अहंकारी र उत्ताउलो व्यवहारका कारण गभर्नरलाई सङ्कटमाथि सङ्कट

२ श्रावण २०७०, बुधबार १२:५४ मा प्रकाशित

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा आफ्नै अहङ्कार र उत्ताउलो व्यवहारका कारण जीवनकै सर्वाधिक जटिल मोडमा पुगेका छन् । आफूबाहेक अरू कसैलाई पनि मान्छे नगन्ने खतिवडाको बानीका कारण उनको गभर्नर पदको तीन वर्ष व्यतीत हुँदा नहुँदै उनी यो अवस्थामा पुगेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत टेरपुच्छर नलगाई आफ्नै लहडमा अघि बढेका कारण अन्तत: खतिवडा असार १९ गते आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई खुसी पार्न समय मागेर आयोग भवन टङ्गाल पुगेका थिए । कार्कीलाई जथाभावी पत्र काटेर केन्द्रीय बैंकको काममा अप्ठ्यारो नपार्न घुमाउरो तरिकाले अनुनय गरेका खतिवडालाई प्रमुख आयुक्तले मुखभरिको जवाफ दिएर आफ्नो कार्य गर्ने अरूको काममा अर्ती नदिनु भन्ने जवाफ दिएको बताइन्छ । स्मरण रहोस्, कार्की प्रमुख आयुक्त नियुक्त हुने क्रममा एमाले नेताहरूमध्ये ईश्वर पोखरेल समूहलाई उचाल्दै स्वयम् गभर्नर खतिवडा कार्कीको विरुद्धमा कम्मर कसेर लागेका थिए । आफ्नो विगतको कर्तुतका कारण पनि उनी अख्तियारप्रमुखसँग समय मागेर भेट गर्न लामो समयदेखि अप्ठ्यारो मान्दै आएका थिए । तर, डेपुटी गभर्नरलगायत आफ्ना झन्डै आधा दर्जन आसेपासेलाई आयोगले एकैपटक झम्टेपछि खतिवडा अत्तालिएर टङ्गाल पुगेको स्रोतको दाबी छ ।
उता अर्थ मन्त्रालयमा नयाँ अर्थमन्त्रीले पदभार ग्रहण गरेदेखि नै खतिवडाले विषवमन सुरु गरेका थिए । विशेषगरी तीनखम्बे अर्थनीतिको सतही वकालत गर्ने गभर्नर खतिवडाको अर्थमन्त्री शंकर कोइरालाले खुलेरै विरोध गरेपछि यी दुईबीच दूरी बढेको हो । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रीय बैंकमा नीतिगत र संस्थागत भ्रष्टाचार बढेको सम्बन्धमा अर्थ मन्त्रालयको राय माग गरेपछि पछिल्लो एक महिनादेखि गभर्नर, अर्थमन्त्री र प्रमुख आयुक्त कार्कीबीच त्रिपक्षीय घम्साघम्सी बढेको हो । त्रिपक्षीय देखिए पनि वास्तविक अर्थमन्त्री र प्रमुख आयुक्त कार्कीसँग मात्र गभर्नर खतिवडाको घम्साघम्सी रहेको पनि स्रोतले पुष्टि गरेको छ । आफ्नो धारणाविपरीत तीनखम्बे अर्थनीतिको विरोध गर्दै माओवादी नेता डा. बाबुराम भट्टराईलाई समेत गुहार्न पुगेका खतिवडाको शेखी झार्न पछिल्लो केही समयदेखि क्रियाशील अवस्थामा अख्तियारले नीतिगत भ्रष्टाचारको प्रसङ्ग बाहिर ल्याएको देखिन्छ ।
त्यसैगरी गभर्नर खतिवडाले राष्ट्र बैंकका काङ्ग्रेसी कर्मचारीको रोडम्यापअनुसार डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको नेतृत्वमा आफूविरुद्ध विभिन्न प्रोपोगाण्डा मच्चाइएको बताएपछि परिस्थिति थप जटिल बन्दै गएको छ । बिनाआधार काङ्ग्रेससमर्थक कर्मचारीलाई गम्भीर आरोप लगाएपछि अधिकांश प्रजातन्त्रवादी कर्मचारी पनि उनीविरुद्ध खनिने उपयुक्त अवसरको खोजीमा देखिएका छन् । डेपुटी गभर्नर काफ्ले आफूलाई निलम्बन गर्न लगाएर कामु गभर्नर बन्ने धुनमा अघि बढेको भन्दै गभर्नरको समूह अनर्गल प्रचारमा लागेपछि बैंकभित्रको परिस्थिति पनि खतिवडाको विरुद्धमा देखिएको हो । पछिल्लो केही समयदेखि कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा निकै सङ्कुचित धारणा राख्दै आएका गभर्नर खतिवडाको सामुन्ने दुईतिहाइ कर्मचारी ३० वर्षे सेवा अवधि हटाउनुपर्ने मागका साथ अघि बढ्ने माहौल पनि देखिएको छ । यो मागलाई व्यवस्थापनले तत्काल स्वीकार गर्न सक्ने अवस्था नदेखिएको परिप्रेक्ष्यमा संस्थाभित्र ठूलो मात्राका कर्मचारीसमेत उनको विरुद्धमा उत्रने परिस्थितिको सिर्जना भएमा गभर्नरले सो परिस्थितिलाई आफ्नो काबुमा लिन निकै हम्मे पर्ने राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ । यसैबीच अख्तियारमा गभर्नरको चाहनामा काजमा खटिएका बैंकका उपनिर्देशक हरिगोपाल अधिकारीलाई आयोगले गत हप्ता फिर्ता पठाइदिएको छ । उनको स्थानमा हाल गोर्खा विकास बैंकको व्यवस्थापन समूहको संयोजक रही कार्य गरिरहेका चार्टर्ड एकाउन्टटेन्ट विश्रुत थापालाई पठाउन आयोगले राष्ट्र बैंकलाई पत्र लेखेको पनि बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र