रक्सीका सिकार भएका नेपाली ज्यानहरू :: वीरेन्द्रमणि पौडेल

२३ श्रावण २०७०, बुधबार २२:२० मा प्रकाशित

सबैभन्दा पहिले हवाईजहाज कसले बनायो ? राइट दाजुभाइले । साइकलका आविष्कारक को हुन् ? म्याक मिलन । रेडियम कसले पत्ता लगायो ? म्याडम क्युरीले । अमेरिका कसले पत्ता लगायो ? कोलम्बसले । यस्ता कैयौँ प्रश्न छन् र तिनका जवाफहरू पनि छन् तर मान्छेको दुनियाँमा निरन्तर प्रयोग भइरहेको विनाशकारी तत्त्व रक्सीको पहिलो निर्माता वा फर्मुला पत्ता लगाउने को हुन् भन्ने प्रश्न सोधियो भने सबैले भन्नैपर्ने हुन्छ– ‘पास’ अर्थात् जवाफ थाहा छैन । पहिलोपटक कसले बनायो पनि थाहा छैन । कसले खायो पनि थाहा छैन । कसरी खान पर्छ पनि थाहा छैन । कति खान पर्छ पनि थाहा छैन । सबैभन्दा पुरानो सनातन हिन्दूधर्मका केही पुस्तकमा उल्लेख भएअनुसार भगवान्ले राक्षसहरूको दिमाग गोलमाल बनाउन रक्सी उत्पादन गरेर तिनलाई फकाइफुल्याई खान दिए र बुद्धि भ्रष्ट भएपछि राक्षसहरूले देवताहरूसँग लडाइँमा हारे । यसोभन्दा रक्सी कहिले उत्पादन भयो भन्ने प्रश्नको जवाफमा भगवान्को पालादेखि उत्पादन भयो भन्नुपर्छ तर भगवान्चाहिँ कहिलेदेखि थिए र छन् भन्ने प्रश्नको जवाफ मान्छेहरूसँग नभएको हुँदा रक्सी कहिलेदेखि उत्पादन गरियो र खान थालियो भन्ने प्रश्नको जवाफ पनि ‘थाहा छैन’ भन्नु नै ठीक ठहर्छ । 
रक्सी एकप्रकारको नसालु झोल पदार्थ हो । यो खाएपछि यसको असर रहुन्जेल मान्छे एकप्रकारको पागल हुन्छ । थोरै खाने थोरै पागल, धेरै खाने धेरै पागल र ठिक्क खाने ठिकैको पागल । रक्सीको नसा शरीरमा रहुन्जेल मान्छे मात्राअनुसारको पागल हुन्छ जब असर सकिन्छ अनि पागल फेरि सद्दे हुन्छ । यसरी रक्सीले मान्छेको दिमागलाई गोलमाल बनाइदिन्छ मात्र होइन यसले ब्लडप्रेसर हाई बनाउँछ, मुटु, कलेजो, किड्नीजस्ता संवेदनशील भित्री अङ्गहरूलाई क्षतविक्षत् बनाउँछ । क्षतविक्षत बनाउने क्रममा यो नसालु खतरनाक झोलपदार्थले यो मान्छे राम्रो त्यो नराम्रो भन्दैन । न त डाक्टर भन्छ, न इन्जिनियर, पत्रकार, मन्त्री, नेता, गायककार वा साहित्यकार नै भन्छ । यसले ती सबैलाई सखाप पारिदिन्छ ज–जसले रक्सीलाई साथी बनाउँछन् अर्थात् यसलाई सेवन गर्छन् । विश्व मानव समुदायमा रक्सीले धेरै क्षति पुर्‍यायो, पुर्‍याइरहेको छ । रक्सीले दिमाग उत्तेजित बनाउँदा खाने मान्छे आफैँ आत्माहत्या गरेर मर्‍यो भने रिस थाम्न नसकेर अरूको हत्या गर्‍यो । यस्ता घटना विश्वभरि आज पनि भइरहेका छन् । रक्सीको नसाका कारण धेरै मानिस अपराधी बन्न पुगे । समाज र राष्ट्रलाई हरेक कोणबाट क्षति पुर्‍याए । आज पनि पुर्‍याइरहेका छन् । संसारका अन्य मुलुकहरूमा के–कति र कसरी क्षति भइरहेको छ सम्बन्धित मुलुकका सरकार र समाज अन्वेषकहरूले हिसाबकिताब तयार पारेका होलान् । जहाँसम्म सवाल नेपालमा रक्सीले पुर्‍याएको क्षतिको छ यसबारे खासै हिसाबकिताब गरिएको छैन । एड्स, हेपाटाइटिस बी, क्यान्सरलगायतले वर्षेनी नेपालमा मार्ने मान्छेको सङ्ख्याभन्दा रक्सीका कारण स्वास्थ्य क्षति र दुर्घटनाले धेरै मरेका छन् । यो सत्य भईकन अपवादलाई छाडेर कसैले पनि राष्ट्रिय क्षतिउपर चासो नदिएको हुँदा आज चर्चामार्फत सकारात्मक तरङ्ग सिर्जना गर्ने प्रयास गरिएको छ ताकि डरलाग्दो राष्ट्रिय समस्या बनिसकेको रक्सीबारे जनचेतनासमेत जाग्न सकोस् ।
राजा महेन्द्रलाई नेपाली प्रजातन्त्रका हत्यारा भनिए पनि उनी देशलाई माया गर्ने राष्ट्रवादी थिए भन्ने कुरा सक्कली नेपाली नागरिक सबैलाई थाहा छ । देश विकसित थिएन । जनता चेतना खोज्दै थिए । मुलुक हाँक्न सजिलो थिएन । राजा भएर राजाकै जस्तो चिन्तन र व्यवहार देखाउन उनलाई अप्ठ्यारो पनि थियो । टेन्सन बोक्नुपर्ने बाध्यता एकातिर थियो भने समस्यामाथि समस्याको रूपमा उनको रक्सी खाने बानी पनि थियो । यही बानीका कारण देशलाई माया गर्ने महेन्द्र मुटुरोगबाट पीडित भए । रक्सीले आफ्नो काम गर्न ढिलाइ गरेन । ज्यादा रक्सी पिएकै कारण महेन्द्र ०२८ सालमा मरे । राजा महेन्द्रको मृत्युले नेपाललाई क्षति पुग्यो । रक्सीको चरित्र विनाशकारी भन्ने बुझेपछि सरकारले नियन्त्रणमुखी अभियान सञ्चालन गर्नुपथ्र्यो तर प्रमाणपत्र बेचेर रक्सी उत्पादन गर्नसमेत अनुमति दियो । इच्छा लाग्नेहरूले घरघरै रक्सी बनाउन र बेच्न पनि थाले । पानी नपाइने ठाउँमा रक्सी छ्यालब्याल पाउन थालियो । नेपालको इज्जत धान्ने र मुलुकलाई नभई नहुने जनशक्ति रक्सीको सिकार भए ।
भारतका विख्यात गायककार मोहमद रफी र किशोर कुमारभन्दा कुनै पनि कोणबाट कम थिएनन् नेपालका नारायणगोपाल गुरुवाचार्य । कसरी रक्सी खान सिके उनले थाहा छैन । रक्सीको मात्रा बढ्दैबढ्दै यतिसम्म बढ्यो कि बिहान ओछ्यानबाट जुरुक्क उठ्नेबित्तिकै नारायणगोपाल रक्सी घुट्क्याउन थाले । सुत्नुअघि रक्सी खानुपर्ने, उठेपछि खानुपर्ने, गीत गाउनुअघि खानुपर्ने, गाएपछि खानुपर्ने । यसरी रक्सीको मात्रा बढ्दैबढ्दै जाँदा उनको शरीरका भित्री अङ्गहरू क्षतविक्षत् भए । रक्सी नखाएको भए वा खान छाडेको भए शायद नारायणगोपाल आजसम्म जीवितै हुन्थे र ‘एउटा मान्छेको मायाले कति फरक ……’ भन्दै गाइरहेका हुन्थे । तर, दुर्भाग्य भन्नुपर्छ नारायणगोपाललाई रक्सीले लग्यो । घुम्ने मेचमाथि अन्धो मान्छे भन्थे कवि भूपि शेरचन । त्यस्तो कविता लेख्ने मान्छे अब नेपाल नामको धर्तीमा जन्मिन्छ जन्मिँदैन थाहा छैन । त्यस्तो महत्त्वपूर्ण नेपाली सम्पत्तिलाई रक्सीले सर्लक्कै लग्यो । निर्मल लामा नामका कम्युनिस्ट नेता थिए नेपालमा । रक्सी स्वाट्ट पार्नु उनको एकप्रकारको बानी थियो । त्यही बानीले उनलाई क्यान्सर अस्पतालको ओछ्यानमा पुर्‍यायो । ओछ्यानमा पनि लामो समय सुत्न दिएन । रक्सीले उनलाई लगिछाड्यो । इन्द्र लोहनी नामका छोटो समयमा नाम कमाएका टेलिभिजन पत्रकार थिए । कानुन व्यवसायीको परिचय पनि भएका तिनलाई बेलुका भएपछि पेटभरि रक्सी र मासु खानुपथ्र्यो । एक दिनको दुई दिनको रक्सी मासुले कसैलाई पनि आर्यघाट पुर्‍याउँदैन । लोहनी लामो समयदेखि रक्सी मासु खाइरहेका थिए । रक्सीले इज्जत कमाएका पत्रकार इन्द्र लोहनी भन्ने कुरै थिएन, भनेन । रक्सीले उनको मुटुको धड्कन बन्द गरिदियो । उनी पनि पञ्चतत्त्वमा विलीन भए । चितवन जिल्लाको हकमा पनि रक्सीले धेरै नेपालीको ज्यान लियो । पछिल्लो समय चर्चा गर्न लायक व्यक्ति जिल्ला विकास समिति चितवनका कृष्णजयन्ती पौडेलको रक्सीले ज्यान लियो । पेटभरि रक्सी र मासु खाएर घरतर्फ फर्किरहेका पौडेल मोटरसाइकल दुर्घटनामा परेर मरे । नेपाली जनताका लागि काम लाग्ने खालका मान्छे थिए कृष्णजयन्ती पौडेल । तिनलाई रक्सीले मार्‍यो । आमालाई कति दु:ख भयो होला दश महिनासम्म पाठेघरमा झुन्ड्याएर बोक्न । कृष्णजयन्तीलाई हुर्काउन परिवार सदस्यको मिहिनेत पनि कम थिएन होला । उनको पढाइलेखाइमा राज्यले लगानी गरेको थियो । त्यो स्तरको अधिकृत बनाउन र उनीबाट जनताले सेवा पाउने अवस्था सिर्जना गर्न उनकी श्रीमतीले पनि मिहिनेत गरेकी थिइन पक्कै । तर, सबैको मिहिनेत खेर गयो । कारण रक्सी थियो । रक्सीले एउटा गतिलो नागरिकको अन्त्य गरिदियो । राजा महेन्द्र, नारायणगोपाल, भूपि शेरचन, इन्द्र लोहनी, निर्मल लामा र कृष्णजयन्ती पौडेल मात्रै होइन रक्सीले नेपालका पचहत्तरै जिल्लाका होनाहार नागरिकको हत्या गरिरहेको छ । आज पनि नेपालका विकसित शहरदेखि गाउँका सानासाना होटलसम्म, तराईदेखि हिमाल र पहाडका कुनाकन्दारासम्म साँझ पर्नेबित्तिकै रक्सीको गिलास समातेर हजारौँहजार मानिस बसिरहेका छन् । घरबाहिर खान मन पराउनेहरू रेस्टुरेन्ट र भट्टीमा बसेर खाइरहेका छन् । बाहिर खाँदा इज्जत जान्छ भन्नेहरू घरभित्रै बसेर घुट्क्याइरहेका छन् । रक्सी खानेहरू बालबालिका छैनन् । अपवादलाई छाडेर वृद्धवृद्धा पनि छैनन् । ठूलो सङ्ख्या युवाको छ । युवतीको सङ्ख्या पनि बढ्दै छ । बाहिर रक्सी पिउनेहरू दुर्घटनामा परेर मरिरहेका छन् भने अपराध कर्ममा समेत सक्रिय देखिएका छन् । घरभित्र बसेर रक्सी खाँदा ठीक हुन्छ भन्नेहरूसमेत कलेजो र मुटुसम्बन्धी रोगबाट थलिँदै छन् । एक त रक्सी खान हुने–नहुनेसम्बन्धी नेपाल सरकारको धारणा जनताको माझमा आएको छैन भने अर्कोतर्फ खान हुने भए कति मात्रामा खान मिल्छ त्योसमेत जानकारी गराइएको छैन । रक्सी खान हुन्छ कि हुँदैन ? भन्ने प्रश्नको जवाफमा मनोरोग विशेषज्ञ डा. सी.पी. सेढाईं भन्छन्, ‘सकभर नखाएकै वेश । अपवादलाई छाडेर मान्छेहरू रक्सी अड्कल्न सक्दैनन् । यसको मात्रा बढ्दै जान्छ । कालान्तरमा कलेजो र मुटुसम्बन्धी रोग निम्तिन्छ, चिडचिडाहट र पागलपन देखिन्छ, मान्छेको मृत्युसमेत हुन्छ ।’ अब डाक्टरको सल्लाह मान्ने कसले ? मर्न लागिसकेको बिरामीले वा रक्सी खान नसिकेको व्यक्तिले वा सरकारले मानेर जनतालाई रक्सी खान प्रतिबन्ध लगाउने ? वृद्धवृद्धा काम गर्न सक्दैनन् । बालबालिकाले काम गर्न सक्ने अवस्थै हुँदैन । काम गर्ने र मुलुक चलाउने युवायुवती नै हुन् । बेरोजगारीका कारण लाखौँ युवायुवती बिदेसिएका छन् । मुलुकभित्र छैनन् । जति बेरोजगार युवायुवती मुलुकभित्र छन् त्यसको अनुमानित ७० प्रतिशत युवा र २० प्रतिशत् युवती रक्सीको सिकार भएको बताइन्छ भने यस्तो कहालीलाग्दो अवस्थामा मुलुक कसरी चल्न सक्छ । सयौँ कारणमध्ये मुलुक ध्वस्त हुनमा रक्सी एउटा कारण हो भन्ने कुरा उपलब्ध प्रमाण र अवस्थाहरूले चिच्याइचिच्याई बताइरहेका छन् भने नेपाल सरकारले अब रक्सी किन नियन्त्रण नगर्ने ? रक्सी कसले खान हुने, कति खान हुने, खान हुने कि नहुने ? वा मनोरोग विशेषज्ञको सल्लाह मानेर सिङ्गो मुलुकलाई रक्सीरहित घोषणा गर्ने कि नगर्ने ? यदि रक्सीलाई नियन्त्रण नगर्ने हो भने उपलब्ध युवाजनशक्तिलाई मात्रै होइन रक्सीले मुलुक हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई समेत बढार्न सक्छ । जति नेपाललाई रक्सीले क्षति पुर्‍यायो आजसम्म पुर्‍यायो । यतिसम्मको क्षति यो देशले सहन सक्यो । अब सहन गाह्रो छ । अब रक्सीलाई नेपाली ज्यानको सिकार गर्ने मौका दिनुहुँदैन । हिजोका होनहार नेता, गायककार, कविहरूलाई बचाउन सकिएन अब कम्तीमा शेरबहादुर र प्रचण्डलाई रक्सीबाट बचाउनुपर्छ । रक्सी नियन्त्रण अभियान सुरु गर्नुपर्छ । आजैदेखि गर्नुपर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ