले अनुमति दिएन । हुनत वसुवैध कुटुम्बकम भन्ने सोच नआएको थिएन, तर तैपनि…..। पछि आफ्ना मेची, कोशी, वागमती, नारायणी, विष्णुमती, मनहरा, गण्डकी, रापती, भेरी, सेती, महाकाली, मादी, तादी नामहरू मनमा नआएको थिएन, तर ती नामहरू कोही व्यक्तिको नाम राख्न उपयुक्त होलान्जस्ता पनि लागेनन् ।

यतिबेला बंगलादेश इन्जिनियरिंग इन्स्टिच्युटले उपलब्ध गराएको दुईवटा लक्जरी मिनीबसमा चढेर हामी चिटगाँव, संस्कृतको चट्टोग्राम वा त्यहाँको स्थानीय लवजको “चिटोंग”तिर जाँदैछौं । बंगाली भाषामा संस्कृत शब्दको बाहुल्य रहेछ । बस गुड्दै छ । चट्टोग्राम बंगलादेशको दोस्रो ठूलो सहरतिर लम्किँदै छ । तर सडकमा सवारी साधनको ठूलो चाप छ । त्यसले गर्दा बसले खासै गति लिन सकेको छैन । जम्मा दुई लेनको बाटोले प्रमुख बन्दरगाह भएको सहर “चिटोगंको त्यत्रो सामान ओसार पसार गर्ने ट्राफिकलाई के धान्नु र ! अरबतिरका मरुभूमिमा चल्ने उँटका क्याराभानजसरी चलेका छन् यी बस,ट्रक र अन्य सवारी साधनका ताँती । सड्क धन्य एक नम्बर कै रहेछ । खाल्टोको त के कुरा यो सडक यस्सो कतै दबेको, कतै धँसेको पनि छैन ।

उहिले बेलायततिर देखेको हो । अस्ति भर्खर अमेरिकामा पनि देखेकी थिएँ, अहिले यो देशमा देख्दैछु विशालकाय पेट्रोल पम्प । अनि त्यहीँ छन् ग्रोसरी पसलहरू, जहाँ केक पेस्ट्री, कफिलगायतका खानेकुराहरू पाइँदारहेछन् । कुनै पेट्रोलपम्पमा ठूल्ठूला फुडकोर्टहरू पनि यात्रुलाई आफनो रुचि र स्वादअनुसारको खानेकुरा खुवाउन कटिबद्ध भई लागेका रहेछन् । जहाँ टन्न यात्रुगण गाडीबाट ओर्लिएर विदेशको जस्तै सफा र सुग्घर शौचालयमा निवृत्त हुँदै आएर यी फुडकोर्टमा भएका आउटलेटहरू बाट आ–आफ्ना इच्छाका खानेकुरा खाँदा रहेछन् । यहाँका यी शौचालय जानका लागि पनि मानिसहरू लाम लागेरै उभिँदा रहेछन् र आफ्नो पालो आएपछि मात्र भित्र पस्दारहेछन् । भनेपछि बंगलादेश पनि सभ्यता र समृद्धिको बाटोमा अगि बढी सकेको रहेछ ।

बाटोको दुवैतिर खेत लमतन्न पसारिएको छ । सड्ककै छेउमा छिपछिपे पानी देखिन्छ । त्यहाँ धानको बीउ हुर्कँदै छ । तरकारी खेती पनि निकै सप्रिएको देखिन्छ । बाटोको छेउमा निकै ठाउँमा बाँस टाँड पारेर बेच्न राखिएका छन् । बाँसका फेद, मध्य भाग अनि टुप्पोका भाग । केका लागि प्रयोग गरिन्छन् यी बाँसहरू ?

घाम आकासमाथि माथि चढदै छ । अपरान्हको बेला । गाइड अब बाटोमा बस कतै नरोकौं भन्दै छ । हाम्रो अबको तत्कालिन गन्तव्य मैनावती विहार हो रे ।

बस एउटा सानोतिनो सहरमा छिरेको छ । बाटैमा नेशनल क्याडेट कलेज देखियो । यहाँको मेडिकल र इन्जिनियरिंग कलेजहरूमा थुप्रै नेपालीहरू पढदैछन् रे ।

कुरा गर्दा गर्दै सडकको देब्रेतिर ढिस्काहरू, चौर अनि फुलहरूसंगै प्राचीन महलका धराशायी हुनबाट जोगिएका संरक्षित केही अवशेषहरू देखिए । यही नै पो हो कि हामीले हेर्ने ठाउँ । बौद्ध संस्कृतिको जग प्रशिद्ध मैनावती विहार !

गाडी रोकियो । एउटा सानो ग्रामिण बजार । सडकको दाहिनेतिर सालको वन रे । तर तालु खुइलिएकोजस्तै खुइले वन । जम्मा दुई चारवटा रुख भएको वन । ठूलो न ठूलो क्षेत्रफल तर मुठ्ठीभर रुख । अनि सडकको देब्रेतिरको उद्यानको पनि के हेराई भयो र ? बाहिरबाटै पनि देखिएकै छ । बरु संग्रहालय हेर्न पाए हुन्थ्यो ।

मनुष्यको भीड उद्यान भित्र अनि उद्यानबाहिर उत्तिकै छ । आखिर केही बेर पछि हामी आफैँ पनि उद्यानभित्र जाने लाममा हात हातमा टिकट लिएर उभिन पुग्यौं ।

मैनावती उतिखेरको ठाउँ, जतिखेर यो क्षेत्र बंगलादेश नभै पूर्वी पाकिस्तान नभै सिंगो भारत वर्ष थियो । र बौद्ध धर्म त्यतिखेरैको भारतवर्षको पश्चिमी भाग अफगानिस्तानसम्म फैलिएको थियो भन्ने कुरो त वामियानका वृहत बौद्ध मूर्तिहरूबाट थाहा भएकै कुरो हो । कुनै बौद्ध धर्मावलम्बी राजाद्वारा शासित यो क्षेत्र बौद्ध दर्शनको पूर्वमा रहेको क्षेत्र । मलाई सारनाथ र नालन्दा घुमेजस्तै लागिरह्यो । सारनाथभन्दा नालन्दाको वास्तुकला अझै जटिलजस्तो लागेको थियो । यहाँका यी वास्तुकला नालन्दाका अवशेषजस्ता छन् । वास्तुशील्पको दृष्टीले अझै जटिल पो हुन् कि ?

बौद्ध धर्म ज्ञान र ध्यानलाई अँगालेको धर्म । सांसारिकता त्यागेर एकान्तवासलाई अपनाएको धर्म । यहाँ एकान्त छ । यी प्राचीन अवशेषहरूले एक प्रकारको रोमान्च उमारिदिएको छ । चारैतिर भएका सुरम्य बगैंचा अनि चम्किला फुलले मीठो चिसो हावाले वातावरण मदहोस छ । त्यही नीरलाई साक्षी राख्दै आफुलाई चम्किलो सफा र स्वच्छ नीलो रंगमा परिणित गरेको आकासलाई पाश्र्वमा राखेर पुस महिनाको आनन्दी घाम यतिखेर हामीसंगै लुटपुटिन आइपुगेको छ । त्यही अलमस्त भएर चारैतिर छरपस्टिएको न्यानो घामले हामीलाई यहीँ बसिरहन आग्रह गरिरहेको छ ।

तर हामी त यात्री न हौं । यात्रीको कर्तव्य चरैवेतीलाई बिर्सिएर एकै ठाउँमा अडिरहने होइन । त्यसैले त गाइडले हतारो लायो चाँडै जाऔं । आजै कार्यक्रमको उद्घाटन हो त्यसैले हामी बेलैमा चिटोंग पुग्नुपर्छ

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा