एमाओवादीको विस्तारित बैठक बस्दै, बाबुराम ‘वरिष्ठ’ बन्ने सम्भावना क्षीण

४ श्रावण २०७०, शुक्रबार ०७:४९ मा प्रकाशित

काठमाडौं, ४ साउन । पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत माओवादीका उपाध्यक्षले पदबाट दिएको राजीनामा तथा जिम्मेवारी बाँडफाँडका विषयमा केन्द्रीय नेताहरूबीच चर्को विवाद देखिएपछि उक्त विवाद मिलाउन बोलाइएको एमाओवादीको विस्तारित बैठक आजदेखि सुरु हुादैछ । पार्टी केन्द्रीय समितिले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नसकेकाले विस्तारित बैठक बोलाउन असार दोस्रो साता बसेको केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका थिए । बैठकमा प्रचण्डले उपाध्यक्ष पदबाट बाबुरामजीले दिएको राजीनामा तथा साथीहरूबीच देखिएको विवाद समाधान हुने सम्भावना हुने देखिएन, त्यसैले यसलाई विस्तारित बैठकबाटै टुङ्गाऊँ भनेका थिए । 
एमाओवादीको विस्तारित बैठकमा हेटौँडा महाधिवेशनले पारित गरेको विधानअनुसार केन्द्रीय सदस्य, सल्लाहकार, जनवर्गीय तथा जातीय क्षेत्रीय मोर्चाका संयोजक र जिल्ला संयोजकहरूको सहभागिता रहनेछ । बैठकले पार्टीभित्र देखिएको पदीय विवादका विषयलाई टुङ्ग्याउनुका साथै नयाँ कार्यदिशा तय गर्ने बताएको छ । तर, प्रचण्डले विस्तारित बैठकलाई बाबुराम भट्टराईलाई तह लगाउने अस्त्रका रूपमा प्रयोग गर्नसक्ने अनुमान पनि गरिएको छ ।
तर, के विस्तारित बैठकले बाबुराम भट्टराईको पदत्याग निर्णय फिर्ता गराउन सक्ला ? फिर्ता नलिए के होला ? यस्ता आशंका ज्यूाकात्यूा छन् । पदबाट राजीनामा दिएपछि बाबुरामलाई उपाध्यक्षमै फर्काउन प्रयास मात्रै असफल भएको नभई वरिष्ठ नेताको स्थानमा रहने आग्रहसमेत भट्टराईले अस्वीकार गरिरहेका छन् । आफूले पद त्याग गरेको विषयमा जानकारी गराउँदै बाबुरामले आफूले गम्भीरतापूर्वक सोचेर यस्तो निर्णय लिएको भन्दै प्रस्ताव फिर्ता नलिने अडान पटकपटक दोहोर्‍याएका छन् । उनले आफूले घुक्र्याउन राजीनामा दिएको नभई पदत्यागको घोषणा फिर्ता नलिने अडान राखेका छन् । पदत्यागको घोषणा गरेसँगै आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल ट्विटरबाट उपाध्यक्ष पद हटाउन लगाएका बाबुरामको भनाइ थियो, ‘हामीले कुनै न कुनै बेला छाड्नैपथ्र्यो, मेरो लागि अनुकूल बेला यही हो भन्ने लाग्यो र छाड्ने निर्णय गरेँ ।’
वास्तवमा केन्द्रीय समितिमा देखिएको विवाद नसुल्झिएपछि विवाद मिलाउन बोलाइएको विस्तारित बैठकले पनि पछिल्लोपटक उत्पन्न सङ्कट समाधान गर्न नसक्ने नै देखिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीभित्र नेताहरूमा पदकै लागि विवाद देखिनु पार्टीकै अहितमा रहेको भन्दै केन्द्रीय नेतृत्व, विभिन्न विभागीय प्रमुख तथा सङ्गठनका प्रमुखहरू निकै सक्रिय भएर लागिपरेका छन् । तर, अहिलेसम्म भएका ती सबै छलफल तथा बैठक निष्कर्षहीन भएपछि विस्तारित बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधान गर्न नसक्ने देखिएको हो । झन्डै ६ महिनाअघि हेटौँडामा सम्पन्न महाधिवेशनले केही दिनमै केन्द्रीय समिति बैठक बस्ने र पद मिलान गर्ने भिनिएको थियो । तर, नेताहरूबीच कुरा मिल्न नसकेपछि महाधिवेशन सम्पन्न भएको पााच महिनासम्म पद विभाजन हुन सकेको छैन । महाधिवेशनमा पार्टीका अध्यक्ष, उपाध्यक्ष र महासचिवको पद तय गरे पनि अरू पद बाँडफाँड गरेको थिएन । नेताहरूबीच पद विभाजन हुन नसकेपछि उत्पन्न विवादले नयाँ रूप लिँदै विस्तारित बैठकसम्म पुगेको हो । यो बैठकले पनि जारी विवाद मिलाउन नसक्ने सङ्केतहरू देखिन थालेपछि तत्कालको समस्या कसरी समाधान गर्ने भन्नेमा अध्यक्ष प्रचण्डलगायत उनीनिकट केही नेताहरू लागिपरेका छन् । सूत्रका अनुसार नेताहरूबीच पद मिलानको समस्या पार्टीमा पछि प्रवेश गरेका अन्य पार्टीका नेताहरूले पनि उत्पन्न गराइदिएका हुन् ।
विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गरेका तथा जिम्मेवारी तथा भूमिकाविहीन भएर बसेका नेताहरूले गर्दा समस्या देखिएको एकथरीको भनाइ छ । एमाले, मधेसकेन्द्रितलगायत विभिन्न दलबाट एमाओवादीमा प्रवेश गरेका नेताहरूको सही व्यवस्थापन हुन नसक्नुले समस्या पैदा गराएको भन्दै नेताहरूले सबैभन्दा पहिले उनीहरूको व्यवस्थापन गर्नुपर्नेमा नवप्रवेशीहरूले जोड दिएका छन् । उनीहरूका अनुसार सुरुदेखि नै पार्टीमा रहेका र पछि प्रवेश गरेकाहरूलाई हेर्ने दृष्टिकोणमा एकरूपता नभएका कारण समस्या देखिएकोले यसलाई विस्तारित बैठकले टुङ्ग्याउनुपर्छ । पार्टीमा प्रवेश गरेकाहरूलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा आफूहरूलाई पार्टीमा भित्र्याउँदा दिने भनिएको पदका विषयमा समेत पुराना केन्द्रीय नेताहरूले आपत्ति जनाएका छन् । तर, यसलाई पनि विस्तारित बैठकले टुङ्ग्याउने सम्भावन देखिँदैन ।
पार्टी शान्तिप्रक्रियामा आएलगत्तै विभिन्न पार्टी तथा सङ्गठनमा रहेका व्यक्तिलाई अध्यक्ष प्रचण्डले पार्टीमा भित्र्याएको, तर तिनीहरूको व्यवस्थापन गर्न नसकेपछि समस्या थपिँदै गएको प्रचण्डनिकटकै एक नेताले बताए । ती नेताका अनुसार पुरानाले भन्दा पनि पार्टी प्रवेश गरेका नयाँ नेताहरूले समस्या सिर्जना गरिरहेका छन्, पुरानालाई व्यवस्थापन गर्न खोज्दा बाबुरामले उपाध्यक्ष पदबाटै राजीनामा दिनुभयो । ती नेताका अनुसार पार्टीका पुराना नेता–कार्यकर्ता र पछि पार्टी प्रवेश गरेकाहरूबीच गहिरो खाडल छ, यसलाई पनि विस्तारित बैठकमा लगिन्छ । विस्तारित बैठकले यो विषय नटुङ्ग्याए झन् ठूलो समस्या निम्त्याउने पक्का छ । पद बाँडफाँडमा कुरा नमिलिरहेको बेला पार्टी उपाध्यक्ष पदबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएपछि विवादले नयाँ मोड लिएको ती नेताको भनाइ थियो । अहिले यही विषयमा बढी छलफल केन्द्रित छ । माओवादी केन्द्रीय नेता शक्ति बस्नेतले भने, ‘पार्टीभित्र देखिएको विवाद कसरी समाधान गर्ने तथा उपाध्यक्ष बाबुरामलाई कसरी पुरानै पदमा फर्काउने भन्ने विषयमा छलफल भइरहेको छ ।’ उनका अनुसार बाबुरामले पदबाट दिएको राजीनामा फिर्ता लिन लगाउन भन्दै चौतर्फी दबाब दिइरहेका छन् । यही विषयमा अध्यक्ष तथा पार्टीका अन्य नेतामा पनि विभिन्न चरणको छलफल जारी छ । तर, ती कुनै पनि छलफल फलदायी हुन सकेका छैनन् । आजसम्म गरिएका प्रयास र छलफलबाट कुनै उपलब्धि ननिस्केकाले विस्तारित बैठकले पनि समाधान गर्न सक्ने देखिँदैन । यही विषय अहिले सबैको टाउको दुखाइको विषय बनेको छ ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटा भने पार्टीभित्र देखिएको सबैखाले विवाद विस्तारित बैठकबाट समाधान हुने बताउँछन् । बैठकमा उपाध्यक्ष भट्टराई कमरेडले दिएको राजीनामा तथा अन्य विषयमा विशेष छलफल हुने र पार्टीमा देखिएको सबै समस्याको समाधान गर्ने उनले बताए । साथै विस्तारित बैठकले पार्टी प्रवेश गरेका तथा जिम्मेवारी नपाएकाहरूलाई पनि सम्बोधन गर्ने छ । उनका अनुसार अहिले पार्टीमा विस्तारित बैठकमा प्रस्तुत गरिने एजेन्डा तथा अन्य विषय गरी सुझाव लिने काम भइरहेको छ । ‘विस्तारित बैठकमा भट्टराईले दिएको राजीनामा फिर्ता लिने र पार्टी निर्वाचनको कार्यदिशामा अघि बढ्नेछ,’ सापकोटाले भने । पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरिएका प्रतिवेदनलाई नै विस्तारित बैठकमा लगेर पारित गराइनेछ । सापकोटाका अनुसार बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर साङ्गठिनक संरचना निर्माण गर्नुपर्ने विषयमा अहिले छलफल भइरहेको छ भने हेटौँडामा सम्पन्न महाधिवेशनले पारित गरेको कार्यदिशालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा पनि छलफल अघि बढेको छ । गत मंगलबार पनि एमाओवादीका पूर्वस्थायी समितिका नेतासहित राज्य समिति इञ्जार्ज र ब्युरोप्रमुखहहरूबीच बैठक बसेको थियो । उक्त बैठकमा विस्तारित बैठकको तयारी तथा पद विभाजनका विषयमा छलफल भएको थियो । छलफलमा बाबुरामले गरेको पदत्यागको निर्णयलाई सदर गर्ने कि उहाँलाई पुन: जिम्मेवारीमा फर्काउने भन्नेबारे पनि छलफल भएको बताइएको छ । डा. भट्टराईले आफू उपाध्यक्ष या वरिष्ठ नेता पदमा नबस्ने जानकारी नेतृत्वलाई दिइसक्नुभएको परिवेशमा कुनै हालतमा उनी कुनै पनि पदमा बस्न मञ्जुर नभए अध्यक्षबाहेक बाँकी सबै नेताहरू केन्द्रीय सदस्यमा रहने गरी तत्कालको समस्या समाधान खोजिनुपर्ने सुझाव प्रचण्डलाई प्राप्त भएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस