सहकारीमा नगद राख्नुभएको छ ? होसियार ! डुब्दै छन् दुई दर्जन सहकारी

२६ श्रावण २०७०, शनिबार ११:४१ मा प्रकाशित

काठमाडौं, २६ साउन । मोटो ब्याज र यस्तै अनेकौं आकर्षक प्रलोभन देखाएर बचत गर्न लगाउने अनि करोडौं कुम्ल्याएर रातारात भाग्ने सहकारी संस्थाहरुको कथा नौलो लाग्न छोडिसकेको छ । यसरी बढी ब्याजको लोभमा परेर सहकारी संस्थामा रकम जम्मा गर्नेहरूले अब भने सचेत बन्नै पर्ने भएको छ । अन्यथा ब्याज र अन्य सुविधाको त कुरै नगरौं साँवासमेत गुमाउनुपर्ने खतरा बढेको छ । 

हाल मुलुकमा २८ हजारको हाराहारीमा सहकारी संस्था सञ्चालित छन् भने १६ हजारभन्दा बढीले बैंकिङ कारोबार गर्दै आएका छन् । चार हजारभन्दा बढी बहुउद्देश्यीय सहकारी रहेका छन् । पछिल्लो समय आकर्षक ब्याज तथा अन्य सेवा–सुविधाको लोभ देखाएर बचतकर्ताहरूबाट मोटो रकम बचत गराई सो रकम बोकेर सञ्चालकहरू फरार हुने तथा सहकारीका नाममा नभई फर्जी नाममा मनोमानी लगानी गरेको पाइएपछि सहकारीका बचतकर्ताहरूको साँवा नै गुम्ने खतरा देखिएको हो । सहकारी डिभिजन केन्द्रीय कार्यालयका अनुसार हाल २७ बचत तथा ऋण सहकारी संस्था गम्भीर खतराको सूचीमा परेपछि सहकारीमा रकम जम्मा गर्नेहरूको ब्याज त परैको कुरा साँवासमेत जोखिममा परेको छ ।
सहकारी डिभिजन कार्यालयका अनुसार मोटो ब्याज र यस्तै अनेकौं आकर्षक प्रलोभन देखाएर बचतकर्ताको रकम कुम्ल्याएर केही सञ्चालकहरू भूमिगत भएका छन् । पुतलीसडकस्थित ओराकल बचत तथा ऋण सहकारीले धेरैको रकम कुम्ल्याएर गत चैतमा भागेको थियो । बानेश्वर, न्युरोड र पुतलीसडकका तीन सहकारी मर्ज भएर बनेको ओराकल सञ्चालकले कति बचतकर्ताको कति रकम कुम्ल्याए भन्ने लेखाजोखा कसैसँग छैन । डिभिजन कार्यालयका अनुसार उक्र सहकारीमा करिब १५ सय बचतकर्ता छन् । उनीहरूबाट लिएको रकम कहाँ र कति लगानी भएको छ, त्यसको कुनै जानकारी छैन ।
त्यस्तै घरजग्गा व्यापारमा आफूखुसी लगानी गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडमा रकम जम्मा गर्नेहरूको रकम पनि जोखिममा परेको छ । वाणिज्य बैंकको भन्दा बढी आर्थिक हैसियत देखाएको ओरेन्टलका सञ्चालकले घरजग्गा कारोबारमा हात हालेपछि उसले बचतकर्ताको रकम फर्काउन सकेको छैन । सहकारी सिद्धान्तअनुसार आफ्ना सेयर सदस्यबाट रकम उठाएर उनीहरूमाझ लगानी गर्नुपर्नेमा आफूखुसी घरजग्गामा लगानी गरेकाले समस्यामा परेको विवरण देखाएको छ । तर, घरजग्गामा लगानी गर्दा पनि बैंकबाट समेत ऋण लिएको देखिन्छ, त्यसैले सो रकम कहाँ लगानी भएको हो भन्न सकिने अवस्था छैन ।
त्यस्तै थापाथलीमा कार्यालय रहेको समस्याग्रस्त एक्जिम बहुउद्देश्यीय सहकारीका सञ्चालकले एक हजार सात सय बचतकर्ताको ४७ करोड रकम हिनामिना गरेर फरार भएको उजुरी डिभिजन कार्यालयमा छ । सो सहकारी संस्थाका बचतकर्ताहरूले डिभिजन कार्यालयमा मात्र नभएर प्रधानमन्त्री कार्यालयदेखि राष्ट्र बैंकका डेपुटी गभर्नरसम्म उजुरी गरेका छन् ।
त्यस्तै, ललितपुर पुल्चोकस्थित गुण मल्टिपर्पाेज को–अपरेटिभ लिमिटेडले बचतकर्ताहरूको रकम कहाँ लगानी गरेको छ, कुनै टुङ्गो छैन । तर, सो सहकारी सञ्चालकहरूले अर्कैको नाममा रकम लगानी गरेकाले समस्याग्रस्त भएको हो । सूत्रका अनुसार गुणले स्तुपा बचत तथा ऋण सहकारी संस्थाका नाममा पनि कारोबार गरेको पाइएको छ । त्यस्तै, सहकारीको रकम सहकारीका नाममा नभई अर्कै उद्योग तथा कम्पनीको नाममा पनि लगानी गरेको पाइएको छ । तर, गुण सहकारीको नाममा नभई अन्य व्यक्ति तथा कम्पनीको नाममा लगानी गरेपछि गुण सहकारी चरम सङ्कटमा परेको हो ।
सहकारी डिभिजन कार्यालयका अनुसार दीपशिखा बचत तथा ऋण सहकारी संस्था लि., रशा बचत तथा ऋण सहकारी संस्था लि., अञ्जुली बचत तथा ऋण सहकारी संस्था लि., सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि., कोरोना बचत तथा ऋण सहकारी संस्था लि., रूपान्तरण बहुउद्देश्य सहकारी संस्था लि., उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि., फ्युचर किज स्वस्थ सहकारी संस्था लि., गुण मल्टिपर्पोज को–अपरटिभ लि., हिमशिखर को–अपरटिभ लि., कस्मिक बचत तथा ऋण सहकारी संस्था लि., डिमाण्ड बचत तथा ऋण सहकारी संस्था लि., पिताश्री बचत तथा ऋण सहकारी संस्था लि., ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लि., कमलिन बचत तथा ऋण सहकारी संस्था लि., गगनचुली बचत तथा ऋण सहकारी संस्था लि., परिदृश्य बचत तथा ऋण सहकारी संस्था लि., प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लि., मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लि., मुस्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लि., शुभश्री को–अपरेटिभ लि., साइन बचत तथा ऋण सहकारी संस्था लि., जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि., सिन सेभिङ एन्ड क्रेडिट ओपरेटिभ लि. र इन्द्रावती सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड चरम खतराको सूचीमा रहेका छन् ।
डिभिजन कार्यालयका अनुसार सबैभन्दा समस्याग्रस्त सहकारी कार्यालय उपत्यकामा कार्यालय सञ्चालन गरेकाहरू मात्र छन् । जिल्ला तथा गाउँमा सञ्चालन भएका सहकारीमा भने त्यस्तो समस्या देखिएको छैन ।
शहरमा सञ्चालन भएका सहकारीले आफूखुसी विभिन्न क्षेत्रमा लगानी गरेकोले समस्या देखिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीका अनुसार सहकारी सञ्चालकले सदस्यहरूको निक्षेप आफूखुसी प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोले सहकारीमा क्षेत्रमा समस्या देखिएको हो । उनका अनुसार सहकारीले अनेक प्रलोभनमा पारेर सर्वसाधारणबाट निक्षेप जम्मा गर्ने र भाग्ने प्रवृत्ति बढेको छ । त्यस्तै सीमित व्यक्तिको चलखेलले गर्दा पनि सिङ्गो सहकारी क्षेत्र नै धराशायी बन्दै गएको हो । सरकारले यसलाई रोक्न नसके थप समस्यामा पर्ने देखिन्छ । सहकारी ऐनविपरीत सञ्चालकहरूले आफूखुसी लगानी गर्दा पनि दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म मात्र जरिवाना हुने कानुनी प्रावधान भएकाले तोकिएभन्दा बाहिर गएर लगानी गरेका छन् । तर, त्यसरी गरेको लगानी पनि सहकारीको नाममा नहुने भएपछि थप समस्या देखिएको हो ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारीमा आकर्षक ब्याजको लोभमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकोले समस्या देखिएको हो । धेरै सहकारीले घरजग्गामा अत्यधिक लगानी गरेकाले समस्या आइपरेको विभागको ठम्याइ छ । रातारात नाफा कमाउने लोभले गर्दा सहकारी बद्नाम बन्दै गएका हुन् । ‘सहकारी ऐन प्रवद्र्धन गर्ने खालको मात्र भएकोले समस्या उत्पन्न भएको हो,’ सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने, ‘कारबाहीको दायरा बलियो बनाएर कानुन ल्याउने हो भने समस्यामा कमी आउँछ ।’ फितलो कानुन र प्रभावकारी अनुगमन नभएकोले धेरै सहकारीले सर्वसाधारणलाई सजिलै ठगी गरेका हुन् । तर, सरकारले यसलाई कडा गर्दै सहकारीलाई कडा कानुनी दायरामा ल्याउने तयारी गरेको छ । यही तयारीस्वरूप सरकारले सहकारी क्षेत्रलाई नै लक्षित गरी ९६ करोड रुपैयाँ बजेटमार्फत छुट्याएको छ । यो रकमले अर्थ, सहकारी मन्त्रालय र राष्ट्र बैंकको संयुक्त समिति बनाएर सहकारीको अनुगमन गर्ने भएको छ । अर्थ मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपालका अनुसार सहकारीलाई सशक्त बनाउने र अनुगमन नियमन पनि अघि बढाउने सरकारको योजना छ ।
सहकारीमा बढ्दै गएको कारोबारसँगै विकृतिसमेत बढेपछि अनुगमनलाई बढाउन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई