भाञ्जाको चलखेलका कारण आइजीपी रानाको बदनामी

२० श्रावण २०७०, आईतवार २२:१० मा प्रकाशित

काठमाडौं, २० साउन । भान्जालाई मावालीको झोलीका देवता मानिन्छ । तर, सिधा–सोझो मामाको पदीय हैसियतलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न मामाकै आँखामा पट्टि बाँध्ने धूर्त भान्जा पनि भेटिएका छन् ।
प्राप्त समाचार अनुसार प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको गृह प्रबन्ध शाखा (निवास) हेर्दै आएका उनकै भान्जा यामबहादुर झेडी मगरले प्रहरीको सरुवा–बढुवा तथा खरिद प्रकरणमा चासो दिने गरेका मात्रै छैनन्, त्यसको सेटिङसमेत मिलाएर अर्थाेपार्जन गर्न थालेको बुझिएको छ । मामा प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको सेवाअवधि छोटिँदै जाँदा भान्जा झेडी मगरको चलखेलले व्यापकता पाएको छ ।
महाराजगन्जमा ‘हिमालयन यात्रा’ नामको टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका भान्जा झेडी मगरको पछिल्ला क्रियाकलापले सोझा र कहीँ कहिल्यै आर्थिक विवादमा नतानिएका मामा कुवेर सिंह राना प्रहरी संगठनभित्र विवादमा तानिन थालेका छन् । प्रहरीमा गरिएको पछिल्लो सरुवा तथा बढुवामा भान्जा झेडी मगरको सेटिङले गर्दा प्रहरी संगठनभित्र मामा कुवेर सिंह रानाप्रति चर्काे असन्तुष्टि बढेको बताइन्छ ।
प्रहरी स्रोतका अनुसार, अधिकांश विवादमा तानिएका र पैसाकै चलखेलका कारण पटक–पटक राम्रो पोष्टिङ पाउन सफल प्रहरीका अधिकृतसँग भान्जा यामबहादुर झेडीले हातेमालो गर्ने गरेका छन् । भान्जासँग सेटिङ मिलाएकै कारण आकर्षक पोष्टिङ पाउन र बढुवामा पर्न सफल थुप्रै विवादित प्रहरी अधिकारीको सूची लामै छ ।
‘मामाकै इशारा पाएर हो या मामालाई नै गुमराहमा राखेर हो, सरुवा–बढुवामा भान्जाको चलखेल निकै देखियो’ प्रहरीको कर्मचारी प्रशासन शाखाका एक प्रहरी अधिकारीले बताए । उनका अनुसार प्रत्येक सरुवामा आकर्षक पोष्टिङका लागि भान्जा झेडी मगरको लामो सूची प्रहरी महानिरीक्षकको निवासबाटै जाने गर्छ । विगतमा सरुवामा मात्रै चासो दिने गरेका भान्जा यामबहादुर झेडीमगरले यस पटक भने एसएसपी, एसपी र डीएसपी बढुवामा समेत निकै चासो दिएको प्रहरीको उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार भान्जा झेडी मगरले प्रहरीको खरिद प्रकरणमा समेत चासो दिने गरेका छन् । आफँै व्यापारी लिएर प्रहरीको प्रबन्ध र कल्याण शाखामा धाउने गरेका झेडी मगरले मामा कुवेर सिंह राना आईजीपी बनेपछि कति कुम्ल्याए भन्ने एकिन छैन । सिधा पाराको देखिने उनले मामाकै इशारामा चलखेल गरेको हुनुपर्ने एक प्रहरीका हाकिमको दाबी छ । विगतमा बढुवा दिनै नमानेका र सरुवा गर्नै नमानेका प्रहरी महानिरीक्षक रानाले समेत पछिल्लो बढुवा र सरुवामा भान्जा झेडीकै सिफारिसअनुसार निर्णय गर्नुको पछाडि लुकेको रहष्य बुझिनसक्नु छ । कतिपयले माइजूको इशारामा भान्जा चलेको पनि आशंका गर्ने गरेका छन् । तर, आर्थिक विवादमा पर्नै नचाहने मामा–माइजूलाई भान्जा झेडी मगरले गुमराहमा राखेको महानिरीक्षक निवास स्रोतले बतायो । भान्जा झेडीको चलखेल बढेको बारे मामा महानिरीक्षक राना बेखबर भने छैनन् ।
बिहान–बेलुकी मामाको सहयोगीको रुपमा देखिने र दिनभरि प्रहरीका विभिन्न यूनिटमा धाउने झेडी मगरका क्रियाकलापका साथै उनको निगाहा प्राप्त गरेका व्यापारी र प्रहरी अधिकारीको लामो सूचीबारे अनुसन्धान जारी छ । साथै, विगतदेखि नै निजी सहयोगीका रुपमा कामकाज गर्दै आएका भान्जा झेडीमगरलाई आर्थिक चलखेल नगर्न मामा महानिरीक्षक रानाले रोक लगाउँछन् कि निवासबाटै आउट गर्लान् ? त्यो भने हेर्न बाँकी नै छ ।
यसैबीच, प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले आफ्नै हात जगन्नाथ ठानेर गरेको सरुवालाई लिएर उनकै उत्तराधिकारीको दौडमा रहेका क्षेत्रका प्रहरी नायब महानिरीक्षकले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले हालै गरिएको सरुवाप्रति चित्त नबुझाएका अनुहारले घुस लिए÷खाएको र आफू अनुकूल काम गर्न नसकेको खण्डमा कारबाही स्वरुप सरुवा नै गरिदिने मनस्थिति बनाएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा