राजधानीवासीलाई पानी खुवाउने दायित्व अब इटालियन कम्पनीको काँधमा

१ श्रावण २०७०, मंगलवार ०९:४६ मा प्रकाशित

काठमाडौं, १ साउन । मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ निर्माण कार्यका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)सँग सोमबार ठेक्का सम्झौता भएको छ । यस सम्झौतासँगै २०७२ सालभित्रै आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य किटान गरिएको छ । आयोजनाको मुहान र सुरुङ निर्माण कार्य मेलम्ची आयोजनाको अहम् पाटो हो ।
यसअघि सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २७ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा मेलम्ची आयोजनाले चाइना रेलवेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको हो । इटालियन कम्पनीसँगको सम्झौताअनुसार मुहान र सुरुङ ३६ महिनामै सम्पन्न हुने समयावधि तोकिएको छ ।
चाइना रेलवेले ठेक्का सम्झौता रद्द गरी बीचमै काम छाडेर हिँडे पनि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाएको थियो । त्यसपछि बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि ऊसैसँग ठेक्का सम्झौता गरिएको मेलम्ची आयोजनाले जनाएको छ ।
मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ । सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी ल्याइनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजित मुहान र सुरुङ निर्माण सम्झौता कार्यक्रममा मन्त्री छविराज पन्तले मेलम्ची खानेपानी आयोजनालाई सरकारले महत्वपूर्ण प्रोजेक्टको रूपमा राखेको ठेक्का सम्झौताले आयोजना समयमै सम्पन्न हुने विचार व्यक्त गरे । मुहान र सुरुङ निर्माणका लागि भएको ठेक्का सम्झौताले आयोजना पूरा हुँदैन कि भन्ने शंकालाई निवारण गरिदिएको मन्त्री पन्तको भनाइ थियो । सो अवसरमा एडीबीका कन्ट्री डाइरेक्टर किनिची योकोयोमाले बैंकले मेलम्ची आयोजनालाई ठूलो प्रोजेक्टमा लिएको र आयोजना समयमै पूरा हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस