अन्त्यमा वैद्य समूह चुनावमा आउँछ, नआए चुप लागेर बस्छ :: रामचन्द्र पौडेल

१९ असार २०७०, बुधबार ०७:३१ मा प्रकाशित

० नेपाली काङ्ग्रेसलाई चुनाव लागेको हो ?
– हो, नेपाली काङ्ग्रेसलाई चुनाव लागेको छ ।
० नेकपा–माओवादी बाहिर छ, कसरी चुनाव होला ?
– उहाँहरू निर्वाचनमा आउने हो भने हामी कोसिस गर्छौं । नआए उहाँहरूबिना नै निर्वाचन हुन्छ ।
० यति ठूलो पार्टी बाहिर रहेर कसरी चुनाव होला ?
– पार्टी ठूलो र सानोको सवाल हुँदैन । यहाँ सबैभन्दा ठूला जनता हुन् । जनताको अगाडि कुनै पार्टी ठूलो हुँदैन । नेपाली जनतालाई बाइपास गर्ने र हेप्ने जमाना अब गइसकेको छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।
० नेकपा–माओवादीले चुनाव बिथोल्ने निर्णय गरिसक्यो नि ?
– जनताले चाहेको चुनाव बिथोल्ने तागत कसैसँग छैन । हिजोका जस्ता जनता छैनन् अहिले । त्यसैले पोखरामा माओवादीले के निर्णय गर्‍यो भन्ने ठूलो कुरा होइन । पोखरामा जे निर्णय गरे पनि वैद्यजीहरू चुनावमा आउनैपर्छ । चुनावको विकल्प छैन ।
० मोहन वैद्य समूहले त चुनाव रोक्ने भनिसकेका छन् त ?
– मोहन वैद्यजीले चुनाव रोक्छु भन्नुभएको छैन । उहाँको केही कुरामा चित्त बुझेको छैन भने त्यस विषयमा हामी कुराकानी गर्दै छौँ । उहाँहरूलाई समेत सहमतिमा ल्याएर चुनावमा जाने हाम्रो योजना र प्रयत्न जारी छ । पोखरा बैठकबाट काठमाडौं आएपछि हामी फेरि पनि कुराकानी गर्छौं ।
० उहाँहरूको माग पूरा गर्न सक्नुहुन्छ ?
– सकेसम्म हामी उहाँहरूलाई निर्वाचनमा ल्याउने प्रयास गर्छौं । चुनावलाई पर धकेल्ने, चुनाव हुनै नदिने, देश नै अस्तव्यस्त हुने कुरा गर्नुभयो भने हामी त्यो मान्न तयार छैनौँ । सरकारको खारेजीलगायतका उहाँहरूले उठाएका मुद्दा सधँै सारभूत हुँदैन । जनतालाई चुनाव चाहिएको छ । देशलाई निकास चाहिएको छ । जनतालाई विकास चाहिएको छ । जनतालाई चाहिएको भन्दा अर्कै कुरा खोज्दै कोही नेताहरू हिँड्छन् भने ती नेता जनताबाट बहिष्कृत हुन्छन् । वैद्यजीले चुनाव भाँड्ने कुरा गर्नु भनेको चुनाव हुन नदिनु हो, त्यो हामीलाई स्वीकार्य छैन ।
० विद्रोहीलाई शान्तिप्रक्रियामा ल्याउने काङ्ग्रेस अहिले बीचैमा वैद्यलाई छाडेर चुनावमा जानसक्छ ?
– नेपाली काङ्ग्रेसले सहँदासहँदा अति भइसकेको छ । छातीमा लागेको गोली छातीमै राखेर सबैलाई मिलाएर अगाडि जानुको अब हद भइसकेको छ । हामी अहिले पनि कोसिस भने गर्छांै, हामिमा साहस, सहनशीलता र धैर्य अझै छ । उहाँहरूलाई ल्याउन प्रयास गर्छौं तर देशलाई सधँै बन्धक राख्नचाहिँ मिल्दैन ।
० वैद्य समूहले उठाएको कुन–कुन मुद्दामा सहमति कायम गर्न तयार हुनुहुन्छ ?
– अब कुनै मुद्दा छैन । निर्वाचन गराउने हो, जनतामा जाने हो यसमा केको मुद्दा ? ११बुँदे, २५बुँदे, खिलराज रेग्मी नेतृत्वको सरकार र मङ्सिर ४ को मिति खारेज गरे मुलुकमा फेरि निर्वाचन हुँदैन । यो देशलाई चाहिएको चुनाव हो । त्यसैले यस्ता माग पूरा हुँदैनन् ।
० सहमतिका लागि मिति सार्न पनि तयार हुनुहुन्न ?
– मिति कुनै पनि हालतमा सर्दैन । त्यो सार्नै हुँदैन । सार्‍यो भने त्यो मुलुकका लागि साह्रै अनिष्ट हुन्छ ।
० तपाईंहरूले नमान्दा मुलुकमा फेरि द्वन्द्व भयो भने ?
– द्वन्द्व हुँदैन । द्वन्द्व भए त्यसको सामना गरिन्छ । मुलुकलाई द्वन्द्वमा लानेले आफैँ सजाय पाउँछ ।
० मङ्सिर ४ मा चुनाव हुन्छ ?
– मङ्सिर ४ मा कुनै पनि हालतमा चुनाव हुन्छ । गर्नैपर्छ, गरिछाडिन्छ । देशमाथि सधैँ खेलवाड गर्न पाइँदैन ।
० यदि मङ्सिरमा निर्वाचन भएन भने ?
– चुनाव हुन्छ, नभए मुलुक अघि बढ्नै सक्दैन ।
० कसरी चुनाव हुन्छ ?
– हामी उम्मेदवार हुन्छौँ, जनताले भोट हाल्छन् सरकारले मतदान बाकसको सुरक्षा गर्छ ।
० जनता नै भोट हाल्न आएनन् भने ?
– जनता भोट हाल्न नआउने कुरै हुँदैन । संविधानसभाको निर्वाचनमा जनता भोट हाल्न आएनन् भने म राजनीति नै छाडिदिन्छु । मलाई सय प्रतिशत विश्वास छ । कसैले रोक्न सक्दैनन् ।
० निर्वाचन नयाँ संविधान र सहमतिका लागि कि द्वन्द्व बढाउन ?
– हो, सहमतिका लागि हो, तर कसैले निर्वाचन चाहँदैन भने सुतेकोलाई उठाउन सकिन्छ । सुतेको बहाना गर्नेलाई उठाउन सकिँदैन । माओवादी अहिले सुतेको बहाना गरिरहेको छ । नभए जनताको विश्वास गर्नुपर्‍यो जनतामा आउनुपर्‍यो नि ।
० चार दलले सेन्डिकेट बनाएर अरू दललाई बेवास्ता गर्नुभएको त हो नि ?
– सबै बस्दा कुरा नमिलेपछि चार दलले निकास दिनुपरेको हो । यतिका समय प्रयास गरियो निकास निस्किएन, आखिर चार दलले पहल गरेपछि निकास निस्कियो । चुनावको परिस्थिति बन्यो । त्यसको आधारमा सबै कुराहरू बनिसके, अब त्यसलाई भत्काउने कुरा हुँदैन । हामीले वार्ता गरिररहेका छौँ, शान्तिपूर्ण निकासका लागि तर वार्ताको नाममा लोकतन्त्रका सबै मान्यताहरूको बलि चढाउन सकिँदैन ।
० शान्तिप्रक्रिया भताभुङ्ग हुने भयो, होइन ?
– केही पनि हुँदैन । वैद्य समूह चुनावमा आउँछ, नआए चुप लागेर बस्छ । माओवादी निर्वाचनमा नआए पनि निर्वाचन हुन्छ । यसमा विवाद छैन ।
० नेपाली काङ्ग्रेस के एजेन्डा लिएर निर्वाचनमा जान्छ ?
– नवनिर्माण, उन्नति, विकास, गरिबी बेरोजगारीबाट मुक्ति, विभेदरहित समाज निर्माणको एजेण्डा लिएर काङ्ग्रेस चुनावमा जान्छ ।
० अब बन्ने संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्ला ?
– संविधानसभाप्रति मेरो पूर्ण विश्वास छ । अब बन्ने संविधानसभाले संविधान बनाउँछ र यही वर्षभित्रमा संविधानले आकार पनि ग्रहण गर्छ । यही वर्षभित्रमा स्थानीय निकायको निर्वाचन पनि हुन्छ । नेपाल अघि बढ्छ । अब जालझेललाई अन्त्य गर्दै नेपाल अघि बढ्छ ।
० चुनावमा काङ्ग्रेसले को–कोसँग तालमेल गर्छ ?
– दुई सय ४० निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन काङ्ग्रेसभित्र तँछाड–मछाड छ, कहाँ काङ्ग्रेसले अरूसँग तालमेल गर्ने भन्ने कुरा हुन्छ र ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर