चुनावको टुङ्गो छैन, दलहरुलाई उम्मेदवार छान्ने रन्को

२६ श्रावण २०७०, शनिबार १२:०१ मा प्रकाशित

काठमाडौं, २६ साउन । माओवादी वैद्य समूहलगायत विभिन्न दलहरु निर्वाचनको विरोधमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेका छन् । माओवादीले त बहिष्कार मात्र होइन चुनाव भाँड्ने नीति नै बनाएको छ । यसले मंसिर ४ को निर्वाचनलाई आशंकाको घेरामा पारिदिएको छ । तर, प्रमुख दलहरुलाई भने उम्मेदवार छनोटको झमेलाले घप्लक्कै छोपिसकेको बुझिन्छ । 

प्रमुख राजनीतिक दलहरू दुई सय ४० निर्वाचन क्षेत्रमा आफ्नोतर्फबाट उम्मेदवार बन्न योग्य व्यक्तिको खोजीमा आ–आफ्नै प्रकारले भित्रभित्रै लागिपरेका छन् । चुनावी परिणामलाई उम्मेदवार चयनले पनि निर्णायक प्रभाव पार्ने हुनाले दलहरूले अनुसन्धानात्मक शैलीमा सम्भावित उम्मेदवारको पहिचान गर्न खोजेका हुन् । संविधानसभाका लागि उम्मेदवार छनोट गर्ने एकीकृत माओवादीले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा उम्मेदवार सिफारिस कमिटी बनाएको छ । सिफारिस कमिटीले अहिले पदाधिकारी छनोट गरिरहेको छ । 

नेपाली काङ्ग्रेसले उम्मेवादर छनोटका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्ने सो पार्टीले जनाएको छ । नेकपा एमालेले भने व्यक्तिगत रूपमा नेताहरूसँग भेटघाट गरी विभिन्न जिल्ला निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारको सूची तय गरिरहे पनि उम्मेदवार छनोटको आधिकारिक प्रक्रियामा सहभागी भइसकेको छैन । अघिल्लो संविधानसभामा चौथो स्थान प्राप्त गरेको मधेसकेन्द्रित दलहरूको मोर्चामा आबद्ध पार्टीहरू भने पार्टी एकीकरणको प्रक्रियामै रहेकाले उम्मेदवार छनोटको प्रक्रियामा लागेको छैन । यद्यपि जिल्लाका नेताहरूसँग केन्द्रीय नेताहरूले उम्मेदवार बन्ने र बनाउने विषयमा व्यक्तिगत छलफल गरिरहेका छन् ।
मधेसका मात्र नभएर सबैजसो दलका क्षेत्र तथा जिल्लाबाट सम्भावित उम्मेदवारको सूचीमा आफूलाई राखी आफूनिकट केन्द्रीय नेताहरूको दैलो धाउने क्रमसमेत सुरु भएको छ । यसरी आउनेहरूले पार्टी अध्यक्ष तथा पदाधिकारीहरूलाई कोसेलीसहित घरमै भेटी आफूलाई उम्मेदवार बनाए सजिलै चुनाव जित्न सक्ने भन्दै विभिन्न आधार तथा प्रमाण पेस गर्ने गरेका छन् । ‘यस्तो रोगले सबैभन्दा बढी एमालेलाई सताएको छ,’ एक केन्द्रीय नेताले बताए । ती नेताका अनुसार अघिल्लो निर्वाचनमा उम्मेदवार छनोटमा कमजोरी गरेका कारण खराब नतिजा आएको भन्दै उनीहरूले यसपटक त्यस्तो कमजोरी नगर्न भन्दै आफ्नो दाबी प्रस्तुत गर्ने गरेका छन् । उम्मेदवार छनोटमा मुख्य भूमिका पार्टी अध्यक्ष तथा पदाधिकारीहरूको हुने भएकाले उनीहरूकै घर आजभोलि विभिन्न जिल्लाका नेताहरूले भरिने गरेको छ । एमाले युवा नेता घनश्याम भुसालले भने, ‘पार्टीमा सङ्गठनात्मक रूपमा उम्मेदवार छनोट गर्ने विषयमा कुरा भएको छैन, कसैकसैले व्यक्तिगत रूपमा नेताहरूसँग भेटेर आफ्नो कुरा राख्ने गरेको भने पाइएको छ ।’ जनताले रुचाएका व्यक्तिहरू मात्र एमालेले आफ्नो उम्मेदवार बनाउने जानकारी गराउँदै भुसालले भने, ‘गाउँ कमिटी हँुदै जिल्ला तथा अञ्चलबाट सिफारिस भएका योग्य व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने र त्यसरी उठाइएको उम्मेदवारलाई जिताउन सिङ्गो पार्टी लाग्नेछ ।’
उम्मेदवार छनोटका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि पठाए पनि पार्टी नेताहरूको घरमा जिल्लाका नेताहरू धाउन थालेका छन् । नेताहरूको घरमा पुगी आफूलाई उम्मेदवार बनाउन भन्दै केन्द्रीय नेताहरूलाई विभिन्न ढङ्गले आकर्षित गर्ने गरिएको छ । काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहले भने, ‘जिल्लाबाट साथीहरू भेटघाटका लागि आउने गरेका छन्, तर उम्मेदवार बनाउने विषयमा नेताहरूलाई जिल्लाको अवस्था बुझ्न पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला–जिल्लामा पठाइसकेको छ, उनीहरूले दिएको रिपोर्टका आधारमा पार्टीले उम्मेदवार तय गर्नेछ ।’ काङ्ग्रेस विधि र प्रक्रियाभन्दा बाहिर नजाने पार्टी भएकोले विधानमा भएको व्यवस्थाअनुसार उम्मेदवार छान्ने जानकारी दिँदै महामन्त्री सिंहले भने, ‘उम्मेदवारका लागि प्रत्येक निर्वाचन क्षेत्रले गरेको सिफारिसका आधारमा जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस गरिने र काङ्ग्रेस संसदीय बोर्डले उम्मेदवार छनोट गर्नेछ ।’ ‘काङ्ग्रेसले छनोट गरेका उम्मेदवारले निर्वाचन जित्नैपर्ने भएकाले कुनै व्यक्ति वा नेताका सिफारिसबाट आएका मानिसलाई पार्टीले उम्मेदवार बनाउँदैन,’ सिंहले भने । काङ्ग्रेसका अर्का केन्द्रीय नेता विमलेन्द्र निधिले चाहिं स्थानीयस्तरबाटै सिफारिस भएर आएका व्यक्तिहरूमध्येबाटै पार्टीले उम्मेदवार छनोट गर्ने बताए ।

एकीकृत माओवादीले भने अघिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा भएका कमजोरीलाई सच्याउँदै यसपटक सक्षम र योग्य उम्मेदवार छनोट गर्नेछ । ‘हामी राम्रा, जनप्रिय र सक्षम उम्मेदवारलाई यसपटकको संविधासभाको उम्मेदवार बनाउनेछौँ,’ सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘पहिले भएका कमी–कमजोरीलाई सच्याउँदै विभिन्न आरोपबाट मुक्त भएका तथा स्वच्छ छवि भएका व्यक्तिलाई उम्मेदवार बनाइनेछ ।’ ‘उम्मेदवार छनोट गर्न पार्टीले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा सिफारिस कमिटी बनाएको छ,’ श्रेष्ठले भने, ‘सिफारिस कमिटीले सिफारिस गरेको व्यक्तिहरूबारे गम्भीर छलफल गरी उम्मेदवार छनोट गरिनेछ ।’ क्षेत्र तथा जिल्ला पार्टीको सिफारिसमा नपरेका व्यक्ति उम्मेदवार बन्न नसक्ने भन्दै उनले स्थानीय जनताले रुचाएका व्यक्ति मात्र उम्मेदवार बन्ने र निर्वाचनमा सजिलै विजय हासिल गर्ने उनको भनाइ थियो । तर, माओवादीका केन्द्रीय नेताहरूले भने निर्वाचनमा उठाउने आफ्नोतर्फका उम्मेदवारहरूको सूची तयार गरेर बसेका छन् । उनीहरूले पार्टीमा संविधानसभा उम्मेदवारका विषयमा छलफल सुरु हुनेबितिकै आ–आफ्नोतर्फबाट उम्मेदवारको सूची पेस गर्ने तयारी गरेको बताइन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको