नेकपा–माओवादीद्वारा वार्ताटोली गठन, सरकारले पनि टोली गठन गरयो

२५ असार २०७०, मंगलवार ०७:०० मा प्रकाशित

काठमाडौं, २५ असार । नेकपा–माओवादीलगायत संविधानसभा निर्वाचनको विपक्षमा रहेका दलहरूसँग वार्ता गर्नका लागि सरकारले गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गरेकै दिन सरकारले पनि टोली गठन गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीको नेतृत्वमा १६ सदस्यीय वार्ता टोली गठन गरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । असन्तुष्ट दलसँग वार्ता गरेर निर्वाचनको वातावरण बनाउने जिम्मेवारी दिइएको वार्ता टोलीमा वरिष्ठ सचिव तथा केही सहसचिवहरू सदस्य छन् ।
यसैगरी निःशर्तरुपमा सरकार, उच्चस्तरीय राजनीतिक समिति र दलहरूसँग पनि वार्ता गर्न तयार रहेको जनाउँदै नेकपा– माओवादीले पनि सोमबार नै सरकार एवम् राजनीतिक दललगायतसँग वार्ता गर्नकै लागि अध्यक्ष मोहन वैद्यको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। सो समितिमा उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ सदस्य रहेका छन् ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै बहिष्कार र वार्ताको प्रक्रियालाई सँगसँगै लैजाने सो पार्टीले जनाएको छ।
नेकपा–माओवादीले यथास्थितिमै संविधानसभाको निर्वाचनको कुनै औचित्य नभएकाले त्यसको सक्रिय एवम् सशक्तरुपमा बहिष्कार गर्ने र आन्दोलनको आवश्यकताअनुसार वार्ता तथा सम्झौताको ढोका पनि खुल्ला राख्ने निर्णय गरेको पत्रकार सम्मेलनमा मोहन वैद्यले बताए । अध्यक्ष वैद्यका अनुसार मुलुकमा विद्यमान सङ्कटको समाधान र अग्रगामी निकासका लागि बिनासर्त नेकपा–माओवादी तथा आन्दोलनकारी ३३ दलसँग नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्न खोजिएको हो भने सबै विषयमा वार्ताको टेबलमा खुला छलफल गर्नका लागि नेकपा–माओवादी पनि तयार रहेकाले सोअनुरुप वार्ता समिति गठन गरिएको स्पष्ट पारे । देशव्यापीरुपमा पर्चा, पोष्टर, भित्तेलेखन गोष्ठीजस्ता प्रचारात्मक कार्यको माध्यमद्वारा साउन १० गतेबाट बहिष्कार आन्दोलन सुरु गरी यसमा अन्य राजनीतिक शक्तिसँग समेत आवश्यक तालमेल मिलाउने पनि उनले बताए । अध्यक्ष वैद्यले भने “निःशर्तरुपमा सरकार, उच्चस्तरीय राजनीतिक समिति र दलहरूसँग पनि वार्ता गर्न तयार छौँ तर वार्ताका लागि मङ्सिर ४ को निर्वाचन मिति खारेज नगर्ने भन्ने जस्ता सर्त राख्न हुँदैन।”
गत चैत १ गते चार दलले गरेको ११ बुँदे सहमतिको खारेजी, अग्रगामी राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेचसभा तथा दलीय सहमतिका आधारमा राष्ट्रिय संयुक्त सरकारको गठन र सहमति नहोउन्जेलका लागि निर्वाचन प्रक्रियाको स्थगनलगायतका मागहरू भने यथावतै रहेको सो पार्टीले जनाएको छ ।
वैद्यले प्रचण्ड नेतृत्वको एमाओवादीले आफ्नो पार्टीसँग एकताको कुरा निर्वाचनमा एमाले र कांग्रेसलाई तर्साउन ल्याइएको भ्रम भएको पनि प्रस्ट्याए । एमाओवादीसँग मौजुदा हालतमा एकता हुन नसक्ने उनको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४