छोरालाई केन्द्रिय सदस्य बनाउन राष्ट्रपतिको दबाब

९ श्रावण २०७०, बुधबार ०८:२५ मा प्रकाशित

काठमाडौं, ९ साउन । राज्य सञ्चालन प्रक्रियामा आफ्नो भूमिका शून्य बराबर हुन थालेपछि राष्ट्रपति डा. रामवरण यादवको ध्यान काङ्ग्रेसको आन्तरिक राजनीतितर्फ केन्द्रित हुन थालेको छ । आफ्नो सुपुत्र डा. चन्द्रमोहन यादवलाई केन्द्रीय सदस्य नियुक्त गराउन विगत नौ महिनादेखि सभापति सुशील कोइरालालाई दबाब दिँदै आउनुभएका राष्ट्रपति यादवले पछिल्ला दिनहरूमा मकवानपुरतिर निकै ‘चर्चामा रहने’ गरेकी कुनै रिता खनाल नामक महिलालाई समेत केन्द्रीय सदस्य बनाइदिन कोइरालामाथि दबाब दिन थाल्नुभएको छ । राष्ट्रपति डा. यादवले आफ्नी भतिजी पूर्वसभासद् किरण यादवका पतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाइनुपर्ने र नेपाली काङ्ग्रेसको युवा पङ्क्तिका नेतासमेत रहेका लक्ष्मण ढकाललाई सभापति सुशील कोइरालाको सहयोगीबाट हटाउनुपर्नेजस्ता माग पनि प्रस्तुत गर्नुभएको छ । लक्ष्मण ढकाल विगत सोह्र वर्षदेखि सुशील कोइरालाको सहयोगीका रूपमा रहँदै आएका छन् । कोइरालाको हैसियत दुरुपयोग गर्न चाहनेहरूप्रति कठोर व्यवहार गर्ने ढकालकै कारण आफ्ना पुत्र चन्द्रमोहनलाई केन्द्रीय सदस्य नबनाइएको विश्वास राष्ट्रपति यादवले गर्नुभएको छ । त्यसैले उहाँले गत साता आफ्नै निवासस्थान शीतलनिवासमा रात्रिभोजको निम्ति आमन्त्रण गरेर सभापति कोइरालासमक्ष आफ्ना चारवटा माग प्रस्तुत गर्नुभएको बुझिएको छ । डा. यादवको पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार सभापति कोइरालाले चन्द्रमोहन र रिता खनाललाई अहिले केन्द्रीय सदस्य बनाउन नसकिने स्थिति रहेको स्पष्ट रूपमा बताउनुभयो । त्यसैगरी लक्ष्मण ढकाललाई सहयोगीको भूमिकाबाट हटाउन गरिएको आग्रहलाई पनि कोइरालाले गम्भीरतापूर्वक लिनुभएन, बरु उल्टै प्रश्न गर्नुभयो, ‘उनले त्यस्तो गल्ती के गरेका छन् र ?’ कोइरालाको प्रतिप्रश्न सुनेपछि राष्ट्रपतिले ठूलो स्वरमा ‘त्यो बद्मास छ’ भन्नुभएको थियो । त्यस्तै भतिजीज्वाइँलाई अख्तियारको आयुक्त बनाउन सकिने स्थिति नरहेको जानकारी पनि कोइरालाले राष्ट्रपतिलाई गराउनुभएको थियो । यसरी राष्ट्रपतिले रात्रिकालीन भात खान बोलाएर अनेक अवाञ्छित माग प्रस्तुत गर्नुभएपछि सभापति कोइराला खिन्न हुनुभएको बुझिएको छ । यसअघि कोइराला परिवारका केही सदस्य तथा पूर्वप्रतिकार समितिका सदस्य दिलेन्द्रप्रसाद बडूलगायतले पनि लक्ष्मण ढकाललाई सुशील कोइरालाको सहयोगी भूमिकाबाट पन्छाउन निकै प्रयास गरेका थिए । कसैको केही नचलेपछि लक्ष्मणलाई हटाउन राष्ट्रपति यादव आफैँ सक्रिय हुन थाल्नुभएको हो । यसरी रामवरणले लक्ष्मणलाई हटाउन सक्रियता दर्शाएपछि कोइराला परिवारका केही व्यक्ति तथा दिलेन्द्र बडूलगायतले प्रसन्नता प्रकट गरेका छन् । तर, यस कुराको जानकारी पाउने अन्य केहीले भने ‘कलियुगका राम लक्ष्मणका विरुद्ध समेत लाग्दा रहेछन्’ भनी रोचक टिप्पणी गरेका छन् । राष्ट्रपति यादवको पार्टी राजनीतिमा अनावश्यक हस्तक्षेपलाई काङ्ग्रेस नेताहरूले अस्वाभाविक रूपमा लिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी