नेपाली फिल्म; अन्तिम समयमा आशा देखायो बर्ष २०६८ ले

३० चैत्र २०६८, बिहीबार ०३:०३ मा प्रकाशित

काठमाडौ, २९ चैत । नेपाली फिल्म उद्योगमा विगत केही समयदेखि निराशामय बजारले साम्राज्य जमाइरहेको बेलामा २०६८ को अन्तिम समयमा आएर भने केही आशाका किरणहरु देखा परे । खासगरी पुसको २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म लुटबाट नेपाली फिल्म उद्योगले बजारको हिसाबमा कायापलट नै गर्‍यो भन्दा फरक पर्दैन । त्यसपछि चैत्र ३ मा प्रदर्शनमा आएको फिल्म चपली हाइटले पनि व्यापारिक हिसाबमा नेपाली फिल्म उद्योगलाई आशावादी बनाउन सफल भयो । क्रमशः यी चलचित्रको व्यापारिकता सँगसँगै संकटकालग्रस्त जस्तै बन्न पुगेको नेपाली फिल्म उद्योग आशावादी उद्योगको रुपमा परिणत भयो र फिल्म निर्माणले निरन्तरता पाउने कि नपाउने आशंकामा पूर्णविराम लाग्यो ।

यसरी हेर्दा ०६८ साल निराशावादी भएर आएको भए पनि वर्षको अन्त्य अवस्थामा आएर केही फिल्महरुले लगानी उठाउने वातावरण र केही फिल्मले अत्याधिक कमाउने वातावरण देखिएकोले नेपाली फिल्म उद्योग पूर्णतः निराशावादी छैन र यसले नयाँ बाटो कोर्दैछ भन्ने अनुमान लगाउन सकिने वातावरण बन्यो । यसो त ०६७ को अन्त्यमा आएर प्रदर्शनमा आएका फिल्महरु प्रहार, निगरानी जस्ता फिल्मले केही आशातित व्यापार गरे पनि त्यसपछिको अवस्था दसैंसम्म नै निराशामा रह्यो । दसैंको छेको पारेर प्रदर्शनमा आएको फिल्म अन्दाजले आशावादी व्यापार गरेपछि भने नेपाली फिल्ममा केही अड्कलहरु काटिए । सँगसँगै यसैसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएको फिल्म मेरो लभस्टोरी र अन्दाजको टक्करले गर्दा फिल्म निर्माताहरुलाई केही घाटा परे पनि उच्च लगानीमा निर्मित अन्दाजले आफ्नो लगानी उठाउन सफल भएका कारणले गर्दा राम्रा फिल्महरु चल्ने वातावरण अझै छन् भनेर अड्कल काटिए ।

यस वर्षको व्यापारलाई हेर्ने हो भने उच्च लगानी भएर पनि अथवा धेरै आशा गरिएर पनि कतिपय फिल्महरुले आफ्नो लगानी उठाउने वातावरण समेत निर्माण भएन । बरु अपत्यारिला मानिएका थोरै लगानीमा निर्माण भएका फिल्महरु लुट र चपली हाइटले यस वर्षको व्यापारिक हाइट भने निर्माण गरे । कतिपय फिल्महरु च्यारिटीका माध्यमले लगानी उठाउने वा कमाउने अवस्थामा पुगे भने थोरै फिल्महरुले मात्रै आफ्नो व्यवसायलाई टिकाइ राख्नका निमित्त लगानी उठ्ने वातावरण बन्यो ।

के यो माया हो, ब्रेकफेल, सपना, आचार्य, म तिम्रो भइसकेँ, मेरो लभस्टोरी, मसान, फर्की आऊ, मलाई मन पर्‍यो, जब जब माया बस्छ, द गेम, बजार, सडक, परिचय, छविलाल कन्जुस छैन, आइएम सरी जस्ता फिल्महरु कतिपय आशावादी फिल्मको रुपमा लिइएका थिए भने कतिपय लगानीका हिसाबले उच्च थिए । तर यी सबै फिल्मले आफ्नो बजार सुरक्षित गर्ने प्रयास गर्दागर्दै पनि लगानी उठाउने वातावरण सिर्जित भएन । राष्ट्रियताका हिसाबले निर्माण भएको फिल्म दशगजाले आफ्नो लगानी उठाउन च्यारिटीको माध्यम अपनाउनु पर्‍यो भने अर्को फिल्म कालापानी व्यापारिक हिसाबमा पुरै असफल रह्यो । त्यस्तै थोरै भए पनि राष्ट्रियताको विषय उठाउन खोजिएको फिल्म माटो साह्रै गएगुज्रेको व्यापारिक अवस्थामा पुग्यो । बरु ठीक्क लगानी सामाजिक भावना सम्प्रेषण गरिएको श्रीमानले आफ्नो सफलता प्राप्त गर्दै लगानी उठायो ।

फिल्म दुलहीलाई जति पब्लिसिटीमा पैसा खर्च गरे पनि काम लागेन । किन मायामा र अँगालो यो मायाको नामक दुई फिल्मले कुनै उल्लेख्य व्यापार नै गर्न सकेनन् । जबकि यी दुई फिल्ममा प्रशान्त तामाङलाई राखेर व्यापारिक फाइदा लिने प्रयास गरिएको थियो । तर इगोको प्रतिस्पर्धामा प्रशान्तले पाएको पारिश्रमिक समेत उठाउन नसक्ने गरी यी फिल्म थला पर्‍यो । फिल्म मन परेपछिले जेनतेन पैसा उठाएको दाबी गरियो भने उच्च लगानीमा निर्मित फिल्म के यो माया हो व्यापारिक असफलतामा फस्यो । कमेडी बेसलाई आधार बनाएर निर्माण गरिएको फिल्म एवम् अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेको वैवाहिक दाम्पत्यपछि आशावादी बनाएर निर्माण गरिएको फिल्म ब्रेकफेललाई नराम्रो झड्का लाग्यो । फिल्मले आशातित व्यापार गर्न सकेन ।

फिल्म ठेगाना नेपाली संस्कृतिलाई आत्मसात गरेर केही सामाजिक परिवेशको बनाउने प्रयास त भयो तर व्यापारिक सफलता साह्रै नै न्यून थियो । प्रसिद्ध गायक भक्तराज आचार्यको जीवनीलाई आधार बनाएर निर्माण गरिएको फिल्म आचार्यले बायोग्राफी फिल्मको रुपमा प्रशंसा त पायो तर व्यापारिक हिसाबमा सफलता प्राप्त गर्न सकेन । फिल्म अन्दाज सफलता प्राप्त गर्दागर्दै केबल लगानी उठाउने चलचित्रको रुपमा सीमित हुनपुग्यो भने त्यो सँगै प्रतिस्पर्धा प्रदर्शनमा आएको फिल्म मेरो लभस्टोरी व्यापारिक हिसाबमा पुरै असफल रह्यो । तिहारलाई आधार बनाएर रिलिज भएका दुई फिल्म हाम्रो माया जुनीजुनीलाई र म छु नि तिम्रो मध्ये जुनीजुनीले मात्रै लगानी उठाउन सकिएको दाबी गरिएको छ ।

अमर कृति मसान नाटकमा आधारित रहेर नीर शाहले निर्देशन गरेको फिल्म मसानलाई कलात्मक रुपमा प्रशंसा गरिए पनि फिल्मले व्यापारिक सफलता भने पाएन । माओवादी विषयलाई आधार बनाएर संघर्षको कथा बोकेको फिल्म फर्की आऊले पनि व्यापारिक आँकलन गर्न सकेन । महिला निर्देशक रक्षा राणाले निर्देशन गरेको फिल्म द गेम पनि आफ्नो लगानी उठाउन असफल रह्यो । पुसको अन्त्यमा माघे संक्रान्ति खाने दाउ गरेर निर्माताहरु भीडे । एकैदिन लुट, बजार, मस्ती, सडक एक आपसमा ठोकिए । यी मध्ये असफल हुने आशंका गरिएको फिल्म लुटले वर्षको व्यापारिक सफलतामा हंगामा नै मच्चाइदियो भने अन्य फिल्म असफल भए ।

निखिल उप्रेतीलाई कमब्याक समेत भनियो । मोनिका वेदीलाई नेपाली फिल्ममा ल्याइयो । तर परिचय नामको फिल्मले न निखिलको गुमेको परिचय दिलायो न मोनिकाको नेपाली फिल्ममा परिचय देखियो । लामो समयदेखि निर्माण भएर पनि प्रदर्शन कुरिरहेको फिल्म काठमाडौंले भने बल्ल बल्ल लगानी उठाउन सफल भयो । तर सँगै प्रदर्शन भएको छविलाल कन्जुस छैनले हावा खायो । फिल्म आइ एम सरी दर्शकहरुसँग सरी माग्नु पर्ने यस अवस्थामा पुग्यो कि उच्च लगानीका कारण व्यापारिक हिसाबमा ठीकै हुँदाहुँदै पनि लगानी भने उठेन । मिस यू, मायाको बारीमा र मजबुर एकैसाथ प्रदर्शनमा आए । बल्ल तल्ल मिस यू मात्रै लगानी उठाउन सफल भएको दाबी गरियो । यसबाट कमब्याक भनिएकी नम्रतालाई यो फिल्मले पनि खासै फाइदा दिलाएन ।

सधैँ राम्रा एवम् सफल फिल्म बनाउने निर्माताको रुपमा चिनिएका अभिनेता भुवन केसीको साथी म तिम्रो पनि यसपाली सोचेजस्तो गएन तर पनि यस फिल्मले आफ्नो लगानी भने सुरक्षित गरेको दाबी गरियो । चैतको पहिलो सातामा आएर थोरै लगानीमा निर्माण भएको फिल्म चपली हाइट प्रदर्शनमा आयो । यसले अप्रत्यासित व्यापार गर्‍यो जुन क्रम यथावत छ । त्यसपछि प्रदर्शनमा आएका फिल्म खासै उल्लेख्य रहेनन् । रेखा फिल्म्सको व्यानरमा बनेको फिल्म रावण २७ गतेदेखि प्रदर्शनमा आएको छ र बैशाख १ गते देखि काठमाडौंमा लाग्दैछ । यसको व्यापार आशावादी खालको देखिए पनि मूल्यांकन गर्नुपर्ने अवस्थामा भने पुगिसकेको छैन ।

यसरी यो वर्षको फिल्म उद्योगलाई हेर्दा निकै कम फिल्मले आफ्ना लगानीलाई सुरक्षित बनाए भने अप्रत्यासित रुपमा केही फिल्मले व्यापारिक सफलता पाए । र, पनि वर्ष ०६८ लाई निराशाको वर्ष नलिएर आशाको वर्षको रुपमा लिनुपर्ने देखिन्छ । (फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले