बाबुरामको राजीनामाको निहीतार्थ

२० असार २०७०, बिहीबार १०:५० मा प्रकाशित

काठमाडौं, २० असार । एमाओवादीका उपाध्यक्ष पदबाट डा. बाबुराम भट्टराईले राजीनामा दिएपछि सो पार्टीभित्र पैदा भएको तरङ्ग अझै साम्य हुन सकेको छैन । पदाधिकारी चयनका लागि सुरु गरिएको केन्द्रीय समितिको बैठक नै अवरुद्ध हुने गरी आएको भट्टराईको राजीनामा प्रकरणलाई सुल्झाउनका लागि उल्टै आगामी साउनमा विस्तारित बैठक डाकिएको छ । भट्टराईको राजीनामाले सबभन्दा ठूलो झट्का पार्टीअध्यक्ष प्रचण्डलाई दिएको छ । आफू उमेरले साठी वर्ष पुगेको, नयाँ पुस्तालाई मौका दिनुपर्ने अवस्था आएको र एकै व्यक्तिले लामो समयसम्म एउटै पद ओगटेर बस्नु उचित नभएकोजस्ता कारण उल्लेख गरी भट्टराईले राजीनामा दिँदा प्रचण्डमाथि तीव्र व्यङ्ग्यवाण चलेको छ । 
भट्टराईले आफूभन्दा तल्लो पुस्ताका निम्ति अर्थात् नयाँ पुस्तालाई मौका दिन उपाध्यक्ष पद छोड्ने हो भने प्रचण्डले पनि नयाँलाई मौका दिन अध्यक्ष पद किन नछोड्ने भनी प्रश्न उठ्ने स्थिति बनेको छ । माओवादी पार्टीको सर्वोच्च पदमा प्रचण्ड विगत अढाई दशकदेखि निरन्तर कायम छन् । पहिले महामन्त्री र पछि अध्यक्षको रूपमा रहँदै आएका प्रचण्डले नेतृत्व हस्तान्तरणप्रति कुनै रुचि रखेका छैनन्, बरु आउँदो अनिश्चितकालसम्म पार्टीको सर्वोच्च पदमा कायम रहिरहन प्रचण्डले अनेक हथकण्डा अपनाइरहन सक्ने स्पष्ट सङ्केतहरू देखिएका छन् । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र बाबुराम भट्टराईबीच द्वन्द्व र तनावको स्थिति पैदा गराएर आफू उच्च पदमा ‘बरकरार’ रहिरहने खेल खेल्दै आएका प्रचण्ड बाबुरामको राजीनामापछि सकसमा परेका छन् । राजीनामा फिर्ता गराउनका लागि प्रचण्डले बाबुरामसँग पटकपटक आग्रह गर्दा पनि उनले मानेका छैनन् । अब विस्तारित बैठकबाट नै दबाब दिन लगाउने योजना प्रचण्डल बनाएको बुझिनछ । जब कि बाबुराम भट्टराई अब कुनै हालतमा पनि राजीनामा फिर्ता नलिने र उपाध्यक्षका रूपमा नेतृत्वमा नबस्ने अडानमा दृढ देखिन्छन् ।
पार्टी अध्यक्षको जिम्मेवारी प्राप्त भएमा भने बाबुराम त्यसनिम्ति तयार होलान् तर प्रचण्ड अध्यक्ष पद छोड्ने मानसिकतामा नै छैनन् । चण्डले अध्यक्ष पद नछोड्ने र बाबुराम उपाध्यक्ष पदमा नफर्कने यस स्थितिमा बाबुराम भट्टराईलाई समेट्न मिल्ने एउटै जिम्मेवारी हुनेछ– संसदीय दलको नेता ।
आगामी निर्वाचनपश्चात् बन्ने संसदीय दलको नेतामा बाबुरामलाई चयन गरिने सुनिश्चितता दिएर राजीनामाका कारण उत्पन्न ‘सङ्कट’लाई शिथिल तुल्याउन नसकिने होइन । तर, प्रचण्ड संसदीय दलको नेता पद पनि अरू कसैमा हस्तान्तरण गर्न चाहादैनन् । पार्टीको सर्वोच्च पदजति आफ्नै लागि सिर्जना भएको ठान्ने प्रचण्डले संसदीय दलको नेतामा बाबुराम भट्टराईलाई चयन गर्न सहयोग पुर्‍याउने आशा गर्न सकिँदैन । दुई सय ४० निर्वाचन क्षेत्रमध्ये एक सय २० निर्वाचन क्षेत्रमा आफू समर्थकलाई र बाँकी एक सय २० क्षेत्र डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र अमिक शेरचनलगायतलाई ‘भागवण्डा’ गरी उम्मेदवार चयन गर्ने योजनामा रहेका प्रचण्डले आगामी निर्वाचनपश्चात् आफैँ प्रधानमन्त्री बन्ने सपना देखेका छन् । त्यसैले पार्टीअध्यक्षझैं संसदीय दलको नेता पद पनि उनले आफैँसँग राख्ने निश्चितप्राय: छ ।
बाबुराम भट्टराई अब मन्त्री बन्ने छैनन् र पार्टीमा उपाध्यक्षसम्मको जिम्मेवारी पनि पूरा गरिसकेकोले मौका मिले पटकपटक प्रधानमन्त्री या राष्ट्रपतिको जिम्मेवारी लिने र अध्यक्षका रूपमा पार्टीको कमान सम्हाल्नेबाहेक भट्टराईले अर्को कुनै औपचारिक पद धारणा गर्ने स्थिति छैन । बाबुराम भट्टराई प्रधानमन्त्री र पार्टीअध्यक्षजस्ता पदका निम्ति मात्र ‘योग्य’ भएकाले अब प्रचण्डले गम्भीरतार्पूक सोच्नुपर्ने बेला आएको छ । पार्टीलाई एकीकृत राख्ने हो भने संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने या पार्टीअध्यक्षका रूपमा मात्र आफ्नो भूमिका कायम राख्ने हो– प्रचण्डले निर्णय गर्नुपर्ने बेला आएको छ । उल्लिखित दुईमध्ये एक जिम्मेवारी डा. बाबुराम भट्टराईलाई सुम्पन्न प्रचण्ड तयार नहुने हो भने एमाओवादी पार्टीको एकता र विस्तारमा गम्भीर धक्का पुग्ने देखिन्छ । बाबुरामले राजीनामा दिएपछि प्रचण्ड आफूले पनि नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा गर्न सक्थे तर गरेनन् । सुरुमा राजीनामालाई निकै हल्का रूपमा लिएका प्रचण्डले बाबुरामद्वारा राजीनामा फिर्ता लिन अस्वीकार गरिएपछि उनी गम्भीर बनेका छन् । नेतृत्वको विवाद नेताहरूमात्र बसेर मिलाउनेतर्फ नलागी प्रचण्डले बाबुरामलाई ठेगान लगाउन विस्तारित बैठकको सहारा लिन खोजेको बुझिन्छ । बैठकका नाममा भेला गरिएका कतिपय ‘लठैत’हरूलाई उचालेर बाबुरामलाई ‘डिमरलाइज्ड’ गर्ने प्रयास प्रचण्डबाट हुनसक्ने देखिन्छ । त्यसैले चुनावको पूर्वसन्ध्यामा एकजुट तुल्याउनुपर्ने पार्टीलाई थप विवादको भुमरीमा फसाएर प्रचण्डले कतै आगामी निर्वाचन नै नगराउने षड्यन्त्र रचना त गरेको होइनन् भन्ने प्रश्न उठेको छ ।
बाबुराम भट्टराई यसअघि प्रधानमन्त्री बनेको पार्टीको आफ्नै प्रयास र निर्णयबाट नभई ‘काकताली’बाट हो भन्ने सबैमा जाहेर छ । निर्वाचनपछि पार्टी र संसदीय दल दुवै निकायमा प्रचण्डको नियन्त्रण या कब्जाको स्थिति रहने हो भने बाबुरामले प्रधानमन्त्री या राष्ट्रपति बन्न पार्टीको होइन परिस्थितिको भर पर्नुपर्ने हुन्छ । जब उच्च जिम्मेवारी प्राप्त गर्न परिस्थितिकै भर पर्नुपर्ने हो भने उपाध्यक्षको जिम्मेवारीमा किन बसिरहनु पर्‍यो र ? यही प्रश्नले डा. बाबुराम भट्टराईलाई राजीनामाका निम्ति प्रेरित गरेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४