गोलमेच सम्मेलन अनावश्यक : नेका सभापति कोइराला

३० असार २०७०, आईतवार ०७:२५ मा प्रकाशित

काठमाडौं, ३० असार । स्वास्थोपचारसँग सम्बन्धित दुई साता लामो अमेरिका भ्रमणबाट नेपाली कांग्रेसका सभापति सुशील कोइराला शनिबार काठमाडौं फर्कनुभएको छ । ज्रिबोको नियमित परीक्षणका लागि अमेरिकामा जानुभएका कोइरालाले स्वदेश फर्कने क्रममा शनिबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुराकानी गर्दै निर्वाचनविरोधि दलहरुसमेत राखेर गोलमेच सम्मेलन गरिने कुरा सत्य नभएको बताउनुभयो । उहाँको अनुपस्थितिमा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका उपसभापति रामचन्द्र पौडेलले कांग्रेस गोलमेच सम्मेलनका लागि तयार रहेको अभिव्यक्ति दिनुभएको थियो भने कोइराला अमेरिकामै रहेका बेला साताअघि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले संविधानसभा निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादीले अघि सार्दै आएको गोलमेच सम्मेलनको मागलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।
कांग्रेस त गोलमेच सम्मेलन गर्न तयार भएछ नि भनी सोधिएको प्रश्नमा सभापति कोइरालाले प्रतिप्रश्नात्मक जवाफ दिनुभयो, ‘निर्वाचन गराउने बेलामा केको गोलमेच ?’ उहाँले निर्वाचनको विकल्पमा कुनै पनि विषयमा कसैसँग पनि छलफल नहुने प्रस्ट्याउनुभयो । ‘पहिले चुनावमा आउन् त्यसपछि मात्र अन्य कुरा हुन्छ ।’ निर्वाचनमा नआए त्यस्ता दललाई जनताले पनि छाड्ने उहाँको भनाई थियो ।
माओवादीले अध्यक्ष मोहन वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ताटोलीसमेत गठन गरिसकेको छ तर कोइरालाले गोलमेच सम्मेलनमा सबै दललाई सहभागी गराएर निष्कर्षमा नपुगिने जनाउनुभयो । निर्वाचन आयोगमा सयौं दल दर्ता भएकाले ती सबलाई राखेर गोलमेच सम्मेलन सम्भव नहुने र त्यसबाट कुनै सकारात्मक नतिजा पनि ननिस्कने कोइरालाको ठहर छ ।
आगामी मंसिर चारमै निर्वाचन हुने ठोकुवा गर्दै सभापति कोइरालाले निर्वाचन हुँदैन भनेर अभिव्यक्ति दिएकोमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
अमेरिकादेखि युरोपियन युनियन तथा सबै छिमेकी राष्ट्रले निर्वाचन होस् भन्ने चाहना राखेको भन्दै कोइरालाले सबै मित्रराष्ट्रले मुलुकमा राजनीतिक स्थिरता चाहेकाले त्यसका लागि पनि निर्वाचनको विकल्प नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४