त्रासमय तराई :: बबिता बस्नेत

२३ श्रावण २०७०, बुधबार २२:२८ मा प्रकाशित

हिजोआज तराईका विषयमा कुराकानी मात्र गर्‍यो भने पनि मानिसहरू भन्ने गर्छन्– तराई ? अझ कामविशेषले तराई जानुपर्दा धेरैको भनाइ रहने गर्छ, यस्तो बेलामा तराई नै किन जानुपर्‍यो ? मधेसमा पनि भित्री मधेस नै किन ? जस–जसले जे–जस्तो प्रतिक्रिया दिए पनि समग्रमा भन्नुपर्दा मधेसमा काम गर्न मानिस सहजता महसुस गर्दैनन् । हुन पनि कहिले कसको अपहरण, कहिले कसको हत्या समाचारहरू एकपछि अर्को आइ नै रहेका छन् । कुनै बेलाको शान्त मधेस अहिले त्रासमय स्थानमा परिवर्तन भएको छ । सबैतिर त्यस्तो छैन तर एकाध ठाउँमा भए पनि समग्र स्थानले दोष त पाइनै हाल्छ, माओवादी युद्धकालमा सबै क्षेत्र द्वन्द्वग्रस्त थिएन तर बाहिरबाट हेर्दा पूरै नेपाल युद्धग्रस्त क्षेत्रझैं गरिन्थ्यो । मधेसबारे पनि अहिले त्यस्तै हो मधेसका धेरै भागमा द्वन्द्वको छायाले नभेटे पनि केही भागमा भने बिउ रोपिइसकेको छ । केही वर्षयता अपराधलाई राजनीतीकरण र राजनीतिलाई अपराधीकरण गर्ने क्रम पनि त्यत्तिकै बढेको छ । कुनै योग्यता नचाहिने भएकाले अन्य पेसा अपनाउनुभन्दा राजनीति गर्न सजिलो पनि छ । दुई–चारजना मानिस वरिपरि लिएर हिँड्न सके राजनीतिकर्मी भइहालिन्छ । तराईमा मात्रै नभएर मुलुकभरि नै राजनीति गर्नुको अर्थ जनताको दु:खमार्कामा सहभागी हुनु नभएर पैसा कमाउनु हो, मधेसमा यस्तो बुझाइ अझ बढी छ । पद र पैसाका लागि दल र नेताहरूबीच भएको टुटफुटले तराईकेन्द्रित राजनीति गर्न खोज्नेहरूलाई कमजोर मात्र बनाएको छैन, जनताले तिनलाई हेर्ने दृष्टिकोणमा पनि छिया पर्दै गएको छ । 
तराईका विभिन्न भागमध्ये महोत्तरी जिल्ला अहिले चुनौतीपूर्ण स्थान बन्दै गएको छ । साना–ठूला सशस्त्र समूहका गतिविधिका कारण सुरक्षाको दृष्टिले महोत्तरी संवेदनशील बन्दै गएको हो । महोत्तरीमा पनि बथनाह गाविस निकै संवेदनशील मानिन्छ । छिमेकी मुलुकसँग खुला सिमाना रहेको र सशस्त्र समूहहरूको चलखेल बढी हुने गरेका कारण बथनाह बढी संवेदनशील स्थानमा गनिएको हो । छिमेकी मुलुक भारतसँग खुला सिमाना त हामी विभिन्न स्थानमा ‘सेयर’ गर्छौं तर साँच्चीकै खुला सिमाना भनेको के हो भनेर हेर्न भने सोही स्थानमा पुग्नुपर्छ । स–साना गोरेटो बाटोवारि नेपाल छ बाटोपारि भारत । अँगेनामा आगो निभ्यो भने छिमेकीकहाँ लिन जाँदा त्यो यता र उता जहाँको पनि पर्न सक्छ । भारतलाई हामी छिमेकी मुलुक भन्छौँ, छिमेकी नै किन भनिएको रै’छ भनेर हेर्नचाहिँ त्यहीँ पुग्नुपर्ने रहेछ । रोटीबेटीको मात्रै नभएर ससाना कुरामा पनि भरअभर दुवैतिर उत्तिकै सरसहयोग हुने गरेको छ । सुरक्षाको दृष्टिले बथनाह अहिले चुनौतीपूर्ण हुनुको प्रमुख कारण भूमिगत सशस्त्र समूहको एकता र उनीहरूको गतिविधि नै हो । विभिन्न १२ वटा भूमिगत सशस्त्र समूह मिलेर एउटै समूह बनेको छ । टुक्राटाक्री समूह मिलेर संयुक्त बनेको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति मोर्चाका नामले चर्चित छ । तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) र ज्वाला समूहसँगै राजन मुक्ति मोर्चाका गतिविधि तराईमा यत्रतत्र फैलने क्रम जारी छ । यसप्रकारका सशस्त्र समूह बथनाहमा धेरै भएकाले पनि उक्त स्थानमा जानका लागि मानिस कुनै बेलाको जाफ्ना नै जान लागेझैँ गर्छन् । महोत्तरीवासीमै पनि बथनाह भनेपछि त्यहाँ त जानुहुँदैन भन्ने छ तर जुन रूपले प्रचार गरिएको छ त्यस्तो परिस्थिति पनि होइन । भूमिगत समूहका केही गतिविधि भए पनि त्यहाँका स्थानीय सरल र सहृदयी छन् । घरको करेसामै छिमेकी मुलुकको सिमाना जोडिँदाको छुट्टै पीडा उनीहरूसँग छ, जुन कुरा व्यवहारसँग होइन विकाससँग जोडिएको छ । सँगै जोडिएको भूमिमा छिमेकीको बाटो पिच छ, सरर गाडी कुद्छ, ठाउँठाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकीहरू छन । यता आफ्नोपट्टि जताततै खाल्डाखुल्डी परेको, पानी परेका बेला हिँड्नै नसकिने सडक छन् । जुन सडक प्रयोग गर्नु बिरामी र गर्भवती महिलाका लागि निकै जोखिमपूर्ण हुन्छ । स्वास्थ्यचौकी छ तर एम्बुलेन्स र अन्य आवश्यक सुविधा छैन । यस पङ्क्तिकारसँगको कुराकानीमा स्थानीयवासीले भने– गाउँमा एउटा एम्बुलेन्स भइदिए हुन्थ्यो ।
हातहतियारको ओसारपसार, सशस्त्र समूहका गतिविधिपछि सीमाक्षेत्र हुनुको अर्को चुनौती लागूपदार्थको ओसारपसार र सेवनमा वृद्धि पनि हो । महोत्तरीका मात्र नभएर छिमेकी जिल्ला हुँदै टाढाटाढाबाट मानिस लागूऔषध सेवन र ओसारपसारका लागि त्यहाँ पुग्ने गर्छन् । यस्तै वारि अपराध गरेर पारि जाने पारि अपराध गरेर वारि आउने क्रम पनि त्यत्तिकै छ । मधेसको खास समस्या भनेकै चारवटा ‘सी’सँग सम्बन्धित छ भनिन्छ– क्राइम, क्यास, क्रिमिनल र कास्ट । पैसाको चलखेल र आपराधिक गतिविधि मात्र नभएर डर लाग्दो जातीय विभेद र पृतसत्ता पनि मधेसमा छ । यी सब कुराका बाबजुद विकासका कामहरू धमाधम अघि बढ्ने हो भने मधेसमा गर्न सकिने कुरा पनि धेरै नै छ । जिल्लाका लागि छुट्याइएको बजेट दलहरूबीच भागबण्डा गरिन्छ, यदि कथंकदाचित दलहरू र कर्मचारीबाट बजेट जोगियो भने फ्रिज हुन्छ तर विकासमा खर्च हुँदैन । कुनै स्थानीय विकास अधिकारी तीन महिना टिक्न सक्यो भने आश्चर्य मान्नुपर्ने अवस्था छ । महोत्तरीकै कुरा गर्ने हो भने डेढ महिनाको बीचमा तीनजना एलडीओ फेरिइसकेका छन् । हाम्रो मुलुकमा इमानदार कर्मचारी पाउनै गाह्रो, पाइहाले टिकाउन गाह्रो, यही भएको छ मधेसमा । नेताहरूको दबाब यति धेरै छ कि कर्मचारीलाई टिक्नै गाह्रो छ । यस्तो अचम्मको एटिच्युड मधेसका जिल्लामा देखिएको छ । जिल्ला सदरमुकामका सडकहरू सदरमुकाम र नगरपालिका भन्नै नमिल्ने गरी धुलाम्मे र हिलाम्मे छन् । ती सडक र नगरपालिकाका नाममा वर्षौंदेखि बजेट गइरहेको छ तर सडक जस्ताका तस्तै छन्, त्यो पैसा कहाँ गयो ? अहिलेसम्म सोधीखोजी गरिएको छैन । जसले पैसा कमायो त्यसैलाई ठूलो मान्छे मान्ने चलन छ तराईमा । उसले कसरी पैसा कमायो ? ऊ कसरी रातारात धनी भयो ? जस्ता कुरामा खासै वास्ता गरेको देखिँदैन । तराईका गाउँगाउँसम्म पुग्दा जनसाधारणमा एउटा गजबको समान धारणाचाहिँ के पाइन्छ भने आफ्नो काम परिरहने सरकारी कार्यालयहरूमा उनीहरू सकेसम्म मधेसीभन्दा पहाडी जातिकै मानिस आइदिए हुन्थ्यो भन्ठान्छन् । कारण, पहाडीले भए कराउँदै गाली गर्दै भए पनि बिनापैसा फटाफट काम गरिदिन्छन् भन्ने ‘इम्प्रेसन’ उनीहरूलाई छ । यसको अर्थ मधेसीलाई पहाडमा, पहाडीलाई मधेसमा यो देशका नागरिकलाई आफ्नो ठाउँमा मात्र केन्द्रित नगरेर सबैतिर फैलाउँ भन्ने पनि हुन सक्छ । जुन निकै सकारात्मक कुरा हो जस्तो लाग्छ । मधेसी राष्ट्रसेवकले हिमाल, पहाड पुग्नुपर्‍यो त्यस्तै हिमाली र पहाडीले मधेससम्म हेर्नुपर्‍यो । भ्रष्टाचार नियन्त्रणका लागि मात्र नभएर सबै नेपालीलाई एकताबद्ध बनाउने उपायका रूपमा पनि यसलाई लिन सकिन्छ ।
तराईमा सशस्त्र समूहको बढ्दो गतिविधिले मधेसभन्दा पनि मधेसका नाममा राजनीति गर्नेहरूलाई भने अब चुनौतीपूर्ण बनाउँदै गएका हुन् कि जस्तो लाग्न थालेको छ । मधेसकेन्द्रित राजनीति गर्ने दलहरूले मधेसका नाममा राज्यसत्तामा पद लिनेबाहेक अरू काम नगरेको भनी उनीहरूलाई लक्षित गरेर सशस्त्र समूहले ‘कारबाही’ गर्ने घोषणा नै गरेका छन् । सशस्त्र समूहको यसप्रकारको घोषणाले दलहरूलाई आफ्नो गतिविधिबारे सोच्न बाध्य बनाउने देखिन्छ । त्रासमय तराईलाई त्रासरहित तराई बनाउने जिम्मेवारी पनि राजनीतिक दलहरूकै हातमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्