बजेटसँगै ह्वात्तै बढ्यो मूल्य, निम्न आय हुनेका लागि राजधानीको जीवन घोर कष्टकर

२ श्रावण २०७०, बुधबार १२:२४ मा प्रकाशित

काठमाडौं, २ साउन । बजेटमार्फत कर्मचारीहरूको तलब वृद्धिको घोषणा हुनेबित्तिकै व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढाउने परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन् । उनीहरूले सरकारले बजेट भाषण बजेट सार्वजनिक गरेलगत्तै दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको भाउ बढाएका हुन् । अघिल्ला वर्षहरूमा कर्मचारीको तलब नबढे पनि बजेट सार्वजनिक भएलगत्तै मूल्यवृद्धि गर्ने व्यापारीहरूले कर्मचारीको तलब वृद्धि तथा निर्वाचन परेकाले उनीहरूले एक्कासि बिनासङ्कोच उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । व्यापारीहरूले अन्य दैनिक उपभोग्य सामानहरूसँगै लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल आदिमा पनि मूल्य बढाएका छन् । उपभोक्ताहरूका अनुसार यी वस्तुहरूमा पाँचदेखि चालीस प्रतिशतसम्म भाउ बढाएका छन् ।
व्यापारीहरूका अनुसार चामलमा ४५ देखि दुई सय ५०, दालमा पाँचदेखि पन्ध्र, तेलमा तीन देखि पन्ध्र, गेडागुडीमा पाँचदेखि २५ रुपैयाँसम्म बढेको छ भने अन्य तरकारीहरूमा पाँचदेखि ३५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सरकारले यसलाई तत्काल नियन्त्रण नगर्ने हो भने अझै यसको भाउ बढ्न सक्छ । ज्ञानेश्वरस्थित ज्ञानेश्वर खाद्य स्टोरका सञ्चालक सुमन श्रेष्ठले असार मसान्तबाटै हामीले नयाँ भाउमा सामान बेच्न थालेको बताए । उनले भने, ‘अघिल्लो दिनसम्म एउटा मूल्यमा दिएको सामान भोलिपल्टै अर्कै मूल्यमा खरिद गरी बेच्नुपर्दा हामी आफँै छक्क परेका छौँ ।’ यसअघि मूल्य बढ्दै छ भन्ने जानकारी हुन्थ्यो, तर यसपटक एक्कासि मूल्य बढ्यो । उनका अनुसार बजेट बढे जसरी सबै वस्तुमा मूल्य बढेको छ । सामान्य वस्तुदेखि ठूला सबैखाले उपभोग्य वस्तुको मूल्य रातारात बढेको छ । उनले भने, ‘सबैतिर एकैपटक मूल्य बढ्दा निकै अघिदेखिको योजना र सहमतिमा बढेको देखिन्छ ।’ त्यस्तै विद्युतीय सामग्रीहरूमा १० देखि २७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ भने चल तथा अचल सम्पत्तिमा पनि चर्को मूल्यवृद्धि भएको छ ।
वाणिज्य विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा २० प्रतिशतभन्दा बढीले नै मूल्यवृद्धि भएको थियो भने दालचामललगायतको भाउ ४० प्रतिशतसम्मले बढेको थियो । त्यस्तै तरकारीमा ४८ प्रतिशतले मूल्य बढेको थियो । फलफूल र मसलाको भाउ २८ र १९ प्रतिशतले बढेको छ । लत्ता–कपडा तथा जुत्ताचप्पलको मूल्य १५ प्रतिशत र गाडीभाडा १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको तथ्याङ्क हेर्दा काठमाडौंमा सबैभन्दा धेरै ११ प्रतिशतले मूल्य बढेको थियो भने पहाडी क्षेत्रमा १ दशमलव ८ र तराईमा ७ प्रतिशतले बजार भाउ आकासिएको थियो । यो मूल्य पटकपटक गरी बढाउँदा यति पुगेको थियो । तर, अहिले एकैपटक अघिल्ला वर्षको भन्दा दोब्बर मूल्य बढेको देखिन्छ ।
सरकारी निकाय वाणिज्य तथा आपूर्ति मन्त्रालय र बजार अनुगमन गर्ने अख्तियारीसहित स्थापना भएको वाणिज्य विभाग एक्कासि मूल्यवृद्धि हुँदा पनि मौन रहेको छ । तर, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले तत्काल बजार अनुगमन गरेर मूल्यवृद्धि रोक्ने दाबी गरेका छन् । उनले मूल्यवृद्धि रोक्ने दाबी गरे पनि सरकारी स्वामित्वमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानीको मूल्य बढाउने निर्णय गरिसकेको छ । उसले खानेपानी महसुल निर्धारण आयोगको सिफारिसअनुसार भन्दै मासिक न्यूनतम ४५ देखि ८२ प्रतिशतसम्म शुल्क बढाउन लागेको छ । यो मूल्य आगामी भदौबाट लागू हुनेछ । आयोगका अनुसार मासिक न्यूनतम १० हजार लिटरसम्म पानी उपभोग गर्ने घरले एक सय ५० रुपैयाँ महसुल तिर्नुपर्नेछ । यसअघि सो महसुल ७७ रुपैयाँ ५० पैसा थियो ।
त्यस्तै, यातायात व्यवस्था विभागले मंगलबारदेखि नै लागू हुने गरी मिटर ट्याक्सीको भाडा १५ दशमलव ६ प्रतिशत बढाएको छ । ट्याक्सीको भाडा बढाएलगत्तै सर्वसाधारणको पहुँचभन्दा निकै टाढा पुगेको छ ट्याक्सी । यदि बाध्यतावश ट्याक्सी चढिहाले भने उनीहरूले प्रतिकिलोमिटर ३७ रुपैयाँ तिर्नुपर्छ । यसअघि ३२ रुपैयाँ थियो । यातायात विभागले महँगी, पेट्रोलको मूल्यवृद्धि र चालकको ज्यालावृद्धिलाई आधार मानेर भाडा बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा