कृषिका हाकिममाथि कर्मचारीद्वारा बोतल प्रहार

१६ श्रावण २०७०, बुधबार २१:५४ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १६ साउन । कर्मचारीहरूको नियमित बैठक बसिरहेको बेला जिल्ला कृषि विकास कार्यालय लमजुङका एक कर्मचारीले आफ्नै कार्यालय प्रमुखमाथि पानीको बोतल प्रहार गरेको खुलासा भएको छ । कृषि कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तमाथि उनीमातहतकै एक कर्मचारीले एक्कासि पानीको बोतलले आक्रमण गरेपछि कार्यालयको स्थिति तनावपूर्ण बनेको सूत्रको दाबी छ । गत आइतबार बेलुकी अबेरसम्म बसेको कार्यालयको नियमित कर्मचारी बैठकका क्रममा कार्यालयका योजना अधिकृत सीताराम घिमिरेले कार्यालय प्रमुखमाथि आक्रमण गरेको बताइएको छ । घिमिरेले बैठक चलिरहेको अवस्थामा पानीको बोतलले प्रहार गरेपछि स्थिति असामान्य बनेको थियो । बोतलले लागेर कार्यालयका प्रमुख पन्तको चस्मा फुटेको छ भने आँखानजिकै चोट लागेको बताइएको छ । आक्रमणलगत्तै अधिकृत घिमिरेलाई प्रहरीले पक्राउ गरी केही समयपछि छोडिएको थियो ।
एक साप्ताहिक अखबारमा कार्यालयप्रमुख पन्तले आफूमातहतका कर्मचारी कामचोर भएको, मोहन थापा र सीताराम घिमिरेले मार्छु, काट्छुजस्ता अभिव्यक्ति दिएको भन्ने समाचार प्रकाशित भएको विषयमा सुरु भएको भनाभनपछि घिमिरेले बोतल प्रहार गरेको जनाइएको छ । बैठकका क्रममा पत्रिकामा छापिएको समाचारका विषयमा खेद प्रस्ताव पारित गर्न खोजिएपछि कार्यालयका प्रमुख पन्त र घिमिरेबीच निकैबेर भनाभन भएको थियो । दुवैले तल्लो स्तरमा झरेर तँ–तँ र म–म गर्न थालेपछि स्थिति असामान्य बन्दै गएको बैठकमा उपस्थित कर्मचारीहरूले बताए ।
बैठकमा भनाभन भइरहँदा घिमिरेले एक्कासि पन्तमाथि बोतल प्रहार गरेपछि पन्तले पनि जवाफ फर्काएको बताइएको छ । तर, घटनाका विषयमा कुनै पनि कर्मचारीले स्पष्टसँग जानकारी गराउन आनाकानी गरे । कसैले पहिला घिमिरेले हानेको त कसैले पहिला पन्तले हानेको भनी दोहोरो अभिव्यक्ति दिएका छन् । केही कर्मचारीले हाकिमले बिनाकसुर घिमिरेलाई पक्राउ गर्न लगाएको भने पनि प्रहरीबाट छुटेपछि स्वयम् घिमिरेले पत्रकारहरूसँग आफूले बोतलले हानेको स्वीकार गरे ।
कृषि कार्यालयमा कुटाकुटकै घटना पहिलो भए पनि त्यहाँ दैनिकजसो झगडा भने भइरहने कर्मचारीहरू बताउँछन् । कार्यालय प्रमुख पन्त अन्य कर्मचारीलाई कामचोर देख्ने र अन्य कर्मचारीहरूले प्रमुखलाई दामचोर देख्ने प्रवृत्तिका कारण दैनिकजसो झगडा हुने कर्मचारीहरूको भनाइ छ । उक्त घटनापछि कार्यालय प्रमुख पन्त भने काठमाडौंतर्फ लागेका छन् । आफ्नो कर्मचारी थुनाएर कार्यालय प्रमुख काठमाडौं लागेको भन्दै कृषिका केही कर्मचारी आक्रोषित बनेका छन् । सीताराम घिमिरेले घटनाको सुरुवात बल्ल भएको भन्दै अब झन् ठूला घटना हुने बताएका छन् ।
कर्मचारीलाई ढाडस दिन कृषि कार्यालय आइपुगेका नेपाल निजामती कर्मचारी युनियन लमजुङका अध्यक्ष पूर्णचन्द्र अधिकारीले अब कृषिको जस्तो घटना अन्य कार्यालयहरूमा पनि घट्ने चेतावनी दिएका छन् । घटना सुनियोजित भएको भन्दै यसको छानबिन गर्नुपर्ने अन्य कर्मचारीको भनाइ छ । गृहजिल्ला लमजुङ नै रहेका प्रमुख पन्तलाई सरुवा गराउन अन्य कर्मचारी असफल भएपछि आक्रमणमा उत्रिएको स्रोतले जनाएको छ । पन्तको सरुवाका लागि विभिन्न कर्मचारी सङ्गठनहरूले कृषिमन्त्री टेकबहादुर थापासमक्ष कुरा पुर्‍याए पनि असफल भएको बताइन्छ । वरिष्ठ कृषि विकास अधिकृत पन्तको सरुवा रोक्नका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूले कृषिमन्त्री थापाको लमजुङ भ्रमणका बेला ध्यानाकर्षण गराएका थिए ।
कर्मचारीले कार्यालयको तर्फबाट कुनै नाजायज फाइदा लिने गरेको र त्यस्ता कमजोरी रोक्न खोज्दा कर्मचारीहरू रुष्ट बनेको कार्यालयका एक कर्मचारी बताउँछन् । तर, भोर्लेटार सेवा केन्द्रमा कार्यरत महेश पाख्रिङले भने कार्यालय प्रमुखले आफूलाई जनता उठाएर कुट्न लगाएको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय कार्यालय प्रमुख पन्तलाई सरुवा गर्नका लागि कर्मचारीहरू राजनीतिक दलको ढोका ढकढकाउन पुग्ने गरेको भन्ने चर्चा पनि कार्यालयमा चल्ने गरेको छ । कार्यालय प्रमुखले पार्टीको फेबरमा काम नगरेको भन्दै केही कर्मचारीले दलका नेताहरूलाई हाकिमको सरुवाको पहल गरिदिन आग्रह गर्नेगरेको चर्चा बेलाबखत चल्ने गरेको छ ।
एमालेको तर्फबाट मन्त्री बनेका कृषिमन्त्री थापालाई एमालेका केही नेताहरू र कर्मचारी सङ्गठनका नेताले मन्त्रीसमक्ष सरुवा गरिदिन आग्रह गरेको जनाइएको छ । सरुवाकै लागि मन्त्रालयबाट पन्तलाई बारम्बार बोलावट भइरहेको बताइन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री