खेलकुदमा भत्ता विवाद, प्रशिक्षार्थी खेलाडी र प्रशिक्षकहरुको आ–आफ्नै गुनासो

४ श्रावण २०७०, शुक्रबार ०७:४६ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र पदक जित्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षणको शुभारम्भ गरेको थियो । अधोगतितर्फ उन्मुख नेपाली खेलाडीको प्रदर्शनलाई सागमा स्मरणयोग्य बनाउन राखेपको यो बिलकुलै नयाँ सोच थियो । भारतमा आयोजना हुने १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई दृष्टिगत गर्दै राखेपले ‘मिसन साग’ अन्तर्गत राष्ट्रिय प्रशिक्षणको शुभारम्भ गरे पनि १२औँ सागको अन्योलसँगै प्रशिक्षण पनि धरापमा परेको थियो । तर, खेलकुद राम्रोसँग बुझेका र नजिकवाट नियाल्दै आएका राखेपका सदस्यसचिव युवराज लामाले १२औँ साग अन्योलतर्फ धकेलिए पनि प्रशिक्षणलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गरेका थिए । लामाकै प्रतिबद्धताका कारणले ‘मिसन साग’ बाट शुभारम्भ भएको यो प्रशिक्षणले पछि ‘राष्ट्रिय टिम तयारी प्रशिक्षण’को नाम पाएको थियो । दुर्भाग्य, ‘मिसन साग’ अन्तर्गत प्रशिक्षणमा रहेका खेलाडीले दैनिक तीन सय रुपैयाँका दरले भत्ता पाए पनि राष्ट्रिय टिम तयारीको प्रशिक्षणको शुभारम्भ भएपछि खेलाडीले खाईपाई खाएको भत्तामा आधा कटौती गरिएको थियो ।
राखेपको इतिहासमा खेलाडीले वर्षौं भत्ता पाएर प्रशिक्षण गरेको यो पहिलो अवसर हो, जसले अहिले एक वर्ष पूरा गरेको छ । ‘नहुनु मामाभन्दा कानो मामा नै राम्रो’ भन्ने उक्तिलाई आत्मसात् गर्दै प्रशिक्षणलाई सुचारु गरेको राखेपले नयाँ सोच र सकारात्मक कार्यका लागि वाहवाही बटुलेको थियो, जुन यद्यपि जारी छ । तर विडम्बना, परिवर्तित समयको मारमा परेका खेलाडीले राखेपले प्रदान गर्दै आएको भत्तामा असन्तुष्टि जाहेर गर्दै भत्ता बढाउन दबाब दिएका छन् । भत्ता नबढाए प्रशिक्षण छोड्ने धम्की खेलाडीले दिएपछि राखेप अन्योलमा परेको छ । साउनदेखि खेलाडीको भत्ता बढाउने सदस्यसचिव लामाले मौखिक जानकारी गराए पनि त्यसलाई व्यवहारमा लागू गर्ने हुन् या होइनन् त्यस्तैमा प्रशिक्षणको सास टिकेको छ । राखेपका कुनै पनि सदस्यसचिवले आँट नगरेको उत्कृष्ट कार्य सदस्यसचिव लामाले गरे पनि त्यो अहिले भत्ता–विवादका कारणले उपलब्धि बन्नु अगावै धर्मराउन पुगेको छ । राखेपले खेलाडीलाई शिरमा राख्दै आए पनि अहिले राखेपकै लाचारीले गर्दा खेलाडीको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ । वर्तमान अवस्थामा खेलकुदमा निकै चर्चामा रहेको ‘भत्ता’ मुद्दाबारे प्रशिक्षणमा रहेका चर्चित खेलाडी र प्रशिक्षण गराउँदै आएका प्रशिक्षकले आफ्नो अभिव्यक्ति यसरी प्रस्तुत गरेका छन् :
दीपक श्रेष्ठ (राष्ट्रिय प्रशिक्षक कराते तथा सागमा दुई स्वर्ण पदकधारी) : वास्तविक रूपमा भन्नुपर्दा अहिलेसम्म खेलकुदमा नभएको कार्य भएको छ । वर्तमान सदस्यसचिव युवराज लामाले खेलकुद र खेलाडीको हितमा एकदमै उत्कृष्ट कार्य गर्नुभएको छ । यो उदारहणीय कार्य हो । जसले गर्दा खेलाडीले वर्षैभरि प्रशिक्षण गर्ने अवसर पाएका छन् । यो प्रशिक्षणले सधैँ निरन्तरता पाउनुपर्छ । जहाँसम्म भत्ताको कुरा छ, हिजो नहुँदा पनि ठीकै थियो, अहिले भएर पनि नाक खुम्च्याउने अवस्था छ । दैनिक एक सय पचास रुपैयाँको भत्ताले एक सिफ्टमा प्रशिक्षण गर्न सकिने भए पनि दुई, तीन सिफ्टमा प्रशिक्षण गर्ने खेलाडीका लागि भने अपर्याप्त छ । कराते खेलाडीको प्रशिक्षण निरन्तर दुई सिफ्ट बिहान र बेलुकी भइरहेको हुनाले खेलाडीको हितका लागि र खेलस्तर बढाउन भत्तामा वृद्धि गर्नुपर्छ । कम्तीमा तीन सय रुपैयाँ हुनुपर्नेमा हाम्रो जोडदार माग रहेको छ ।
गंगा अधिकारी (कराते खेलाडी तथा ११औँ साग र १३औँ एसियन करातेमा स्वर्ण पदकधारी) : नेपाली खेलकुदका लागि राखेपले चालेको यो कदम निकै महत्त्वपूर्ण र दूरदर्शी छ । यसले खेलाडीलाई नियमित प्रशिक्षण गर्ने बानी बसाल्नुको साथै खेलस्तरमा वृद्धि गर्न अहम् भूमिका निर्वाह गरेको छ । १३औँ एसियन सितोरियो करातेमा मेरो सफलता पनि यही प्रशिक्षणसँग जोडिएको छ । निरन्तर प्रशिक्षणका कारणले गर्दा नै मैले अकल्पनीय सफलता हासिल गरेकी हुँ । यसका लागि म राखेपलाई धन्यवाद दिन चाहन्छु । खेलाडीको खेलस्तर वृद्धिका लागि डाइट र प्रशिक्षणको विशेष भूमिका रहने भएकाले अहिले दिइएको भत्ता कराते खेलाडीका लागि अपुग छ । तसर्थ खेलाडीको हितलाई ध्यानमा राख्दै अर्थात् प्रशिक्षणअनुसार भत्तामा वृद्धि गर्नुपर्छ । कम्तीमा पनि तीन सय रुपैयाँ भयो भने राम्रो हुन्थ्यो ।
संगीना वैद्य (तेक्वान्दो प्रशिक्षक तथा आठौँ, नवौँ साग र एसियन च्याम्पियनसिपमा स्वर्ण पदकधारी) : मैले निरन्तर वर्ष दिन भत्ता पाएर कहिल्यै प्रशिक्षण गर्ने सौभाग्य पाइनँ । यसमा अहिलेका खेलाडीलाई म निकै भाग्यमानी ठान्छु । राखेपले नियमित प्रशिक्षणको व्यवस्था मिलाएर एकदमै राम्रो कार्य गरेको छ । यसलाई सबै खेलाडीले सकारात्मक रूपमा लिनुपर्छ । अर्को कुरा प्रशिक्षणले अहिले मात्रै नभई भविष्यमा पनि निरन्तरता पाउनुपर्छ कुरामा मेरो विशेष जोड छ । भत्ताको कुरा गर्दा एकपटक प्रशिक्षण गर्ने खेलका खेलाडीका लागि अहिले राखेपले प्रदान गर्दै आएको रकम ठीकै भए पनि दुईपटक प्रशिक्षण गर्नेहरूका लागि भने यो रकम अपुग छ, जस्तो तेक्वान्दोका लागि । तसर्थ ‘मिसन साग’को प्रशिक्षण सञ्चालन हुँदाताका प्रदान गरिएजत्तिकै रकम दिए निकै राम्रो हुन्थ्यो । खेलाडीको पनि हौसला बढ्थ्यो ।
मनिता शाही (तेक्वान्दो खेलाडी तथा १०औँ सागमा स्वर्ण पदकधारी) : मिसन सागअन्तर्गत १२औँ सागको तयारीका लागि खेलाडीलाई डाइट र भत्ता गरी तीन सय रुपैयाँ राखेपले दिएको थियो । पछि साग नहुने भएपछि आधा कटौती गरेर एक सय ५० रुपैयाँमा झारेको हो । हामीले त्यसबेला दुई सिफ्टमा प्रशिक्षण गरेका थियौँ भने अहिले पनि सोहीअनुसार गरिरहेका छौँ । तर, भत्ता मात्र काटिएको छ । त्यसैले तेक्वान्दो खेलाडीका लागि यो रकम अपुग छ । खेलाडीको स्तर बढाउनका लागि पनि भत्ता बढाउनुपर्छ । पहिले जस्तै बिहान बेलुका डाइट दिएर सय रुपैयाँ पकेट खर्च दिए राम्रो हुन्थ्यो । अर्को कुरा पहिले महत्त्वपूर्ण गेमको बेलामा मात्र प्रशिक्षण दिइन्थ्यो तर अहिले वर्षैभरि प्रशिक्षण गर्न पाएका छौँ । राखेपको यो कदम निकै सकारात्मक छ, यसले सधैँ निरन्तरता पाउनुपर्छ ।
सुनिललाल जोशी (मुख्य प्रशिक्षक भारोत्तोलन) : खेलकुदको विकास गर्न दीर्घकालीन सोचको आवश्यकता छ । सदस्यसचिव खेलाडी भएको नाताले उहाँले शुभारम्भ गरेको यो कार्य खेलकुद र खेलाडी लागि निकै सकारात्मक छ । राखेपले प्रशिक्षण शुभारम्भ गर्दा यो सुरुवात मात्रै हो भने पनि अहिलेसम्म सुरुवातको भत्ताभन्दा बढी पाउन सकिएको छैन । वास्तविक रूपमा भन्ने हो यो प्रशिक्षणमा रहेका प्राय: सबै खेलाडीका लागि अपुग छ भने भारोत्तोलनका लागि त निकै कम । तसर्थ भारोत्तोलनका खेलाडीका लागि अन्य खेलाडीको दाँजोमा बढी भत्ता दिए राम्रो हने थियो । जसले गर्दा खेलाडी प्रोत्साहित हुन्थे, प्रशिक्षकलाई प्रशिक्षण गराउन सजिलो हुन्थ्यो । खै आर्थिक वर्षमा भत्ता बढने हल्ला छ, बढे भन्यो राम्रो हुने थियो ।
कमल अधिकारी (भारोत्तोलन खेलाडी तथा १०औँ सागका स्वर्ण पदकधारी) : प्रशिक्षणबिना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्तैन । राखेपले प्रशिक्षणको शुभारम्भ गरेर उत्कृष्ट कार्य गरेको छ । जुन खेलकुद र खेलाडीको विकासमा सहायकसिद्ध हुनेमा दुईमत छैन । विषम परिस्थितिमा सदस्यसचिव लामाले जुन आँट र साहस देखाएर प्रशिक्षणको व्यवस्था गर्नुभयो त्यो आफैँमा स्वागतयोग्य छ, तारिफ गर्न लायक छ । यसले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा म छु । तर, अन्य खेलको तुलनामा भारोत्तोलनका खेलाडीलाई अधिक डाइटको आवश्यकता पर्ने भएकाले अहिले प्रदान गर्दै आएको रकम अपुग छ । त्यसमा वृद्धि गर्नुपर्नेमा मेरो जोडदार माग छ ।
विनिता महर्जन (उसु खेलाडी तथा ११औँ सागमा स्वर्ण पदकधारी) : सर्वप्रथम राखेपको यो कदम उत्कृष्ट भएकाले प्रशिक्षणले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ । नियमित प्रशिक्षणले खेलाडीको स्तरमा निकै प्रभाव पार्ने भएकाले मैले यसलाई निकै सकारात्मक रूपमा लिएको छु । जहाँसम्म डाइटको कुरा छ त्यो हाइजेनिक हुनुपर्छ । अर्को कुरा खेलाडीले सधैँभरि एउटै प्रकारको खानेकुरा खानुपर्ने भएकाले त्यसमा परिवर्तन गरे राम्रो हुने थियो । भत्ता बढाउने कुरामा मेरो कुनै गुनासो छैन । उसुको दैनिक एक सिफ्टमा मात्र प्रशिक्षण हुने भएकोले हामीलाई पुगेकै छ । तर, एसियन गेम नजिकिँदै गएकाले उसुको पनि प्रशिक्षण बढाउनुपर्छ । प्रशिक्षण बढेपछि त्यतिबेला डाइट र भत्ता पनि बढाउनुपर्छ ।
ओम मास्के (मुख्य प्रशिक्षक बक्सिङ) : खेलकुदको विकासलाई आत्मसात् गर्दै सदस्यसचिव युवराज लामाले चालेको यो कदम आफैँमा स्वागतयोग्य छ । राखेपको यो कदमले लामो समयपछि खेलकुदमा बहार आएको छ । खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छन् भने उनीहरूको स्तरमा पनि विकास भएको छ । तसर्थ यो प्रशिक्षणले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ । बक्सिङ पावर गेम भएकोले दुईपटक ट्ेरनिङ गर्दा यो रकमले पुग्दैन । राखेपले साउनदेखि भत्ता बढाउने कुरा गरेको छ, खै कति बढाउँछ थाहा छैन, तर बढाउनुपर्छ । यदि भत्ता बढ्यो भने अझ राम्रोसँग प्रशिक्षण गराउन सकिन्छ भने राम्रो डाइटले गर्दा खेलाडीले पनि राम्रो ट्रेनिङ गर्न सक्छन् ।
दिनेश श्रेष्ठ (उदीयमान बक्सिङ खेलाडी) : प्रशिक्षणको शुभारम्भसँगै खेलाडीमा आत्मविश्वास जागेर आएको छ । राखेपको यो कदमले अब खेलकुदमा केही हुन्छ कि भनेर खेलाडीको विश्वास बढेको छ । यसरी नै नियमित रूपमा प्रशिक्षण हुने हो भने खेलाडीको स्तरमा वृद्धि हुने मेरो विश्वास छ । हिजो केही नभएर पनि हामीले प्रशिक्षण गरेका थियौँ, आज राखेपले भत्ता दिँदा पनि खुलेर प्रशिक्षण गर्न सकेका छैनौँ । दुई सिफ्ट कडा ट्ेरनिङ गर्नुपर्ने भएकाले बक्सिङ खेलाडीलाई अलि डाइट पुगेको छैन । राखेपले यो कुरालाई बुझेर भत्ता बढाइदिए निकै राम्रो हुने थियो । सम्पूर्ण खेलाडीको आत्मविश्वास र जोस–जाँगर बढ्ने थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७००