कांग्रेस समर्थकलाई निषेध गर्दै सरकारी संचारमाध्यम ‘लाल’ तुल्याइँदै

२ श्रावण २०७०, बुधबार २२:२४ मा प्रकाशित

काठमाडौं, २ साउन । निर्वाचनमा निर्वाचन आयोग, प्रहरी र प्रशासनसँगै विशेषगरी सरकारी सञ्चारमाध्यमको भूमिकासमेत निष्पक्ष हुनुपर्ने हुन्छ, तर सरकारले मातहतका सञ्चारमाध्यमलाई निष्पक्ष तुल्याउनुको सट्टा एकपक्षीय बनाउने ‘अभियान’ चलाएको अनुभुति गरिएको छ । चुनावी सरकारले सरकारी सञ्चारमाध्यमहरूलाई बढीभन्दा बढी निष्पक्ष तुल्याउँदै लैजानुपर्नेमा झन् एकपक्षीय बनाउन खोजेपछि सञ्चारमाध्यमको निष्पक्षतामाथि प्रश्न उठेको छ । सरकारले रेडियो नेपालद्वारा सञ्चालित घटना र विचार कार्यक्रम बन्द गराई सो कार्यक्रमको समयमा ‘गन्तव्य संविधानसभा’ नामक कार्यक्रम सुरु गरेको छ । पत्रकार महेश चौरसियाको नेतृत्वमा चलेको घटना र विचार कार्यक्रम बन्द गरेर घटना र विचारकै शैलीमा चलाइने कार्यक्रम गन्तव्य संविधानसभा सञ्चालन गर्ने जिम्मेवारी नेकपा एमालेको भ्रातृ संस्था प्रेस चौतारीका महासचिव माधव नेपाललाई दिइएको छ । नेपालको टोलीमा सबैजसो एमाले समर्थकहरूलाई सामेल गरिएको छ । गोरखापत्रमा गैरएमाले पृष्ठभूमिका सम्पादक सीताराम अग्रहरिलाई हटाएर सरकारले एमालेसमर्थित पुष्कर माथेमालाई सम्पादक बनाएको छ । त्यस्तै महाप्रबन्धकको जिम्मेवारी पनि एमालेसमर्थक कपिल घिमिरेलाई दिइएको छ । गोरखापत्रको सञ्चालक समिति सदस्य कुमार विवेकानन्दलाई हटाएर एमालेकै प्रकाशविक्रम शाहलाई सो स्थानमा नियुक्ति दिइएको छ । त्यसैगरी नेपाल टेलिभिजनको सञ्चालक सदस्य निर्मल ज्ञवालीको ठाउँमा एमालेसमर्थित पत्रकार टंक पन्तलाई नियुक्त गरिएको छ । राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्य विवेक गौतमको ठाउँमा सुरेन्द्र नेपालीलाई नियुक्त गरिएको छ । रेडियो नेपालको सञ्चालक समितिमा एमाले प्रचार विभागका सदस्य केशव खनाललाई नियुक्त गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा एमालेसमर्थक पत्रकार खेम भण्डारीलाई नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत भइसकेको छ । तर, सो पदमा एमालेकै समर्थक पत्रकार कौशल चेम्जोङलाई नियुक्त गर्न दबाब परेपछि भण्डारीको नियुक्ति हुन सकेको छैन । भनिन्छ, भण्डारीको सट्टा कौशललाई नियुक्ति गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफैँले अग्रसरता लिनुभएको छ । प्रेस काउन्सिलको अध्यक्षसहित एघार सदस्यमा तीन एमाओवादी, चार मधेसी मूलका र चार एमालेसमर्थक रहेकोमा कसैलाई हटाएर एमालेसमर्थकको सङ्ख्या बढाउने तयारी भित्रभित्रै भइरहेको बताइन्छ । स्वतन्त्र सरकारका ‘स्वतन्त्र मन्त्री’ माधव पौडेलले एमालेसमर्थक पत्रकार मातृका पौडेललाई सल्लाहकार बनाइनुलाई स्वाभाविक रूपमा लिइए पनि मातहतका निकायमा समेत एमालेसमर्थकहरूलाई मात्र प्राथमिकता दिइँदा सरकारको नियतमाथि नै आशङ्का उत्पन्न भएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती एमालेसमर्थक रहेको जगजाहेर छ । सरकारी सञ्चारमाध्यममा पनि एमालेकै वर्चश्व रहने र अब आयोगले मिडिया अनुगमनको जिम्मेवारीसमेत कुनै एमालेसमर्थकहरूको संस्था वा व्यक्तिलाई दिइने हो भने निर्वाचनको समयमा सरकारी सञ्चारमाध्यमले कति निष्पक्ष भूमिका निर्वाह गर्न सक्ला– प्रश्न उठाउनुपर्ने भएको छ । स्मरणीय छ, प्रजातान्त्रिक शक्ति मानिएको नेपाली काङ्ग्रेससमर्थकलाई सरकारी सञ्चारमाध्यममा निषेधजस्तै गरिएको छ । नेपाल टेलिभिजनको महाप्रबन्धकमा बाबुराम भट्टराई सरकारद्वारा नियुक्त लक्ष्मण हुमागार्इं कार्यरत छन् भने राससको अध्यक्षमा एमाओवादीसमर्थक कोमल बराल छन् । यसरी सरकारी सञ्चारमाध्यम एकप्रकारले वामपन्थी तथा अन्य केहीको नियन्त्रणमा गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट