‘निर्वाचनको औचित्य नरहेको’ बुझाउन बैद्य चीन गएको अनुमान

२६ असार २०७०, बुधबार ०६:५८ मा प्रकाशित

काठमाडौं, २६ असार । विदेश जानुअघि मिडियावजी गर्ने र आमकार्यकर्ता तहसम्म झ्याली पिटाएर आफूलाई चर्चाको केन्द्रमा राख्ने नेपाली नेताहरुको आमप्रवृति विपरित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य सोमबार राती सुटुक्क चीन प्रस्थान गरेको सन्दर्भ यतिबेला विशेष चासो र चर्चाको सन्दर्भ बन्न पुगेको छ । पार्टीकै उपल्ला तहका सहकर्मीहरुलाई समेत सुइँको नदिई यसरी अध्यक्ष वैद्य पार्टी उपाध्यक्ष सीपी गजुरेललाई साथ लिएर चीन जानुले भ्रमणलाई अत्यन्त गोप्य राख्ने प्रयत्न गरिएको सहजै अनुमान लगाउन सकिन्छ । आखिर जानुअघि जति नै गोप्य राखे पनि गएपछि त सार्वजनिक भइहाल्छ भने किन यसरी पहिले नै चीन जाने कुरा बताइएन ? यो प्रश्न पार्टीइतरमा मात्र नभई सो पार्टीभित्रै पनि अत्यन्त ज्वलन्त रुपमा उठ्न पुगेको स्रोतको कथन छ । दक्षिण छिमेकी भारतका विदेशमन्त्री सलमान खुर्सीद नेपाल आउने दिनकै अघिल्लो रात वैद्य चीन प्रस्थान गरेको विषयलाई भारतीय मामलासँग जोडेर हेर्न खोजिए पनि खुर्सीदको आगमनसँग यस भ्रमणको कुनै सम्बन्ध नभएको र वैद्यको चीन भ्रमण एक महिना अघि नै तय भएको बुझिएको छ । चिनीया नेता जेइचीको भ्रमण पहिले नै चिनिया सरकारले माओवादी नेतृत्वलाई भ्रमणको निम्तो दिएको माओवादी उपल्लो स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार मुख्यतः मंसिर ४ मा घोषित चुनावमा सहभागिता जनाउने या नजनाउने, राष्ट्रिय स्वाधिनता र एमाओवादीसँग एकीकरणको विषयमा के गर्ने भन्ने मुद्दालाई एजेण्डा बनाएर वैद्यको चीन यात्रा भएको हो । पार्टीले यता सरकार र अन्य पार्टीसँग छलफलका लागि वार्ता कमिटी बनाएकै भोलिपल्ट भएको भ्रमणको अर्थचाहिँ विशेष रहेको विश्लेषकहरुको टिप्पणी छ ।
स्मरण रहोस्, नेकपा-माओवादीलाई पछिल्लो समय चीनका तर्फबाट समेत निर्वाचनका लागि दबाब दिँदै आएको बताइन्छ । यस्तो दबाबमा परेको परिवेशमा चीनसमक्ष आफ्ना कुरा राखेर सकभर निर्वाचनमा सहभागी नहुनका लागि चीनलाई मनाउने प्रयत्न वैद्यका तर्फबाट भ्रमणका क्रममा हुन सक्ने अनुमान पनि गरिएको छ । चिनिया स्टेट काउन्सिलर याङ्ग जेइचीले नेपाल भ्रमणका क्रममा संविधान सभामा सहभागिता जनाउन माओवादीलाई आग्रह गरेका थिए । आफ्नो एजेन्डालाई राम्ररी बुझाउन सके चीनले चुनावको एजेन्डालाई प्राथमिकता नदिने र आन्तरिक राजनीतिमा आफू हावी हुने बुझाई माओवादीको रहेको छ । हालै सम्पन्न माओवादीको पोखरा बैठकमा चिनियाँ नेताँरूसँग घरेलु राजनीतिक अप्ठेरोको कारण पार्टीले लिनुपरेको चुनाव बहिस्कार र वार्ताको रणनीति, बढ्दै गएको विदेशी हस्तक्षेपबारे प्रष्ट पार्ने सहमती भएको माओवादी स्रोतको कथन छ ।
बुझिएअनुसार वैद्यले चिनिया उपमन्त्री आइ पिङ्ग र चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग प्रमुख वाङ जियारूईसंग भेटवार्ता गर्ने छन् । चिनिया राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरुसँग भने यसपटक उनको भेट हुने सम्भावना छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर