संविधानसभा चुनाव विथोल्न तराइका भूमिगत समूहबीच एकता, तत्काल सशस्त्र गतिविधिको चेतावनी

२१ असार २०७०, शुक्रबार १०:०७ मा प्रकाशित

काठमाडौं, २१ असार । ४ मंसिरका लागि घोषित दोस्रो संविधानसभाको चुनाव बिथोल्ने, तराईमा सक्रिय अन्य सशस्त्र संगठनलाई पनि एकताको आह्वान गर्ने र अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा गएका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई ‘मधेसको ‘गद्दार’ घोषित गर्ने सहमतिसहित तराईमा भूमिगत रूपमा सक्रिय एक दर्जन सशस्त्र संगठनबीच एकता भएको छ । भारत बिहारको अज्ञातस्थलमा भएको एक साता लामो छलफलपछि उनीहरूबीच एकता भएको हो । एकीकृत संगठनको नाम ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ राखिएको छ । 
मोर्चाको अध्यक्षमा राजन मुक्ति चुनिएका छन् । बैठकमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा पनि सहभागी भए पनि गोइतले आफ्नो नेतृत्वमा मोर्चा गठन हुनुपर्ने भनी राखेको प्रस्ताव अरुले अस्वीकार गरेपछि उनले बैठक त्यागेको स्रोतको दाबी छ । स्रोतका अनुसार गोइत समूहबाहेक १२ वटा संगठनबीच गत बुधबार नै एकता बैठक सम्पन्न भएको हो ।
बताइएअनुसार राजन नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, नागराज नेतृत्वको तराई कोब्रा, प्रशान्त नेतृत्वको तराई राष्ट्रिय मुक्ति मोर्चा, जीवन नेतृत्वको तराई–मधेस मुक्ति टाइगर र भाष्कर मुक्ति नेतृत्वको तराई कम्युनिस्ट पार्टीलगायत दर्जन संगठनबीच एकता भएको हो । जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह) यसअघि २६ पुस ०६५ मा सरकारसँग वार्तामा बसेको थियो ।
एकीकृत मोर्चाले मधेसी दलहरूले तराईमा राखेका कार्यालय तत्काल खाली गर्न चेतावनी दिएको छ । मोर्चाको बैठकले मधेसमा रहेका प्रहरीचौकी तथा सशस्त्र प्रहरीका शिविर १५ दिनभित्र खाली गर्नसमेत अल्टिमेटम दिएको छ । ती चौकीको दुई सय मिटरवरिपरि रहेका बस्ती १० दिनभित्र खाली गर्न मोर्चाले चेतावनी दिएको छ । १५ दिनपछि तराईमा सशस्त्र गतिविधि तीव्र बनाउने निर्णय पनि बैठकले गरेको बताइएको छ ।
यसैबीच तराईमा सक्रियमध्ये पाँच सशस्त्र संगठनले सरकारसँग वार्ता गरी हतियारसमेत बुझाएका छन् । ६ वटा संगठन भने शान्तिवार्तामा आएर सरकारसँग सहमति गरेका छन् । हतियार बुझाउने संगठनहरूमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगत सिंह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह, संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा पवन समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्या समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा विनोद चौधरी समूह छन् । यसैगरी वार्तामा बसेर सहमति गर्नेहरूमा खम्बुवान मुक्ति मोर्चा (संयुक्त), तराई जनतान्त्रिक पार्टी मधेस (वीरेन्द्र साह), तराई कोब्रा (शिवा समूह), माओवादी कम्युनिस्ट केन्द्र नेपाल, जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह), संयुक्त जातीय मुक्ति मोर्चा नेपाल छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र