माओवादी लडाकुको शिविर र हतियार नियन्त्रणमा लिन सेना रातारात शिविर पुग्यो

२९ चैत्र २०६८, बुधबार ०७:५९ मा प्रकाशित

काठमाडौं  ।  सेना समायोजन विशेष समितिले लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरे लगत्तै करिब १५ सय नेपाली सेना र शसस्त्र प्रहरीले अघिकांश शिविर  नियन्त्रणमा लिएका छन् ।
माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये १३ वटा सहायक शिविर खाली गरी त्यसको सुरक्षा व्यवस्था यसअघि नै सेना र सशस्त्र प्रहरीलाई दिइएको थियो। १७ हजार ७६ लडाकुमध्ये स्वैच्छिक अवकाश रोज्ने ७ हजार ३ सय ६५ को शिविरबाट औपचारिक बिदाइ भएपछि १३ सहायक शिविर खाली गरी बाँकी १५ मुख्य तथा सहायक शिविरमा समायोजन र पुनर्स्थापना रोज्ने ९ हजार ७ सय ११ लडाकु राखिएका थिए। पुुनर्स्थापना रोज्ने लडाकु ६ जना छन्।
बन्द गरिएका १३ सहायक शिविरमध्ये ८ वटाको सुरक्षा सशस्त्र प्रहरी र ५ वटाको नेपाली सेनाले गर्दै थिए। बाँकी १५ शिविर, लडाकु, हतियार र त्यहाँ रहेका अन्य भौतिक सामग्रीको सुरक्षा जिम्मा दिने क्रममा ७ मुख्य र ५ सहायक गरी १२ वटा सेना र बाँकी ३ सशस्त्रलाई दिइएको छ।
‘झन्डै १ हजार २ सय ४० सेना मंगलबारबाट खटिएका छन्। लडाकु रहेका प्रत्येक मुख्य शिविरमा एक गुल्म (१ सय ४५ जनासम्म) र प्रत्येक सहायक शिविरमा एक प्लाटुन (४५ जना सम्म) सैनिक खटिएका छन्। मुख्य शिविरमा सुरक्षा व्यवस्थाको नेतृत्व सेनानी (मेजर) र सहायक शिविरको नेतृत्व सहसेनानी (क्याप्टेन) ले गर्ने छन् । शत्तिखोर र दहवनस्थित मुख्य शिविरमा मंगलबार साँझै सेना पुगी जिम्मेवारी सम्हालेको छ।
विशेष समितिको निर्णयअनुसार इलाम चुलाचुली, सिन्धुली दुधौली, उदयपुर बेलसोत, चितवन शक्तिखोर, नवलपरासी झ्यालटुङ्डाँडा र हात्तिखोर, सुर्खेत दशरथपुर र लेखफर्सा, रोल्पा दहवन, कैलाली बढैपुर र गोरङ्गेस्थित शिविरको सम्पूर्ण सुरक्षा सेनाले हेर्नेछ। इलाम टाँडी, चितवन गैरीबारी र रोल्पा मसिनास्थित शिविरको सुरक्षा सशस्त्र प्रहरीले गर्नेछ।
विशेष समितिको निर्णयसँगै मंगलबारबाट शिविरको सुरक्षार्थ खटिएका लडाकुसँग रहेका हतियार कन्टेनरमा राखिएका छन्। एउटा सहायक शिविर सुरक्षार्थ १५ हतियार राखिन्थे।
अब लडाकुले शिविरको सुरक्षार्थ खटिएका सेना तथा सशस्त्र प्रहरीसँग अनुमति लिएरमात्र भित्र तथा बाहिर गर्न सक्नेछन्। सेनाकै रेखदेखमा विशेष समिति सचिवालयले पुनः एकपटक समायोजन रोज्ने लडाकुलाई स्वैच्छिक अवकाश तथा पुनर्स्थापना रोज्ने अवसर दिन पुनर्वर्गीकरण थाल्ने छ। स्वैच्छिक अवकास रोज्नेलाई तत्काल शिविरबाट बिदाइ र समायोजन रोज्नेलाई नजिकै रहेका सेनाको गणमा लगि समायोजन प्रक्रिया सुरु गरिनेछ।
विशेष समितिले यसअघि नै इटहरीस्थित पूर्वी पृतना मुख्यालय, सिन्धुलीस्थित ९ नम्बर बाहिनी अड्डा, हेटौंडास्थित मध्य पृतना, बुटबलस्थित २२ नम्बर बाहिनी अड्डा, सुर्खेतस्थित मध्यपश्चिम पृतना मुख्यालय, दाङस्थित १९ नम्बर बाहिनी अड्डा र कैलालीस्थित ५ नम्बर बाहिनी अड्डालाई समायोजन केन्द्र निर्धारण गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको