ज्ञानेन्द्रसँग सहकार्य हुँदैन : अध्यक्ष थापा

२८ चैत्र २०६८, मंगलवार १३:२१ मा प्रकाशित

वीरगन्ज, २८ चैत । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अगामी जेठ १४ भित्रमा सङ्घीयतासहितको पूर्ण लोकतान्त्रिक संविधान आउने सम्भावना अत्यन्त न्यून रहेको बताएका छन्। आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले भने- ‘अगामी जेठ १४ भित्रमा संविधान ल्याउनका लागि तोकिएका प्रक्रियालाई छोट्याउनुपर्ने र यसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष थापाले अहिले मुलुक अन्योल र अनिश्चिततातर्फ अगाडि बढिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई संरक्षण गर्नका लागि प्रजातान्त्रिक शक्तिहरुबीच बृहत् एकता हुनुपर्दछ र त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताए।

एक प्रश्नको जवाफमा अध्यक्ष थापाले आफ्नो पार्टी गणतन्त्र र सङ्घीयतालाई स्वीकार गरेर आएको पार्टी भएकाले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो दलको कुनै सहकार्य हुनै नसक्नेमा विश्वस्त रहन सबैसँग आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले सर्वोच्च अदालतको निर्णय र आम नेपाली जनता एवम् अन्तर्राष्ट्रिय जगतको दबाबका कारण अगामी जेठ १४ भित्रमा संविधान निर्माण गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गर्दै चैत ३० गतेभित्र माओवादीले भनेअनुरुप हतियार र लडाकु व्यवस्थापन नभए शान्ति र संविधान प्रक्रिया अघि बढाउन नसकिने धारणा व्यक्त गरे।

उनले शान्ति प्रक्रिया टुङ्गोमा पुगेपछि नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यो सरकारले नै संविधान जारी गर्ने बताए।

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले सत्य निरुपण आयोग बनाउँदा गम्भीररुपमा मानवअधिकार उल्लङ्घन गर्ने र जघन्य अपराधमा संलग्नलाई क्षमादान दिन नहुने अडान आफूहरुले राख्दै आएको स्पष्ट पारे। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न