फिर्ता पनि लिन्न, ‘वरिष्ठ’ पनि बन्दिनँ : डा. बाबुराम भट्टराई

३ श्रावण २०७०, बिहीबार ०९:२२ मा प्रकाशित

० तपाईंले उपाध्यक्ष पद त्यागेको सन्दर्भ तपाईंको पार्टीका लागि टाउको दुखाईको सन्दर्भ बनेको छ , पद किन त्याग्नुभएको ?
– म निष्ठाको राजनीति लिएर आएको मान्छे हुँ । मूल्य, मान्यता, आदर्श लिएर समाज बदल्नका लागि आएको हुँ । यत्तिका समयसम्म मैले काम गरेँ, पार्टीले मलाई जिम्मेवारी दियो । पार्टीको उपाध्यक्ष पनि भएँ, प्रधानमन्त्री पनि भएँ । तर, एउटै मान्छे लामो समयसम्म पदमा बसिराख्दा त्यसले आफैँवरिपरि विकृति र विसङ्गतिहरू ल्याउँछ । त्यसैले मैले एउटा नयाँ परम्परा बसाउनुपर्छ, नयाँ पुस्तालाई ठाउँ पनि दिइरहनुपर्छ । हामी क्रियाशील त हुनुपर्छ तर औपचारिक पदमा नबसी । एउटा क्रान्तिकारी पदमा नबसी पनि क्रियाशील रहिरहन सक्छ भन्ने उदाहरण देखाउन मैले पद त्याग गरेको हँु । यसमा कसैले टाउको दुखाउनु पर्ने कारण नै छैन नि ।
० पार्टीमा रडाको त मच्चियो नि ?
– होइन, कुनै रडाको मच्चिएको छैन । तर, कुरा के भने खुला परिस्थितिमा आइसकेपछि हामीमा पनि केही विकृति, विसङ्गति र संसदीय व्यवस्थाका रोगहरू प्रवेश गरेका छन् । त्यसलाई शुद्धीकरण गर्नको लागि र पार्टीलाई रूपान्तरण गर्नको लागि पनि यो आवश्यक थियो ।
० तपाईंकै पार्टीमा पद नपाई कामै नगर्ने नेताहरू पनि छन् नि, स्वीकार गर्नुहुन्छ ?
– हो, हामीमा पनि त्यस्तो रोग प्रवेश गर्न लागेकोले त्यसको उपचार समयमै गर्नुपर्छ भनेर मैले यस्तो कदम चालेको हुँ । सबैले यसमा ध्यान दिनुपर्छ । विगतमा पनि हामीले शुद्धीकरण गथ्र्यौं । अहिले पनि मेरो यो कदम शुद्धीकरण अभियानकै अङ्ग हो ।
० यसबेलाको पद त्यागले निर्वाचनको सम्भावना सार्‍यो भन्छन् नि ?
– त्यस्तो असन्तुष्टि होइन, साथीहरूमा त्यस्तो आशङ्का छ । म क्रियाशील हुन्न कि भन्ने नबुझेर पनि त्यस्तो आशङ्का गरिएको हुनसक्छ । मैले माओवादी परित्याग गरेको होइन । माओवादी पार्टीलाई अझै बलियो बनाउन, जनतामा एउटा स्वच्छ छविका साथ प्रस्तुत गर्न जनताको मन जितेर फेरि आगामी निर्वाचनपछि बहुमत प्राप्त गरेर अगाडि बढ्नको निम्ति मैले यो कदम चालेको हुँ ।
० नयाँ पार्टी खोल्न पदत्याग गरेको पनि भनिन्छ नि ?
– त्यो काल्पनिक कुरा हो, त्यसमा कुनै पनि सत्यता छैन । यो षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरूको भनाइ हो ।
० प्रचण्डलाई कमजोर बनाउन फालिएको पासा हो रे ?
– मैले प्रचण्डलाई अझै बलियो बनाउन यस्तो कदम चालिरहेको छु । किनकि हाम्रो नेता कमरेड प्रचण्ड हो । र, हाम्रो सल्लाह के छ भनेदेखि हामीले पार्टीलाई क्रमैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ । त्यसैअनुसार पहिलो चरणमा मैले पदत्याग गरेको छु । अलि राम्रो तयारी गरेपछि केही वर्षपछि प्रचण्डले पनि पदत्याग गर्नुहुन्छ । यसरी नै पार्टी निरन्तर नयाँ ऊर्जा प्राप्त गर्दै अघि बढ्छ ।
० पद त्याग गरेपछि अब तपार्इं प्रधानमन्त्री बन्नुहुन्न ?
– मैले कुनै जिम्मेवारी लिन्न त भनेको छैन । निर्वाचनपछि मेरो पार्टीले नेतृत्व लिन्छ र म त्यसमा सघाउँछु । अहिले मैले पार्टीको पद त्याग गरेको हुँ । त्यसमा म दृढ छु । अरू कुरा त पार्टीको निर्णयअनुसार हुने कुरा हो । हामी नयाँ साथीहरूलाई स्थान दिन्छाँै र आवश्यक पर्‍यो भने रोटेसनमा हामी आई पनि रहन्छौँ । अहिले नै म प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर टिप्पणी गर्दिनँ । फेरि प्रधानमन्त्री बन्ने विषयमा मैले सोचेको पनि छैन ।
० विस्तारित बैठकपछि तपाईं फेरि उपाध्यक्ष पदमै आउने होला नि ?
– आउँदिनँ । साथीहरूको अनुरोध छ । तर, म आउँदिनँ । प्रचण्ड र मबीच पहिला नै सहमति भएको थियो ।
० पद त्याग गर्ने दिन प्रचण्डलाई थाहा थियो ?
– त्यो त थाहा थिएन । उहाँहरूले पद नत्याग्न नैतिक दबाब दिनुहुन्छ भनेर मैले जानकारी दिएको थिइनँ । तर, सैद्धान्तिक सहमति पहिला नै भइसकेको थियो ।
० विशेष महाधिवेशन बोलाउने हो ?
– हो, पार्टीको एउटा सङ्गठनात्मक अधिवेशन बोलाएर सङ्गठनसम्बन्धी नीतिलाई एउटा उचाइमा उठाउने र एउटा नयाँ ढङ्गको आदर्श मूल्य मान्यतासहितको पार्टी निर्माण गर्नको लागि हामी विशेष महाधिवेशन बोलाउन खोजिरहेका छौँ ।
० माओवादीलाई जनताले किन बहुमत दिने ?
– त्याग र बलिदानमा आधारित जनताको सेवामा समर्पित एउटा नयाँ भिजन भएको पार्टी हो । त्यसैकारण जनताले यो पार्टीलाई मत दिन्छन् । हामीलाई पनि केही गर्ने गरी अघिल्लोपटक पनि जनताले जनादेश दिएका छैनन् । हामी पूर्ण जनादेश दिनुस् भनेर जान्छौँ ।
० फेरि सत्ता कब्जाकै रणनीति ?
– सरकार चलाउनु लोकतन्त्रमा सत्ताकब्जा हुँदैन । लोकतान्त्रिक तरिकाले जनताको अभिमत लिएर सरकारको नेतृत्व गर्नु भनेको सत्ताकब्जा होइन ।
० अब त्यसो भए सरकारको नेतृत्व कसले गर्छ ?
– हाम्रो पार्टीमा त्यस्तो कुनै निर्णय भइसकेको छैन । तर, अब अवसर आयो भने हाम्रो पार्टीबाट कमरेड प्रचण्डकै सम्भावना बढी छ ।
० त्यसबेला पार्टी अध्यक्ष तपाईं ?
– होइन, कमरेड प्रचण्ड नै हाम्रो पार्टी अध्यक्ष हो ।
० मोहन वैद्यलाई पार्टीबाट एक्ल्याउनुभयो भन्ने आरोप छ नि ?
– होइन, म त झन् चर्चित धोबीघाट प्रकरणमा उहाँसँग मिलेर उहाँलाई सँगै लिएर जान खोज्ने मान्छे ।
० वैद्यलाई धोका दिनुभयो नि ?
– उहाँहरू विचार नमिलेर जानुभएको हो, धोका भएर होइन । बिप्पा सम्झौता देव गुरुङजीले सकारात्मक भनेर संसदीय दलमा पढ्नुभएको र सभासद्हरूले समर्थन गरेका छन् ।
० वैद्य समूहसँग एकीकरण हुन्छ ?
– होस् भन्ने मेरो चाहना छ तर अहिले नै एकीकरण हुन्छ–हुँदैन भनेर भन्न सकिँदैन । मैले चीन जाने दिन नै भेटेर पनि आग्रह गरेको छु– एक भएर जाआँै भनेर वैद्यजीलाई । मत नेपालमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर हिँड्ने मान्छे ।
० मङ्सिर ४ मा निर्वाचन हुन्छ होला ?
– हुन्छ र हुनुपर्छ । त्यसको विकल्प छैन ।
० भारतीय विदेशमन्त्रीलाई भेट्न लुरुलुरु जानुभयो, प्रोटोकलको ख्याल आएन ?
– त्यो गलत कुरा हो । भारतीय विदेशमन्त्रीलाई भेट्नुहुँदैन भन्ने कुरा हुँदैन । भेटिन्छ । सारमा हामीले गल्ती गरेका छैनाँै तर रूपमा गल्ती देखियो । तर, हामीले त्यो होटलको साटो अर्को होटलमा भेटेको भएचाहिँ ठीक हुन्थ्यो कि भन्ने मलाई लागेको छ । चीनको स्टेट काउन्सिलर आउँदा पनि कार्यक्रममा गएर भेटेकै हो । दूतावासमा पार्टी आयोजना गरेको कार्यक्रममा हामी जान्छाँै । चियाको कपमा तुफान ल्याउने र जस्तोसुकै विषयलाई राष्ट्रियतासँग जोड्ने काम ठीक होइन ।
० अब राष्ट्रपति बन्ने होला नि ?
– मैले त्यस्तो केही अहिले सोचेको छैन ।
० वरिष्ठ नेता बन्नकै लागि यत्रो रडाको मच्चाउनुभएको हो त ?
– होइन, बाबुराम भट्टराई कहिल्यै पदको लागि मर्ने व्यक्ति होइन । पदको लागि कहिल्यै राजनीति गरिनँ र गर्दिनँ पनि । मैले किन पद त्यागँे भन्ने सबैलाई थाहा छ । वरिष्ठ नेता वा के भन्ने कुरा गौण हो । म विचार र जनताका लागि राजनीति गर्ने व्यक्ति हो ।
० वरिष्ठ नेता पनि नबन्ने ?
– पार्टीको कुनै न कुनै भूमिकामा रहन्छु । उपाध्यक्ष म बन्दिनँ तर कुन भूमिकामा रहने भन्ने कुराको विषयमा म साथीभाइहरूसँग छलफलमा छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र