गाइ पालेर करोडौँ कमाइ

२५ श्रावण २०७०, शुक्रबार ०७:१२ मा प्रकाशित

मुक्तिनाथ भुषाल, अर्घाखाँची, २५ साउन । अर्घाखाँचीका कर्मठ कृषकबाट पाठ सिक्दै कृषि पेसामा लगन र मिहिनेतका साथ आबद्ध हुने हो भने सीमित आर्जनका लागि महँगो रकम खर्चेर बिदेसिने हजारौँ युवायुवतीको लर्काेमा कमी आउने र सम्पत्ति आर्जनका लागि ठगी, कालोबजारी र भ्रष्टाचारजस्ता अपराध गर्न नपर्ने शिक्षा आमनेपाली युवालाई मिल्न सक्छ । आफ्नै गाउँको जल, जमिनको सदुपयोग गर्न सके स्वास्थ्यमा सुधार आउनुको साथै आर्थिक उन्नतिसमेत हुने ज्वलन्त केही उदाहरण अर्घाखाँचीमा देखिएका छन् । 
अर्घाखाँचीको किमडाँडा गाविसका कृषकले व्यावसायिक तरकारी खेती र जर्सी गाईपालनबाट वार्षिक दुई करोड रुपैया गाउँमा भित्र्याएका छन् । लक्ष्मी गाईपालन तथा दूध बिक्री–वितरण संस्था नामको फर्ममा अहिले करिब ८० जना कृषक आबद्ध भई २५० भन्दा बढीले जर्सी गाईपालन गरेका छन् । किमडाँडामा लगभग एक हजार पाँच सय लिटर दूध दैनिक उत्पादन हुने र सम्पूर्ण दूध सदरमुकाम सन्धिखर्कमै खपत हुने गरेको समूहका अध्यक्ष धर्मराज बन्जाडे बताउँछन् ।
गाईको दूध पोसिलो हुने भएकाले गाई पाल्न थालेपछि घरका सदस्यहरू पनि हृष्टपुष्ट भएको कृषकको भनाइ छ । गाईपालन गर्दा कृषकको घरमा नगद र स्वास्थ्यमा मात्र सुधार आएको नभई खाद्य बाली र तरकारी खेतीमा समेत अप्रत्यासिक वृद्धि भएको छ । मलको अभावमा तरकारी खेतीबाट राम्रो फाइदा लिन नपाएका कृषकहरू गाई पाल्न थालेपछि तरकारी खेतीमा पनि हौसिएका छन् । किमडाँडाका पुष्करनाथ बन्जाडेले आफ्नो २० रोपनी भिरालो र पाखोबारीमा तरकारी खेती गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गरेका छन् भने कमलप्रसाद बन्जाडेले गाईपालनबाट मासिक ७० हजार आम्दानी गरेको बताए । सोही गाउँका गणेशप्रसाद बन्जाडे मौसमी र बेमौसमी तरकारी खेतीबाट करोडपति बनेका छन् । आफ्नो सरकारी जागिर छाडेर २०४१ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बन्जाडेसँग अहिले ३२ रोपनी आफ्नै जमिनमा तरकारी खेती छ, जुन जमिनकै मूल्य हाल ३ करोडभन्दा बढी पर्दछ ।
०६९ सालको गणतन्त्र दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा राष्ट्रियस्तरको सेवारत्न पदकबाट विभूषित बन्जाडेले तरकारी बिक्री गरेर काठमाडांैको कोटेश्वरमा पनि घर बनाएका छन् भने कुलेश्वर, थानकोटलगायतका स्थानहरूमा चारवटा घडेरी किनिसकेका छन् । कृषि पेसाबाहेक अन्य आम्दानीको स्रोत नभएका उनले घरका १० जना परिवार पाल्नुको साथै सन्धिखर्क बजारमा एउटा पक्की घर निर्माण गरिसकेका छन् र सदरमुकामभित्रै पाँच रोपनी जमिन अर्थात् २० वटा घडेरी खरिद गरेको यथार्थ उनी लुकाउन चाहँदैनन् । मौसमी र बेमौसमी तरकारी खेतीबाट वार्षिक रूपमा खर्च कटाएर १५ लाख आम्दानी गरिरहेका बन्जाडेले कृषकलाई अझै पनि सरकारी कार्यालयहरूमा जाँदा गरिब ठानेर हेपाहा व्यवहार गर्ने गरेको तीतो अनुभव उनीमा रहेको छ ।
जिल्लाको बाँगी ७ पलसपाटामा जन्मिएका युवक लक्ष्मण महतले भेटेनरी जेटिए पास गरिसकेपछि एक लाख खर्च गरी कतार पुगे पनि हाल आफ्नो भविष्य सदरमुकाम सन्धिखर्कसँग जोडेका छन् । ०६५ साल वैशाख महिनाबाट कुखुरापालन सुरु गरेका महतले आफ्ना परिवारपालन पोषणको साथै सदरमुकामभित्रै चारआना जमिन खरिद गरिसकेका छन् । सरकारी निकायबाट बजार व्यवस्थापन हुन सकेमा अझ राम्रो हुने उनको कथन छ ।
गोरुसिङ्गे सडकखण्डदेखि सन्धिखर्क सदरमुकाम जाने क्रममा ठाडा दहनजिकै रहेका कमानसिंह दर्लामीले पनि आफ्नो जमिनको सदुपयोग गरेर वार्षिक ६ लाख आम्दानी गरेका छन् । आफ्नै जमिनमा मौसमी, बेमौसमी तरकारी व्यवसाय अनी बङ्गुरपालन र विभिन्न जातिका फूलहरू बिक्री गरेर उनले मनग्य आम्दानी गरेका छन् । फोटोग्राफीको काम छाडेर उनी कृषि पेसामा लागेको जानकारी भएको छ ।
जिल्लाको पोखराथोक गाविसनिवासी नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता अच्युत गौतम पनि आफ्ना गाउँले साथीहरूको साथमा नमुना कृषक समूहमा आबद्ध भई व्यावसायिक तरकारी खेती र कुखुरापालन गरेर कृषि पेसालाई बढुवा दिँदै छन् । गाउँका परिपक्व र समाजसेवी भनिने १० व्यक्ति मिलेर २५ रोपनी जमिनमा १९ सय कुखुरा, टमाटर, काँक्रा, गोभीलगायतका मौसमी र बेमौसमी खेतीमा एकजुट बनेका छन् । सिँचाइको लागि पानीको अभाव मानिने पोखराथोकमा उनीहरूले करिब ढाईलाख लिटर बर्खाको पानी सङ्ग्रहका लागि ट्याङ्क निर्माण गरेका छन् । ०६९ साल असोजबाट रु. १५ लाख जम्मा गरी व्यवसाय सञ्चालन गरेका उनीहरूले हालसम्म ब्रोइलर कुखुरा ६ हजार, ४० क्विन्टल आलुलगायतका थुप्रै तरकारी उत्पादन गरेर बिक्री गरिसकेका छन् ।
जल र जमिनको सदुपयोगबाट नै आफ्नो जीवनशैली बदलिने र कृषि व्यवसाय जो–कोहीे पनि गर्न सकिने विश्वास लिएका यी गाउँका समाजसेवी तथा कृषकले वार्षिक पचास हजार जमिनको भाडा तिरेको बताउँछन् । समूहका सदस्यको आर्थिक उन्नतिको साथै बिदेसिएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने थप लक्ष्य आफूहरूमा रहेको समूहका अध्यक्ष गौतमले बताए । यहाँनिर प्रश्न के आउँछ भने आफ्नो गाउँको विद्यालयमा राष्ट्रपति भित्र्याउँदै कार्यक्रमको सभापतित्व गरिसकेका युवा नेता गौतम कृषि पेसामा लाग्नुलाई दुई तहबाट हेर्ने सकिन्छ । पहिलो आफँैमा आर्थिक निर्भर बन्दै सच्चा काङ्ग्रेसको राजनीति गर्ने दोस्रो हालसम्म कमाएको इज्जतलाई प्रयोग गरी जिल्लामा आउने कृषिसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू भविष्यमा आफैँले कुम्ल्याउने । जुन कुरा भविष्यले नै बताउनेछ ।
अर्घाखाँचीको ठाडा–५ पिरापानीका केही कृषकले व्यावसायिक बङ्गुरपालन र माछापालन व्यवसायमा आकर्षित बन्दै गएका भए पनि राज्यपक्षबाट कुनै पनि सेवा र सुविधा नपाएको बताए । करिब एक सयभन्दा बढी बङ्गुर र चार हजारजति माछापालन सुरु गरेका कृषकलाई सदरमुकाममा रहेका सरोकारवालाले ध्यान नदिएको र हालसम्म आर्थिक वा प्राविधिक सहयोग नपाएको कृषक खगिश्वर गैरे बताउँछन् । हल्लाहल्लैमा आफूहरूले बङ्गुर र माछापालन व्यवसाय सुरु गरेको भए पनि कुनै तालिम वा अनुभव नभएको कारण आफ्नो व्यवसाय राम्रो हुने हो वा नराम्रो उनीहरू यकिन बताउन सक्ने अवस्थामा छैनन् । पटकपटक सरोकारवालाहरूसमक्ष पुग्दा उनीहरूले आफ्नो गुनासो नसुनेका कारण आफूले जानेबुझेको आधारमा व्यवसाय गर्दा पनि आफूहरू सन्तोष भएको अर्का कृषक रामप्रसाद खनालको भनाइ रहेको छ ।
राज्यले कृषि व्यवसायका लागि करोडौँ रुपैयाँ विनियोजन गरेको भए पनि अर्घाखाँची जिल्लाको ठाडा–५ पिरापानीका कृषक हालसम्म प्रभावित बन्न सकेका छैनन् । लामो समयदेखि व्यावसायिक रूपमा कुखुरापालन गरे पनि राज्य पक्षबाट कुनै पनि सहयोग नपाएको कारण उनीहरू निराशावादी बन्दै गएका छन् । खरले छाएका झुपडीहरूमा उनीहरूले पुरानो शैलीबाट करिब ६ हजार कुखुरापालन गरे पनि रोगव्याध भित्रिँदा भगवान्लाई सम्झनेबाहेक अन्य विकल्प नभएको जानकारी गराएका छन् । सन्धिखर्क गोरुसिङ्गे सडकखण्डबाट पाँच मिनेट पैदल यात्रामा पुग्न सकिने पिरापानीमा आजसम्म सदरमुकामका सरोकारवालाहरूले ध्यान नदिनु एउटा चरम लापरबाही भएको त्यहाँको स्थितिले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष