बीपी, कोइरालानिवासको माटो र आजका नेता :: शिवजी श्रेष्ठ

४ श्रावण २०७०, शुक्रबार ०६:४१ मा प्रकाशित

नेपाली राजनीतिका सर्वकालीन शीर्षस्थ राजनेता विश्वेश्वरप्रसाद कोइरालाको ३१औँ स्मृति दिवस (साउन ६ गते) यसै हप्ता परेको छ । अब नेपाली काङ्ग्रेस र अन्य पार्टीका नेताहरूबाट बीपीका सपना र गुणगानमा शब्दहरू खर्चिएका निकै सुन्न पाइनेछन् । ‘बीपी यस्तो हुनुहुन्थ्यो–उस्तो गर्नुहुन्थ्यो भनेर धेरै नेताहरूले सम्झनेछन्, तर उहाँले गर्नुभएको साहस, आदर्शलाई भने कुनै पनि नेताहरूले पछ्याउँदैनन् । गत हप्ता भारतका विदेशमन्त्रीलाई हाम्रा पूर्वप्रधानमन्त्रीसमेत शीर्ष नेतृत्वहरूले काठमाडौंको द्वारिकाज होटलमा लाम लागेर भेटेका कुराले सञ्चारमाध्यमहरूमा पाएको चर्चा सेलाइसकेको छैन । आजभन्दा ५४ वर्षअगाडि अब बीपी कोइराला प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा थिए । उनी बसेको होटलको लङमा लामो ओभरकोट लगाएर रातको नौ बजे उनलाई भेट्न कुनै व्यक्ति पर्खिबसेको समाचार बाहिरिएका थियो– ती व्यक्ति थिए अध्यक्ष माओत्से तुङ ।
आज हाम्रा नेताहरू बीपी महान् थिए भन्न चुक्दैनन् तर कसरी महान् थिए भन्न र त्यसलाई पछ्याउन भने सक्दैनन्, चुक्छन् । नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ताका लागि त उनी महान् थिए नै, समकालीन राजनीतिमा सबैभन्दा ठूलो पार्टी र त्यसका चतुर अध्यक्ष पुष्पकमल दाहालका मात्र होइन तत्कालीन राजनीतिका प्रभावशाली नेता मदन भण्डारीका मन पर्ने घोषित नेपाली राजनेता बीपी नै थिए । सायद उहाँहरूलाई बीपीको समसामयिक राजनीतिक विचारले तान्यो होला, त्योभन्दा पनि राष्ट्रिय राजनीतिभन्दा अन्तर्राष्ट्रिय राजनीतिमा बनाएको छविले अझ तान्यो होला । आजका नेपालका समकालीन नेताहरू (प्रधानमन्त्री भइसकेकाहरूसमेत) भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू आफैँ दिल्ली एयरपोर्टमा स्वागत गर्न आएका थिए । तिनै बीपी भारत निर्वासनबाट राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्कंदा विश्वप्रसिद्ध भारतका सर्वमान्य समाजवादी नेता जयप्रकाश नारायण आफैँले पटना एयरपोर्टमा बिदाइ गर्न गएका थिए । भारतका नेताहरूले नेपालबारे बोलेको कुरामा गर्वोक्ति गर्ने नेताहरूले थाहा पाउनैपर्ने कुरा सन् १९९७ मा जब बीपी जेलमा थिए, भारत विहारका मुख्यमन्त्री तथा समाजवादी नेता कर्पुरी ठाकुरले भनेका थिए, ‘श्री विश्वेश्वरप्रसाद कोइरालाजस्ता त्यागी, वीर र विद्वान् पुरुष अन्य कुनै मुलुकमा जन्मेको भए त्यस मुलुकको प्रतिष्ठा बढ्ने थियो र त्यहाँका जनताले स्वयम्लाई गौरवान्वित ठानी उहाँलाई मनमन्दिरमा राख्ने थिए ।’समकालीन नेताहरूमा ताजै हुनुपर्छ– आजभन्दा करिब २२ वर्षअगाडि सन् १९९१ फेब्रुअरीमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपालको राजकीय भ्रमणमा नेपाल आएका थिए, त्यही क्रममा विराटनगरस्थित ‘कोइरालानिवास’ गएर ‘यह है बीपीका निवास’ भन्दै त्यहाँको माटोको टीका लगाएका थिए । के लैनचौरको वरपर फन्को लगाउनेहरूले यस तथ्यलाई पुन:स्मरण गर्न चाहन्छन् ?
वर्तमान समकालीन राजनीतिका शीर्षस्थ नेताहरू (प्रमुख पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीहरूसमेत) युरोप वा अमेरिका भ्रमणमा जाँदा स्थानीय सरकार वा प्रमुख पार्टीका नेताहरूसँग भेटघाट र संवादका समाचारहरू सुन्न वा पढ्न पाइँदैनन् । आज हाम्रा शीर्ष नेताहरूको विदेश भ्रमण विदेशस्थित एनआरएनको मञ्च र आफ्नो पार्टीका भ्रातृ संस्थाको स्वागत र अन्तरक्रियामै सीमित छ । उहाँहरू आएको अनि गएको पहुँचपूर्ण विदेशी सञ्चारमाध्यमहरूमा कुनै स्थानसमेत पाउँदैनन् । तर, जब १९७७ बीपी अस्पतालबाट डिस्चार्ज हुनुभयो । न्युयोर्कस्थित प्रेस प्रतिनिधिहरूले उहाँको सम्मानमा दिवाभोजसहित अन्तरक्रिया गरेका थिए । जसमा प्रसिद्ध अमेरिकी पत्रकार वारेन डब्लू उलसमेत हुनुहुन्थ्यो, उहाँले बीपीलाई, ‘न्युयोर्कका डाक्टरहरूले तपाईं बाँच्नुचाहिँ चमत्कार हो भनेका छन्, अब नेपालमै बन्दी हुनुको सट्टा अमेरिकामै बसेर नेपालका लागि सङ्घर्ष गर्नुहोस्, तपाईंलाई अमेरिकामा राजनेताको रूपमा चिन्दछन्’ भनेर आग्रहसहितको सुझाव दिएको कुरा चर्चित थियो । त्यसैगरी तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले अस्पतालमै पत्र लेखेर ‘सबै (स्वास्थ्य र राजनीति) ठीक हुनेछ, फेरि तपाईं अमेरिका आउनुभएको खण्डमा सबै व्यवस्था हाम्रो हुनेछ’ भनी उच्च सद्भाव जनाएका थिए । अनि, उनको स्वास्थ्यस्थिति बुझ्न तत्कालीन अमेरिकी विदेशमन्त्री साइरस भान्स, उपविदेशमन्त्री क्रिस्टोफर, सिनेटरहरू, विदेश विभागका कर्मचारीहरू गएका थिए । उपचारपछि स्वदेश फर्कने क्रममा बेलायत आइपुग्दा सत्तारुढ लेबर पार्टीको ब्राइटन सम्मेलनमा उच्च अतिथि सत्कार पाउनुभयो । तत्कालीन बेलायती पत्रिकाहरूले यस किसिमको उच्च सम्मान पाउने बीपी पहिलो ‘एसियाली नेता’ भनी टिप्पणी गरेका थिए । त्यसैगरी बीपी युरोप आउने भएकोले १५ अगस्ट १९७७ मा स्पेनको मेड्रिडमा सोसलिस्ट इन्टरनेसनलको ब्युरो बैठक बोलाइएको थियो । यहाँ सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवम् तत्कालीन पश्चिम जर्मनीका चान्सलर बिली ब्रान्ट, बेलायतका पूर्वप्रधानमन्त्री हेराल्ड विल्सन, अस्ट्रियाका चान्सलर बु्रनोक्रेस्कीलगायतले स्वागत गरेको सो बैठकमा प्रमुख वक्ताको रूपमा बीपीले नेपाल तथा समसामयिक विश्व राजनीतिबारे मन्तव्य दिए । सोही मन्तव्यकै आधारमा त्यस ब्युरो बैठकमा नेपालबारे लिखित प्रस्ताव नै पारित भयो । जसमा तत्कालीन राजा वीरेन्द्रलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक बन्दीको रिहाइ र प्रजातान्त्रिक अधिकार बहालीको अपिल गरियो । बिली ब्रान्टले त यतिसम्म भने कि ‘यदि राजाले बीपीप्रति ‘पब्लिक गेश्चर’ गरेमा नेपालले पश्चिमा मुलुकबाट अझ बढी सहायता प्राप्त गर्नेछन् ।’ सोही कुरा उनले पछि भारतीय संसद्मा समेत दोहोर्‍याएका थिए । के अहिलेका समकालीन नेपाली नेताहरूले विश्वको ध्यान यसरी आकर्षित गर्ने कुरा सोच्न पनि सक्छन् ?
आजका नेपालका नेताहरू कतिपय त प्रधानमन्त्रीसमेत भइसकेका र कोही त पदमा बहाल हुँदै छिमेकी राष्ट्रको भ्रमणबाट फर्किएपछि सङ्कोच नै नमानी गर्वका साथ ‘भारत/चीनका नेताहरू नेपालमा शान्ति चाहन्छन् र छिटो निर्वाचन होस् भन्ने चाहन्छन्’ भनी त्रिभुवन विमानस्थलमा आइपुग्नेबित्तिकै बोल्छन् । भारत वा चीनका नेताहरूले नेपालको आन्तरिक मामिलामा बोलेकोमा उनीहरू गौरव गर्दछन् । तर, जब बीपी कोइराला प्रधानमन्त्री थिए, तिब्बतमा खम्पा विद्रोह भयो, खम्पाहरू नेपाली सीमाभित्र प्रवेश गरे, उनीहरूलाई पिछा गर्दै चिनियाँ लालसेना नेपालको सीमाभित्रै पसे, त्यसलाई निगरानी गर्न गएका नेपाली सेनाका सुवेदार बमबहादुरको चिनियाँ सेनाको गोलीबाट मृत्युसमेत भयो । त्यसले नेपालमा हङ्गामा मच्चियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘नेपालमाथिको आक्रमणलाई भारतले आफूमाथिको आक्रमण ठान्दछ र हरतरहले सहयोग गर्न तयार छ’ भन्ने अभिव्यक्ति दिए । तर, बीपीले यसमा गौरव गरेनन्, बरु तत्कालै त्यसको प्रतिवाद गर्दै नेपालमाथिको आक्रमण भारतमाथिको आक्रमण होइन, नेपाल सार्वभौम राष्ट्र हो र आफ्नो मामिलामा आफैँ प्रतिवाद गर्न समर्थ छ भनी प्रत्युत्तर दिए । त्यसलगत्तै नेहरूले आफ्नो भनाइ सच्याउँदै आफूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने किसिमको भनाइ नराखेको भनी प्रस्टीकरण दिए । के अहिलेका नेपाली समकालीन नेताहरूबाट यस किसिमको आँट र कूटनीतिक साहसको अपेक्षा गर्न सकिन्छ ? पछि यस मामिलामा चीनले माफी नै मागेर रु. पचास हजार क्षतिपूर्तिसमेत दिएको थियो । त्यसैगरी प्रधानमन्त्रीको हैसियतमा चीन पुगेका बीपीलाई तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउएनलाईले सगरमाथा चीनको भएको दाबी गर्दा बीपीले तत्कालै प्रतिवाद गर्दै ‘पानी ढोलो’को सीमा नियमअनुसार नेपालको भएको भनी दाबी गरेपछि कुरा मिलेन । त्यही रात बीपी बसेको होटलमै भेट्न आएका माओले ‘हामी ठूलो राष्ट्रले चिच्याएर बोले पनि कसैले पत्याउँदैन, तपाईं साना राष्ट्रले सानै स्वरमा बोले पनि सबैले पत्याउँछ’ भन्दै सगरमाथा नेपालकै भएको कुरा स्वीकारेपछि विवाद सकिएको थियो । अहिले त लिम्पियाधुरादेखि पशुपतिनगर दशगजा जहाँ जे भए पनि हाम्रा नेता ‘चुँ’ गर्न खोज्दैनन् ।
इजरायलमा संसारको मानचित्रमा पहिले मान्यता दिने बीपी (प्रधानमन्त्रीको रूपमा), बंगलादेश स्वतन्त्रतामा हतियार नै सहयोग गर्ने बीपीको निधनमा बिली ब्रान्टले भनेका थिए, ‘बीपी कोइराला सधैँ नै जनताका हकका संरक्षक, राष्ट्रहरूको स्वतन्त्रताका पक्षपाति, स्वतन्त्र र न्यायपूर्ण समाजका लागि हामीलाई प्रेरणा दिने व्यक्ति हुनुहुन्थ्यो । विश्वभरिका अनेकौँ समाजवादी साथीहरूका लागि उहाँको सल्लाह र सुझाव अति मूल्यवान सिद्ध भएका छन् । अन्तर्राष्ट्रिय प्रजातान्त्रिक समाजवादी आन्दोलनले उहाँलाई सिद्धान्तमा कहिल्यै नडग्मगाउने सर्वश्रेष्ठ व्यक्तित्वको रूपमा स्मरण गर्छन् । आजको समकालीन राजनीतिमा बीपीका यी गौरवगाथाहरू नेपाली नेताहरूका निम्ति कल्पनाबाहिरको हुनसक्ला, तर पनि उहाँहरूका लागि प्रेरक बन्न सक्ने आशा गर्दै बीपीप्रति श्रद्धासुमन ।

(सन्दर्भ ३१औँ बीपी स्मृति दिवस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट