मङ्सिर ४ मा निर्वाचन हुँदैहुँदैन :: सीपी गजुरेल (उपाध्यक्ष, नेकपा–माओवादी)

२ श्रावण २०७०, बुधबार ०७:३७ मा प्रकाशित

० संविधानसभाको निर्वाचनमा भाग लिने कि नलिने भनी सोध्न तपाईंहरू चीन जानुभयो भन्छन् नि, साँच्चै तपाईंहरूको चीन भ्रमण त्यही उद्देश्यले भएको हो त ?

– वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे विविध विषयमाथि चीनको कम्युनिस्ट पार्टी र त्यहाँको सरकारसँग छलफल गर्नका लागि हामी गएका हौँ । आरोप या हल्ला गरिएझैँ चुनावमा भाग लिने कि नलिने भनी सल्लाह लिन गएको होइन । यस विषयमा कसैसँग सोधेर हामीले निर्णय लिने कुरा पनि आउँदैन ।
० तर, चीनले त तपाईंहरूलाई चुनावमा भाग लिनु भन्ने सुझाव नै दियो नि, होइन ?
– चिनियाँ नेताहरूले निर्वाचनका विषयमा त्यसरी आदेश या निर्देशनात्मक भाषामा कुनै कुरा हामीसँग गरेनन् । हामी सबैलाई थाहा भएकै कुरा हो कि चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी या त्यहाँका नेताले अन्य राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीति अङ्गीकार गरेका छन् । चुनावमा भाग लेउ या नलेउ, यसो गर यसो नगर भनी भन्नु भनेको कसैलाई आदेश दिनु नै हो । यसरी आदेश दिनु भनेको अर्काको आन्तरिक मामलामा हस्तक्षेप गर्नुजस्तै हो । चीनले त्यस्तो व्यवहार गरेन ।
० भारतले बोलाएर तपाईंहरू गएको भए भारतले आन्तरिक मामलामा हस्तक्षेप गरेको ठहरिन्थ्यो, तर चीनले बोलाएको भएकाले त्यो आन्तरिक हस्तक्षेप भएन, होइन त ?
– यसपटक चीनले बोलाएर हामी गएका होइनौँ, बरु हामीले नै तपाईंहरूसँग केही छलफल गर्नु छ भनेर आफैँ गएका हौँ । हामीले चीन भ्रमणका लागि अनुरोधपत्र पठाएको र उताबाट अनुरोध स्वीकार गरिएपछि यात्रा भएकाले यस भ्रमणको अनेक अर्थ लगाइरहनु निरर्थक कुरा हो ।
० चीनसँग छलफल गर्नुपर्ने त्यस्तो के विषय या आवश्यकता पर्‍यो नि नेकपा–माओवादीलाई ?
– नेपालको राजनीति या राजनीतिक सङ्क्रमण अन्त्यका लागि हामी चीन मात्र होइन चीनजस्ता धेरै मित्रराष्ट्रहरूसँग सल्लाह, छलफल गर्न चाहन्छौँ । धेरै वर्ष भइसक्यो राजनीतिक प्रक्रिया अवरुद्ध भएको । यस्तोमा मित्रहरूसँगको छलफलपछि निर्णय लिँदा नराम्रो नहोला, फलदायी नै होला भन्ने हाम्रो ठहर छ । बुझ्नुपर्ने कुरा के पनि हो भने चीन त हाम्रो लामो समयदेखिको मित्रराष्ट्र हो । एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टी या सरकारसँग मित्रता राख्नु र सल्लाह–सहयोग आदानप्रदान गर्नु स्वाभाविक विषय नै हो नि ।
० चीनले त नेपालमा संविधानसभाको निर्वाचनको विकल्प छैन भनेर प्रस्ट भाषामा भन्यो नि, अब के गर्नुहुन्छ त तपाईंहरू ?
– कहाँ त्यसो भनेको छ चीनले ? खै हामीसँग त त्यस्तो भाषामा कुनै कुरा भएको छैन । उहाँहरूले प्रस्टसँग भनेको कुरा के मात्र हो भने नेपालमा शान्ति कायम होस्, समृद्धि होस्, आर्थिक विकास छिटोभन्दा छिटो होस् भन्ने हाम्रो चाहना हो, त्यसका लागि कुनै पनि मुलुकलाई उपयुक्त संविधान त आवश्यक पर्छ, तर त्यसका लागि निर्वाचन कुन विधिबाट कहिले गराउने हो, कसरी गराउने हो भन्ने कुरा त तपाईंहरूको आफ्नै मामला हो । निर्वाचनमा भाग लिने हो कि बहिष्कार गर्ने हो, के गर्दा उपयुक्त हुने हो त्यो तपाईंहरूकै निर्णयमा भर पर्ने हो । हाम्रो चासोको विषयचाहिँ नेपालमा शान्ति हुनुपर्‍यो, स्थिरता हुनुपर्‍यो र नेपालमा विकासचाहिँ छिटो हुनुपर्‍यो ! यही हो चीनले हामीसँग भनेको कुरा । मुख्यगरी हाम्रो पार्टीलाई चीनले एकदम महत्त्व दिएको छ र हाम्रो सहभागिताबिना नेपालमा चुनाव हुन सक्दैन र भए पनि सार्थक हुँदैन भन्ने पनि चीनलाई थाहा छ । त्यसैले नेपालका सबै पार्टी मिलेर सर्वस्वीकार्य हिसाबले समस्या सल्टाउनुहोस्, शान्तिपूर्ण तवरबाट राजनीतिक स्थायित्वका लागि मिलेर अघि बढ्नुहोस्, नेपाली जनतालाई विकास चाहिएको छ, यो बुझेर निकास निकाल्नुहोस् भन्ने सुझाव दिए चिनियाँ नेताहरूले । नेपालले चीनको आर्थिक विकासबाट लाभ उठाओस् भन्ने चीनको चाहना छ र यही आशयको सुझाव पनि हरेक दलका नेताहरूलाई चीनले दिने गरेको छ । यो सुझाव अति राम्रो हो तर नेपालकै कतिपय दल र सरकारी रवैया सकारात्मक पाइरहेका छैनौँ हामी ।
० जे होस्, चीनले नेपालको मामलामा पछिल्लो चरणमा आएर चासो त बढाएकै हो नि, संविधानसभाको निर्वाचन होस् भन्ने त चाहेकै हो नि, यो त तपाईं मान्नुहुन्छ नि ?
– ठीकै हो, नेपालमा संविधानसभाको चुनाव हुने स्थिति छ या हुन्छ भने त्यसमा चीनले विरोध गर्दैन भन्ने हामीले बुझेका छौँ ।
० भनेपछि चीन निर्वाचनको पक्षमै छ र त्यो पनि नेकपा–माओवादीसहितको सहभागितामा, हो कि होइन ?
– निर्वाचनकै प्रक्रियाबाट नेपालका सबै समस्या हल हुन्छन् भने त चीनले निर्वाचन नगर कदापि भन्दैन । तर, कसरी निकास निकाल्ने हो– नेपालकै राजनीतिक पार्टी र नेपाली जनताको कुरा हो, त्यसमा हामीले हस्तक्षेप गर्ने कुरा आउँदैन भन्ने नै चिनियाँ नेताहरूको भनाइ छ ।
० सकभर एमाओवादीसँग एकता गर्न नभए सहकार्य गरेर चुनावमा जान चीनले माओवादीलाई सुझाव दियो भन्ने कुरा गलत हो त ?
– त्यो कुरा एकदम गलत हो । हाम्रो पार्टीमा असमझदारी बढेर फुटको दिशातिर लागेको बेलामा त चीनले ‘वर्तमान परिवेशमा पार्टी फुट्नु कसैको पनि हितमा हुँदैन, यसले नेपालको शान्तिप्रक्रियालाई पनि अवरुद्ध पार्न सक्छ, नेपालमा स्थिरता कायम गर्न पनि मद्दत पुर्‍याउँदैन, त्यसैले सकभर असमझदारीहरू मेटाएर मिलेरै जाँदा राम्रो हुन्छ’ भनी हामीसँग चिन्ता प्रकट गरेकै हो । सायद अर्को पक्षलाई पनि उहाँहरूले त्यही भन्नुभएको थियो होला । तर, अहिले दुई अलग पार्टी आ–आफ्नो नीति र एजेण्डामा अघि बढिरहेको सन्दर्भमा चीनले त्यस्तो केही भनेकै छैन । अलग नहुनु भइसकेपछि चीनले दुवै पार्टीलाई आ–आफ्नो स्थानमा समान रूपले नै महत्त्व र मर्यादा दिएको अनुभूति हामीले गरेका छौँ । पार्टी मिलोस् भन्ने चीनको चाहना हुन पनि सक्ला तर ‘मिल है’ भनेर भनेको छैन । वास्तवमा एमाओवादीसँग यत्तिकै एकता हुन सक्दैन भन्ने चीनका नेताहरूलाई पनि थाहा छ । कम्युनिस्ट पार्टीका त्यति अनुभवी नेताहरूलाई कुन आधारमा एउटा पार्टी बन्छ, कुन आधारमा बन्न सक्दैन भन्ने राम्ररी थाहा भएकाले त्यत्तिकै उहाँहरूले मिल या नमिल भनी हामीलाई भन्ने कुरै आउँदैन ।
० चीनलाई त आफूले ‘आदेश’ दिएपछि दुई माओवादी एक हुन्छन् भन्ने पनि त राम्ररी थाहा होला नि ?
– त्यो मलाई थाहा भएन । तर, हामी एक हुने कि नहुने भन्नेचाहिँ हाम्रै कुरा हो । पार्टी फुट्नुमा हाम्रो आन्तरिक कुरा थियो । कुनै शुभेच्छुकले सुझाव दिनु एउटा कुरा हो, सुझावलाई हामी सकारात्मक रूपले नै लिन्छौँ । चीनले चाहेर फुटाउने र चीनले चाहेरै एक हुने कुरा आउँदैन र त्यो भूमिका चीनले खेल्दा पनि खेल्दैन । सायद दक्षिणतिरबाट चाहिँ त्यस्तो हुने गरेको छ र उत्तरबाट पनि यस्तो भूमिका निर्वाह होस् भन्ने कसैले चाहेर यस्तो कुरा आएको हो कि ?!
० हतियार नै उठाउनचाहिँ तपाईंहरूलाई चीनले समर्थन दिएन हो ?
– न अहिले हामी हतियार उठाउने मानसिकतामा छौँ न त त्यहाँ यस विषयमा कुनै कुरा नै उठ्यो । नेपालमा नसोचिएको कुरा चीनमा गएर कसरी गर्छौं हामी ?
० जनविद्रोहको कार्यदिशा त पास गरेको छ नि तपाईंको पार्टीले, यो के हो ?
– कम्युनिस्ट पार्टीका लागि जनविद्रोह भन्ने कुरा कुनै नयाँ होइन, हरदम यो सोच त रहन्छ । तर, हामी तत्कालै जनविद्रोहमा जाने कुनै योजना छैन । हामी त यतिबेला दुईवटा विकल्पमा कुरा गरिरहेका छौँ, एक– हामीले उठाएका मागलाई पूरा गरेर संविधानसभाको निर्वाचनतिर जाऔँ, अर्को– यो पूरा गर्न सकिन्न भने फेरि जनादेश लिऔँ र नेपालमा अर्को संविधान बनाऔँ । हामी सशस्त्र जनविद्रोहको पक्षमा अहिले छैनौँ । त्यस्तो पर्‍यो भने त हामी जनविद्रोहमा जानैपर्ने अवस्था आयो भनेर पहिलेझैँ सार्वजनिक अपिल नै गरिहाल्छौँ नि ।
० आमजनताको बुझाइमा तपाईंहरू चीनको अन्धसमर्थन गर्नुहुन्छ तर भारतप्रतिचाहिँ पूर्वाग्रही हुनुहुन्छ भन्ने छ, किन यस्तो ?
– यो बुझाइ या भनाइ गलत हो । अर्को कुरा चिनियाँ पार्टी या त्यहाँका नेताहरूले हामीलाई बोलाउँछन्, विभिन्न छलफल गर्छन् तर भारतका नेताहरू त्यसो गर्दैनन् । विधिवत् रूपले हाम्रो पार्टीलाई भारतले बोलाएको छैन । हामीलाई बोलाएर छलफल नै नगर्ने गरेकाले बुझ्नेहरूले यस्तो बुझेका होलान् ।
० त्यसो भए यतिबेला भारतबाट बोलावट आओस् भन्ने पनि मनसुवा छ होइन तपाईंहरूको ?
– भारत पनि हाम्रो मित्रराष्ट्र हो भने हामीले उससँग दुस्मनी गर्नुपर्ने कारण त के छ र ? छिमेकी मित्रराष्ट्रका हिसाबले उससँग मिलेरै नेपालको विकास गर्नुपर्छ र गर्न सकिन्छ भन्ने हाम्रो पनि बुझाइ छ । वर्तमान सन्दर्भमा उसले हामीलाई बोलाइहालेछ भने के गर्ने भनी पार्टीभित्र छलफल गरेर तय गरौँला । नयाँदिल्ली हाम्रा लागि कुन बिरानो स्थान हो र ? भारतमा हाम्रो सङ्गठन छ, आफ्ना नेपाली दाजुभाइ छन्, उनीहरूसँग हाम्रो काम हुन्छ, थुप्रै मित्र पनि छन् इन्डियामा, जान त गइन्छ नि । भारत जाँदैमा के त्यहाँको सरकार या सरकारी मान्छेसँग नै भेट गर्नुपर्छ या गरिन्छ भन्ने छ र ? त्यत्रा शुभेच्छुक र समर्थक त्यहाँ छन् भने भारत जान हामीलाई रोक्ने पनि कसले र किन ?
० अन्त्यमा, आगामी मङ्सिरमा नेपालमा संविधानसभाको चुनाव होला कि नहोला ?
– आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन असम्भव छ । चुनावी वातावरण बनेकै छैन, वातावरण बनाउने हो भने वर्तमान प्रक्रियाहरू खारेज गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने हुन्छ । यसो गर्न मङ्सिरसम्मको समय अब अपुग हुन्छ । यसर्थ मङ्सिर ४ मा निर्वाचन हुँदैहुँदैन, यो निश्चित कुरा हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४