कम्युनिस्ट शासनका अवशेषहरू -केदार सुवेदी

२७ चैत्र २०६८, सोमबार १८:५९ मा प्रकाशित

एकताका करिब २३ देशमा फैलिएको र जहाँत्यही रुवाबासी मच्चाएर आफैं समाप्त हुँदै आएको साम्यवादी शासनका संसारभरि नै केही समानताहरु छन्। कतिपय ठाउँमा ती शासन पतन भए तर तिनले छाडेका अवेशष वा तिनले त्यो समाजलाई कस्तो पारेछन् भन्ने केही नमूना–

एक जोसेफ स्टालिन कम्युनिस्ट पार्टीले सबैभन्दा लामो समय शासन गरेको देश सोभियत संघमा सबैभन्दा लामो समय, करिव ३० वर्ष (१९२२–१९५३) शासन गर्ने व्यक्ति हुन्। उनी बितेको करिव ६० वर्ष र त्यसमध्ये त्यो शासन ढलेको २२ वर्ष भयो। यति लामो शासक यति छिट्टै त्यो देशका जनताका लागि कतिसम्म घृणित रहेछन् भने हालै उनको फोटो छापिएको एउटा नोटबुक बजारमा देखिँदा पसलबाटै त्यसलाई खोसेर सर्वसाधारणाले च्यातिदिए, सरकारविरुद्ध देशव्यापी आक्रोश उत्पन्न भयो। सरकारले त्यो नोटबुक माथि प्रतिवन्ध लगाउन पर्‍यो। दुई करोडभन्दा बढीको संख्यामा नरसंहार मच्चाउने व्यक्तिको सौम्य आकारको फोटो विद्यार्थीका नोटबुकमा देखिँदा तिनका मस्तिष्कमा नै असर पर्ने भन्दै सोभियती जनताले यसको विरोध गरेका हुन्। नेपाली पत्रपत्रिका कान्तिपुर, चैत्र २४) मा पनि यो समाचार आयो। रुसका जनताले यसअघि नै लेनिनको शालिक ढालेर लेनिनवादप्रति आफ्नो आक्रोश पोखिसकेका थिए।

त्यो देशका जनताले घृणा गरेर, त्यसको अवशेषसमेत मेट्न खोजिरहेका यी दुवै व्यक्ति नेपालमा भने सम्मानित छन्। नेपाली कम्युनिस्ट पार्टीको कार्यालय र तिनका नेताका निवासमा लेनिन र स्टालिनको फोटो महान् नेताका रूपमा झुन्डिइरहेका छन् र उनले आयोजना गर्ने सार्वजनिक समारोहमा त्यसलाई माल्यार्पणबाट सम्मान गरिरहिएको छ।

दुई: नेपालका कम्युनिस्ट पार्टीहरूले त्यसरी नै सम्मान गरिरहेका अर्का ‘महान् नेता’। हुन माओ। उनले चीनमा त्यस्तै नरसंहारकारी कम्युनिस्ट शासन २६ वर्ष (१९४९–१९७५) सम्म चलाए। उनको शासनकालमा साढे २ करोड मान्छे मारिएको अभिलेखहरू छन्। उनको मृत्युको ३७ वर्षपछि अर्थात् २०१२ को सुरुमा चिनियाँ लेखक (वेङ म्वाङह्वाङ ए लिदटिल रेड बुक)ले भनेः ‘सचेत भएर विश्वलाई नियालेपछि यो थाहा भयो, हामील्ााई संसारकै महान् समाजवादी मुलुक भनेर सिकाइएको राष्ट्र त वास्तवकै गरिब मुलुकहरूमध्येको एउटा पो रहेछ। हाम्रा ऐतिहासिक अभिलेखालयबाट बाहिर आएका सूचना अध्ययन गर्दा हामीलाई सन्त नेता भनिएका व्यक्ति त वास्तवमा बर्बर अधिनायक पो रहेछन् र उनको राजनीतिक अभियानका क्रममा दसौंलाख मानिसको मृत्युका लागि जिम्मेवार रहेछन् भन्ने थाहा पाइयो (नागरिक दैनिक १५ पुस २०६८)।

माओ चीनमा यतिखेर कुन अवस्थामा छन् र त्यहाँका नागरिकले उनका अवशेषहरू कसरी मेटाउँदैछन् भन्ने सन्दर्भमा उनले लेखेका छन्– मेरो गृहनगरमा बादशाहको चिहान खन्दा निस्केका पुरातात्विक सम्पत्तिजस्तै नयाँ प्रकाशमा माओको व्यक्तित्व पनि धुजाधुजा भयो। उनका सर्वव्यापी मूर्तिहरू भत्काउन थालिए र उनको चित्रअंकित ब्याचहरू भाँडाकुँडा बनाउनका लागि पगालिए।

तीन: कम्युनिस्ट पार्टीको तानाशाही र व्यक्तिहत्या तथा तिनका कारण पीडित नै लथालिंग भएको अवस्था भोगिरहेका एउटा कम्युनिस्ट पार्टीले शासन गरिरहेका देशका नागरिक अर्को देशमा कम्युनिस्ट पार्टीको तानाशाही नचलोस्, सुधार होस् भन्ने कामना गरिरहेको अवस्था पनि प्रकट भइरहेका पाइन्छ। उत्तरकोरिया कम्युनिज्मको एउटा अत्यन्त क्रूर रूपमा छ। त्यहाँ करिब ७० वर्ष (१९९४–२०१२) कम्युनिस्ट पार्टीको निरन्तर शासन चलिरहेको छ। त्यहाँ त्यो शासनका हजुरबुवा बितेर अहिले नाति पुस्ता शासनमा छन्। त्यो शासन कस्तो रह्यो भन्नेबारे यिनै चिनियाँ लेखक लेख्छन्, ३५ वर्ष बितिसकेको छ तैपनि माओको अत्याचारको प्रतिध्वनि उत्तरकोरियामा गुन्जिएको देख्दा दिक्क लाग्छ। यस घडीमा उत्तरकोरियाका हकमा अपेक्षा गर्न सकिने के हो भने माओको मृत्युपछि चीनमा भएजस्तै जनतालाई सास्ती दिँदै आएको यो एकलकाँटे मुलुकको पनि रूपान्तरण होस् भन्ने नै हो।

चार: यी कीराहरू! कति माग्छन्!! जति दिए पनि पुग्दैन? यो भनाइ अर्को एउटा कम्युनिस्ट पार्टी रुमानियाका अध्यक्ष, सर्वोच्च शक्तिमान व्यक्ति चाउचेस्कुकी प्रथम श्रीमतीको हो। उनले रोमानियाका जनतालाई कीराको संज्ञा दिइन्। मुखभरिमा अन्नदेखि राज्यसँग जनताले कतिपय सुविधाहरू माग्नुपर्ने हुन्छ। त्यही क्रममा जनताले आवाज उठाउँदा उनले जनतालाई कीराहरू र तिनलाई जति खानेकुरा दिए पनि नपुग्ने भन्दै सार्वजनिकस्थलमै यस्तो प्रतिक्रिया दिएकी छन्। उनी आफैं चाहिँ कति सौखिन थिइन् भने उनका हजारौं जोर जुत्ता जसमा सबै हीराजडित हुन्थे पछि यो पार्टी सत्ताच्युत भयो। त्यहाँका आम नागरिकले यो पतनलाई ‘ह्याकुलाबाट मुक्ति’ भन्ने संज्ञा दिए। अहिलेसम्म यो मान्यता कायमै छ।

पाँच: कम्युनिस्ट पार्टीले शासन थालेको र संसारकै सबैभन्दा लामो समयसम्म रहेको रूप आफैं चाहिँ कस्तो थियो? साम्यवादका विशेषज्ञ भनी चिनिएका एलएनक्रिट समनले १९१७ देखि १९२० बीच सोभियत अर्थतन्त्रमा भएका विकास क्रमलाई मानव जातिको इतिहासमै पहिले कतै नभएको महाविनाश भनी बताएका छन्। १९२६ मा उनले दिएका हुन्। यो बेलासम्म त्यहाँको कम्युनिस्ट पार्टीले शासन गरेको नौ वर्ष बितेको थियो।

यो महाविनाश त्यहाँ कम्युनिस्ट पार्टी बोल्सेभिकले शासन गरेदेखि प्रारम्भ भएर त्यो पार्टी ढल्दाको बेलासम्म नै कायम रह्यो।

६: रूसको कम्युनिस्ट पार्टीले ७० वर्षसम्म शासन गर्दा त्यहाँको समाजलाई के दियो? यो झन् डरलाग्दो पक्ष छ। विश्वकै कम्युनिज्मको अध्ययन गरेका हावर्ड विश्वविद्यालयका इतिहासका वरिष्ठ प्राध्यापक रिचर्ड पाइप्सले आफ्नो पुस्तक साम्यवाद एक इतिहास नामक पुस्तकमा त्यसको वर्णन गरेका छन्। उनी अनुसार सोभियत संघको अहिलेको समाज अपांगजस्तै भएको छ। सबैभन्दा लामो समयसम्म कम्युनिस्टशासन व्यवस्था चलेको रूसमा परेका प्रभावहरूमध्ये एउटा के देखिएको छ भने त्यहाँको आम जनसमुदायमा आत्मनिर्भरताको भावना हराउन पुगेको छ। सोभियत शासनअन्तर्गत निजी मामलाबाहेकका हरेक विषयमा माथिबाटै सबै आदेशहरू आउनुपर्दथ्यो र कुनै कुरा आफ्नै सक्रियतामा गर्न खोज्नुलाई अपराध मानिन्थ्यो। यसले गर्दा त्यो राष्ट्रले ठूला वा साना सबै विषयहरूमा निर्णय गर्ने क्षमता गुमाएको छ। आपराधिक क्रियाकलापहरू अपवादमा पर्छन्। मानिसहरू आदेश पर्खेर बसिरहन्छन्।

सात: कम्युनिस्ट नेताहरू आफ्नो देशमा जुन सिद्धान्तबाट प्रेरित रहेर शासन गरे र गरिरहेका छन् त्यसलाई उनीहरूले पनि बुझेर गरेका थिए त? भन्ने प्रश्न खडा हुन्छ। सोभियत संघमा ११ वर्ष सर्वोच्च पदमा रहेका निकिता खुश्चेभका छोरा सर्जेइ खुश्चेभ आफ्ना पिताका बारे लेख्छन्– वास्तवमा साम्यवाद भनेको यथार्थ रूपमा के होला त भनेर बुझ्न मैले प्रयास गरें र म यसमा सफल भइनँ। … मैले आफ्ना बुबासँग साम्यवादको प्रकृतिबारे प्रकाश पारिदिनु हुन भनेर प्रयास पनि गरें, तर त्यसो गर्दा पनि कुनै पत्यारिलो जवाफ पाउन सकिन मलाई के लाग्यो भने उहाँ आफैं पनि त्यति धेरै प्रस्ट हुनुहुन्थेन। (निकिता खुश्चेभ ७०१)।
कम्युनिज्मका बारे के पढ्ने?

हावर्ड विश्वविद्यालयका इतिहासका वरिष्ठ प्राध्यापक रिचर्ड पाइज्सले मानवविकास क्रमलाई नै अवरोध पारेको विश्व साम्यवादी शासनका बारे अध्ययन गर्न चाहनेलाई केही सन्दर्भसामग्री प्रस्तुत गरेका छन्। उनको साम्यवाद एक इतिहास नामको पुस्तकमा कम्युनिज्मका बारे के पढ्ने भन्नेको एउटा अंश–

समग्र व्यावहारिक दृष्टिहरूबाट हेर्दा कम्युनिस्ट सिद्धान्त र व्यवहारबारे पढेर भ्याइनसकिने पाठ्यसामग्रीहरू उपलब्ध छन्, हावर्ड विश्वविद्यालयको पुस्तकालयमा यो विषयप्रतिमात्रै केन्द्रित गरी सूचीबद्ध गरिएका २० हजारभन्दा बढी ग्रन्थहरू छन्। यो विषयसँग सम्बन्धित सामान्य प्रकृतिका किताबहरू तथा विभिन्न जर्नल र अखबारहरूका लेखरचनाहरूसमेत गर्दा यस्ता सामग्रीहरू निश्चय नै लाखौंका संख्यामा पुग्दछन्। हावर्डको सूचीपत्रमा मार्क्सबारे ३,५६७ वटा र लेनिनबारे ४,३०१ वटा शीर्षकहरू अंकित छन्। यसैले यो पुस्तकमा परेका विषयको लागि दिइने कुनै पनि संक्षिप्त ग्रन्थसूची स्वभावतः धेरै छानिएको र मनमौजी किसिमको हुनु अनिवार्य छ। तर यहाँ तल वर्णन गरिएका अधिकांश पुस्तकहरूले आ–आफ्नै किसिमका अध्ययन सामग्रीहरूको सूची समावेश गरेका हुनाले कुनै पनि विषयमा थप अध्ययन गर्न इच्छुक पाठकहरूले अध्ययन सामग्रीबारे अरु जानकारी प्राप्त कुनै कठिनाइ अनुभव गर्नु नपर्ला।

सुवर्ण युगको विषयवस्तुसाग सम्बन्धित बौद्धिक इतिहासका लागि हेर्नुहोस् फ्रयांक ई. म्यानुएल र फ्रिजी पी. म्यानुएलले लेखेका पश्चिमी संसारमा कल्पना लोकको सोच (केम्ब्रिज, म्यास, १९७८)। अलेक्जान्डर ग्रेको समाजवादी परम्परा: मोजेजदेखि लेनिनसम्म (लन्डन, १९६३) ले यसबारे थप सामग्री उपलब्ध गराउँछ। मार्क्सवाद र यसका विभिन्न शाखाहरू बारेको मानव कृति हो लिस्जेक कोलाकोस्किको मार्क्सवादका प्रमुख धाराहरू ३ भाग (अक्सफोर्ड, १९७८)। एन्द्रजेज वालिकीको मार्क्सवाद र स्वतन्त्रताको अधिराज्यतर्फ फड्को (स्ट्यान्फोर्ड, १९९५) ले मार्क्सवादी सिद्धान्त र कम्युनस्टि व्यवहारबीचको सम्बन्धबारे विश्लेषण गरेको छ। पहिलो र दोस्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनहरूबारे जुलियस ब्राउन्थको अन्तर्राष्ट्रिय आन्दोलनको इतिहास (न्युयोर्क, १९६७) मा पढ्न सकिन्छ।

क्रान्तिकारी रुसबारे अध्ययन गर्न पाठकले मेरो कृतिहरू रुसी क्रान्ति (न्युयोर्क, १९९०) र बोल्सेभिक शासनअन्तर्गतको रुस (न्युयोर्क, १९९४) पढ्न सक्नुहुन्छ। यी दुई कृतिहरूको संक्षिप्त ग्रन्थका रूपमा रुसी क्रान्तिको संक्षिप्त इतिहास (न्युयोर्क, १९९५) प्रकाशित भएको छ। यी घटनाहरूको पृथक् विश्लेषण सिला फिजप्याटि्रयको रुसी क्रान्ति, दोस्रो संस्करण (अक्सफोर्ड तथा न्युयोर्क) बाट प्राप्त गर्न सकिन्छ। दुईजना विशिष्ट रुसी लेखकहरूले त्यो क्रान्तिको बारेमा आफ्नो प्रत्यक्ष अनुभवको विवरण छाडेका छन्: इभान बुनिन, सराप परेका दिनहरू (सिकागो, १९९८) र म्याक्सिम गोर्की, असामायिक विचारहरू (न्यु हेभन, कन १९९५)

सोभियत संघका संस्थापकको यसअघि गोप्य राखिएका अभिलेख सामग्रीहरू प्रयोग गरी लेखिएको जीवनी हो दिमित्री भोल्कोगोनोभको लेनिन नयाँ जीवनी (न्युयोर्क, १९९४)। साथै भोक्कोगोनोभले स्टालिन: विजय र त्रासदी (न्युयोर्क, १९९१) पुस्तक पनि लेखेका छन्। स्टालिन युगको राम्रो जानकारीयुक्त वर्णन रोय मेडभिडेभको इतिहासलाई जाँचुन दिउँ (न्युयोर्क, १९८९) मा पाउन सकिन्छ।

सोभियत इतिहासको एउटा भरपर्दो सर्वेक्षण दुईजना प्रवासी रुसी लेखकहरूले प्रस्तुत गरेका छन्; मिखाइल हेलर र अलेक्सान्डर नेक्रिचले, सत्तासीन हुन पुगेको कल्पना लोक सन् १९१७ देखि वर्तमानसम्मको सोभियत संघको इतिहास (न्युयोर्क, १९८६) शीर्षक किताबमा। सोभियत राज्यको मुख्य संस्थालाई आफ्नो शोधग्रन्थको विषय बनाएका छन् लिओनार्ड सापिरोले, सोभियत संघको कम्युनिस्ट पार्टी, दोस्रो संस्करण (लन्डन १९७०)। एकजना उच्च पदस्थ सर्वियाली कम्युनिस्ट मिलोभन जिलासले आफ्नो पुस्तक नयाँ वर्ग (न्युयोर्क, १९५७) मा सबैभन्दा पहिलोपल्ट सोभियत संघमा एउटा नवीन उच्च वर्ग स्थापित भइआएको तथ्यप्रति संसारलाई सतर्क गराएका थिए, यो वर्गले उपभोग गर्न थालेका विशेष सुविधाहरूलाई आफ्नो मुख्य विषय बनाएका छन्। मिखाइल भोस्लेन्स्कीले उनको किताब नोमेनक्लातुरा: सोभियत शासकवर्ग (गार्डेन सिटी, न्युयोर्क, १९८४) मा। आलेक नोभको सोभियत संघको आर्थिक इतिहास (लन्डन, १९८८) संक्षिप्त र आधिकारिक जानकारीले सजिएको छ।

अलेक्सान्दर सोल्झेनित्सनले सोभियत श्रम शिविर प्रणालीबारे एउटा अभिलेखबद्ध इतिहास लेखेका छन्ः गुलाग द्वीपसमूह, ३ भाग (न्युयोर्क, १९९१–९२)। स्टालिनद्वारा गराइएका नरसंहारहरूको विवरण प्रस्तुत गरिएको छ रोबर्ट कंक्वेस्टको महाआतंक: एउटा पुनर्मूंल्यांकन (न्युयोर्क, १९९०) मा।

साम्यवादप्रति विदेशी बुद्धिजीवीहरूमा देखिने आकर्षणको बयान दिइएको छ पाउल हल्यान्डरको राजनीतिक तीर्थालुहरू: पश्चिमेली बुद्धिजीवीहरूको सोभियत संघ, चीन र क्युबामा भएका यात्राहरू (न्युयोर्क, १९८१) भन्ने पुस्तकमा। यीमध्येका ६ जना प्रमुख लेखकहरूले त्यसबारे अनुभव गरेको वितृष्णा चाहिँ रिचर्ड क्रसमन, सम्पादक यस्तो भागवान् जो असफल भयो (न्युयोर्क, १९४९) पुस्तकको विषयवस्तु रहेको छ।

सोभियत संघको पहिलो आधा शताब्दी अवधिको विदेश नीतिको विश्लेषण दिइएको छ जर्ज केनानद्वारा लिखित रुस र पश्चिमी जगत् लेनिन र स्टालिनअन्तर्गत (बोस्टन, १९६१) र आडम उलामको विस्तार र सहअस्तित्वः सोभियत विदेशनीतिको इतिहास, १९१७–१९६७ (न्युयोर्क, १९६८) भन्ने पुस्तकहरूमा। सोभियत संघको दोस्रो विश्वयुद्धको अन्त्यदेखि सन् १९६२ मा क्युवाली क्षेप्यास्त्र संकटसम्म पश्चिमी मुलुकहरूसँगको सम्बन्ध केलाउने प्रयास भएको छ जोन लुइस ग्याडिसको अब हामीलाई थाहा भएको छ: शीतयुद्धकालीन इतिहासबारे पुनर्विचार (न्युयोर्क, १९९७) शीर्षक किताबमा।

कोमिन्टर्नबारे आधारभूत अभिलेखहरू जेन डेग्रासले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन १९१९–१९४३ भाग ३ (लन्डन, १९५६–७१) मा संकलन गरेकी छिन्। यसको इतिहासको विवरण फ्यान्ज बोर्कनाउले विश्व साम्यवादः अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास (यान् आर्वर, १९६२) मा र अझ हालै चाहिँ कभिन म्याकरमोट र जेरिमी एग्न्युले कोमिन्टर्न (लन्डन, १९९६) मा उपलब्ध गराएका छन्।

सोभियत संघको विघटनका विवरणलाई डेभिड रेम्निकले आफ्नो लेनिनको चिहान (न्युयोर्क, १९९३) भन्ने पुस्तकमा बडो सजीव रूपमा व्यक्तिगत टिप्पणी र धेरै जनासँगको कुराकानीको माध्यमबााट वर्णन गरेका छन्।

कम्युनिस्ट चीनको सन् १९८२ सम्मको इतिहास रोडरिक म्याकफार्कुहार र जोन के. फेयरव्यांकस, सम्पादक रहेका चीनको केम्ब्रिज इतिहास भाग १ र २ खण्ड १४ र १५ मा समाविष्ट भएको छ। इतिहासबारे माओको चिन्तन उनको आफ्नै अध्यक्ष माओे त्से–तुङका उद्धरणहरू (न्युयोर्क, १९६८) भन्ने पुस्तकमा राम्ररी अभिलेखबद्ध भएका छन्। उनको राजनीतिक र बौद्धिक जीवनी स्टुअर्ट स्क्रामद्वारा लिखित माओ त्से–तुङ (पेङ्गुइन बुक्स, १९७४) मा प्राप्त गर्न सकिन्छ। उनको जीवनकथालाई रोस टेरिलले माओको जीवनी (स्ट्यानफोर्ड, १९९९) मा वर्णन गरेका छन्।

क्याम्बोडियाली इतिहासको पोल पोट शासनको विवरण एउटा सामूहिक कृतिमा उपलब्ध छ जसको सम्पादन गरेका छन् कार्ल डी ज्याक्सनले, त्यो किताब हो क्याम्बोडिया, १९७५–१९७८ मृत्युसँग भेटघाट (प्रिन्सटन, १९८९)

क्यास्ट्रो र क्युवाको साम्यवादबारे मैले एउटा अलि पुरानै थियोडोर ड्रेपरको किताब, क्यास्ट्रोवादः सिद्धान्त र व्यवहार (न्युयोर्क, १९६५) विशेष जानकारी दिलाउने खालको पाएँ भने अलि नयाँमा चाहिँ सुसान इभा एक्स्टाइनको भविष्यबाट फर्केर आउँदा: क्यास्ट्रो अधीनमा क्युवा (प्रिन्सटन, १९९४) उपयोगी रहेको छ। पूर्वी अफ्रिकामा साम्यवाद भन्ने विषय रहेको छ पिटर वुडवार्डको दि हर्न अफ् अफ्रिका (लन्डन र न्युयोर्क, १९९६) र पाउल हेन्जको हर्न अफ् अफ्रिकाः युद्धबाट शान्तितर्फ (न्युयोर्क, १९९१) पुस्तकहरूमा।

चिलीमा उत्पन्न कम्युनिस्ट पटाक्षेपबारे अध्ययन गर्न पाठकले रोवर्ट जे. अलेकजान्डरको चिलीको त्रासदी (वेस्टपोर्ट, कन, १९७८) र पाउन इ. सिग्मन्डको आलेन्डेको बर्खास्तगी र चिलीको राजनीति, १९६४–१९७६ (पिट्सवर्ग, १९७७) हेर्न सक्नुहुन्छ। बीसौं शताब्दीको साम्यवादले विश्वव्यापी रूपमा उत्पन्न गराएको मानवीय क्षतिको वर्णन र सो क्षतिको अनुमान स्टिफेन कुर्त्वाले सम्पादन गरेको पुस्तक साम्यवादको कालो किताब (केम्ब्रिज, म्यास, १९९९) प्रस्तुत गरिएको छ।

(साम्यवाद एक इतिहास, रिचर्ड पाइप्स)

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ