ओलम्पिक विवादमा मिलापको सङ्केत

१८ श्रावण २०७०, शुक्रबार ०८:२० मा प्रकाशित

श्रीविक्रम भण्डारी, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको विवादले खेलकुदलाई आक्रान्त पारेको लामो समय भइसकेको छ । अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय मान्यताको विवाद चुलिएपछि खेलकुद बलिको बोका बनेको कतैबाट छिपेको छैन । ओलम्पिक विवाद समाधानका लागि पछिल्लो समयमा राज्यदेखि विभिन्न निकाय सक्रिय रहे पनि परिणाम अर्थहीन मात्रै बनेको थियो । त्यसपछि मिल्नुको साटो बिगँ्रदै गएको सम्बन्धले खेलकुदमा ठूलो भ्वाङ नै बनाएको थियो । सबैले ओलम्पिक विवादलाई जुँगाको लडाइँ बनाएपछि समस्या ज्युँका त्युँ रहेको थियो, जुन यद्यपि जारी छ । खेलकुदको विकासभन्दा व्यक्तिगत विकास र कुर्सीको लडाइँमा परिणत भएको ओलम्पिकको विवादमा गत साता एक्कासि नाटकीय परिवर्तन आउँदा आशाका किरणहरू देखापरेका छन् । जसले गर्दा अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । 
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान आफ्नो दलबलका साथ राष्ट्रिय खेलकुद परिषद्मा झुल्किएपछि खेलकुदमा सनसनी फैलिएको थियो । लामो समयको अन्तरालपछि प्रधानले खेलकुद परिषद्मा पाइला टेकेपछि अड्कलबाजी लगाउनेहरूले हरेक कोणबाट यसलाई विश्लेषण गरेका थिए । धेरैले प्रधानको उपस्थितिलाई ओलम्पिक विवादसँग जोडेर हेरेका थिए ।
आखिर यस्तो टीका–टिप्पणी अड्कलबाजी हुनु स्वाभाविकै थियो पनि । यसर्थमा कि हिजोसम्म आँखाको कसिङ्गर सम्झिने र एकले अर्काको अस्तित्वलाई चुनौती दिई राखेको अवस्थामा प्रधानको उपस्थिति आफैँमा सोचनीय बनेको थियो । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै हिजोसम्म आ–आफ्नो डम्फु आ–आफ्नै ताल र सुरमा बजाउँदै आएकाहरूले किन र के प्रयोजनका लागि भेटघाटका अग्रसर भए त्यो कुतूहलको विषय बन्नु अनौठो कुरा पनि थिएन ।
यही अन्योलको वातावरणमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानबीच राखेपमा वार्ता भएको थियो । वार्ताका क्रममा एनओसीका अध्यक्ष प्रधानले राखेपको सहयोगको अपेक्षा राख्दै निकट भविष्यमै चीनको नान्जिङमा आयोजना हुने दोस्रो युथ एसियाली खेलकुद प्रतियोगितामा नेपालको सहभागिता, १२औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालमा गर्ने र नवनिर्मित एनओसीको भवनको उद्घाटनबारे चर्चा गरेका थिए । निषेधको राजनीति परित्याग गर्दै मेलमिलापबाट अघि बढाउन प्रधानले चालेको यो कदम अहिले खेलकुदका लागि सुखद बनेको छ । जसलाई सदस्यसचिव लामाले पनि सकारात्मक रूपमा लिएका छन् । त्यस्तै, यो कदमले आगामी दिनमा राखेप र एनओसीबीचको सम्बन्धमा पनि सुधार हुने विश्वास गरिएको छ भने ओलम्पिक विवाद समाधानका लागि यो कारणकत्त्व बन्ने अड्कल काटिन थालेको छ ।
वार्तापछि सदस्यसचिव लामाले भने, ‘सहकार्य सबैभन्दा ठूलो कुरा हो, विवादले कसैलाई फाइदा हँुदैन, यसको सबैभन्दा मार खेलाडीमा पर्छ, तसर्थ खेलकुद र खेलाडीको फाइदाका लागि आपसमा मिल्नुको अर्को विकल्प छैन, जसका लागि ओलम्पिक कमिटीको विवादको सदाका लागि अन्त्य गरिनुपर्छ ।’ आज जुन विशवासका एनओसीले कदम अगाडि बढाएको छ, त्यो निकै सकारात्मक छ । यसले खेलाडीहरूमा सकारात्मक सन्देश जानेछ । यो मेलमिलापको पहिलो खुड्किलो हो, भविष्यमा एनओसीले अब कस्तो सहकार्य गर्छ त्यसैमा अन्य कुरामा भरपर्ने लामाले बताए । त्यस्तै एनओसीका अध्यक्ष प्रधानले सरकारसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ भन्ने एनओसीको भावना रहेकोले सोहीअनुरूप अगाडि बढेको बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई विवादरहित बनाउन र खेलाडीलाई बिनाभय प्रतियोगितामा सहभागिता गराउन आफूले राखेपसँग मेलमिलापको वातावरणलाई अगाडि बढाएको प्रस्ट पारेका छन् ।
दोस्रो युथ एसियाली प्रतियोगितामा खेल र खेलाडीको सहभागिताको सन्दर्भ लामाले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको सम्भावना भएका र पूर्वतयारी गरेका खेलहरूलाई मात्र राखेपले सहयोग गर्नेछ, घुम्न जाने उद्देश्य बोकेकालाई राखेपले कुनै सहयोग गर्ने छैन, हरेक प्रतियोगितामा मुलुकको प्रतिष्ठा गाँसिने भएकोले अब सहभागिताकै लागि सहभागिता नगराइने छैन, जित्ने उद्देश्य बोकेकाका लागि सहयोग गरिन्छ तर घुम्न जानेका लागि राज्यले लगानी नगर्ने बताए । यो कुरा हामीले बुझेका छौँ त्यो कुरा अब ओलम्पिक कमिटीले पनि बुझ्नु जरुरी छ । खेलकुद सङ्घको सहभागिताबारे राखेप प्रस्ट छ भन्दै लामाले कुन खेललाई पठाउने त्यसबारे विशेष होमवर्क गरिने बताएका छन् । साथै लामाले बल्ल एनओसीले ओलम्पिक चार्टरलाई बुझ्न थालेको र अझ लचकताका साथ भविष्यमा प्रस्तुत हुनुपर्ने बताए ।
भेटघाट बाक्लिएपछि सम्बन्धमा अझ प्रगाढता आउने अध्यक्ष प्रधानको दाबी थियो । प्रधानले आफ्नो उद्देश्य सरकारसँग सुमधुर सम्बन्ध स्थापित गर्ने रहेकोले सरकारले पनि अन्तर्राष्ट्रिय मापडण्डलाई बिर्सनु नहुने बताएका छन । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिस्तरमा पुर्‍याउन मिलेर जानुको अर्को विकल्प नभएको भन्दै प्रधानले सबैको चाहना ओलम्पिक विवादको समाधान नै हो, हामी पनि त्यही चाहन्छौँ, कानुनसम्मत प्रक्रिया मिले आफूलाई कुनै आपत्ति नहुने बताए । प्रधानले मुलुकलाई अहिले १२औँ सागको प्रस्ताव आएको र यसलाई चार महिनाअघि दक्षिण एसियाली ओलम्पिक सङ्घका सबै आठ राष्ट्रको उपस्थितिमा निर्णय गरेको बताएका छन् । प्रधानको यो कुराप्रति सदस्यसचिव लामाले भारतले १२औँ सागको आयोजना नेपालले गरे आफूलाई कुनै आपत्ति छैन भनेको खण्डमा प्रक्रियाको शुभारम्भ गर्ने बताएका छन् । भारतको त्यस किसिमको प्रतिबद्धता आए राखेपले बोर्ड निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् । १२औँ सागको आयोजनाका लागि कम्तीमा पनि दुई वर्षको समय लाग्ने बताउँदै लामाले यो अर्को वर्ष मात्र सम्भव हुने बताएका छन् । स्मरणीय छ, १२औँ साग भारतमा हुनुपर्ने थियो, तर भारतीय ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निलम्बन गरेपश्चात् १२औँ साग अनिश्चित बनेको हो । जसको टुङ्गो अहिलेसम्म लाग्न सकेको छैन ।
नेपाल ओलम्पिक कमिटीको नवनिर्मित भवनको उद्घाटनमा लामालाई आउन प्रधानले आग्रह गरेपछि अहिले खेलवृत्तमा सकारात्मक सङ्केत देखिएका छन् । प्रधानको निम्तोलाई लामाले सहर्ष स्वीकारेर आफू ओलम्पिकको नभई एनओसीलाई चलाउने प्रवृत्तिको मात्र विरोधी भएको प्रस्ट पारेका छन् । ओलम्पिक कमिटी पारदर्शी नभएको, ओलम्पिक चार्टरबमोजिम नचलेको आरोप लगाउँदै आएका लामाले सो मेलमिलापको भेटमा पनि प्रधानलाई अझ पारदर्शी हुन आग्रह गरेका थिए । जे होस्, ढिलै भए पनि राम्रो कुरोको थालनी भएको छ । जसको प्रभाव आमखेलप्रेमीमा सकारात्मक परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी