खुर्सीदले को-कोसँग गरे खुसामद ?

२५ असार २०७०, मंगलवार १९:३८ मा प्रकाशित

काठमाडौं, २५ असार । एकदिवसीय नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सीद काठमाडौंमा ९ घण्टा बिताएर भारत फर्किएका छन् । मंगलबार बिहान साढे ९ बजे विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका खुर्सिद त्यहाँबाट सोझै सिंहदरवार पुगेका थिए । सिंहदरवारमा आफ्ना समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँगको ४५ मिनेट भेटपछि उनले पौने ११ मा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र त्यसपछि शितल निवास पुगेर राष्ट्रपति रामवरण यादवसंग भेटेका थिए । 
सिंहदरवारमा उनको उपस्थितिमा दुई देशबीचको सहयोग सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौतअनुसार भारत सरकारले आगामी संविधानसभा निर्वाचनका लागि ७ सय ६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ। अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर भएको हो । आयोगलाई ४८ र मन्त्रालयलाई ७ सय १६ वटा बाहन उपलब्ध गराउनेसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले हस्ताक्षर गरेका हुन्।
अध्यक्ष रेग्मीसँगको भेटमा विदेशमन्त्री खुर्सिदले नेपालमा निर्वाचन मिति घोषणा भएकामा खुसी व्यक्त गर्दै निर्वाचन सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। उनले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व र समृद्धिका लागि भारतको पूर्ण रुपमा समर्थन र सहयोग रहने पनि दोहोर्‍याए ।
परराष्ट्रमन्त्री घिमिरेले खुर्सीदलाई दिउँसो दिवाभोज दिए भने त्यसपछि होटेल द्वारिकाजमा विभिन्न दलका शीर्ष नेताहरुसंग भेटवार्ता सुरु गरे । सबै प्रमुख दलका नेताहरुले पालैपालो खुर्सीदसँग भेटवार्ता गरे । एमाओवादी अध्यक्ष प्रचण्ड समेत भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्नकै लागि पत्नीको उपचार बीचैमा अलपत्र पारेर मंगलबार अपरान्ह काठमाडौं आइपुगेका थिए । भेटवार्तामा एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महरा, नेताहरु वर्षमान पुन, राम कार्की र हिसिला यमी सहभागी थिए। आधा घण्टा भएको भेटवार्तामा एमाओवादीका अध्यक्ष प्रचण्डले केही समय पहिले गरेको भारत भ्रमणको विषयमा समेत चर्चा भएको विदेश विभाग प्रमुख राम कार्कीले जानकारी दिए।
खुर्सीद मंगलबार साँझ नयाँदिल्ली फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४