सरकारी जग्गा हड्पेर निजी घर निर्माण गर्नेलाई ‘प्रहरी सुरक्षा’

१७ असार २०७०, सोमबार १६:२५ मा प्रकाशित

रुपन्देही, १७ असार । प्रमुख जिल्ला अधिकारी आफैले सरकारी जग्गा भनी प्रमाणित गरेको जमिनमा धमाधम निजी घरहरु निर्माण भईरहेका छन्, त्यो पनि प्रहरीले नै सुरक्षा उपलब्ध गराएर ! घटना स्वभाविक लाग्दैन तर बुटवल नगरवासीले यस्तो आश्चर्य दैनिक टुलुटुलु हेरिरहनु परेको छ । 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल नगरपालिका–७ नेपालगञ्जरोड किनारको सरकारी जग्गामा अहिले धमाधम पक्की घरहरू बनिरहेका छन् । घर निर्माणमा कसैले बाधा नपु¥याओस् भनि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएका केही प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेका छन् ।
स्थानीय थानेश्वर थापाले ‘आफ्नो’ भनी दावी गर्दै आएको सो जग्गामा प्रकाश पुरी, कुमार श्रेष्ठ, गणेश शाही, श्रीधर श्रेष्ठ लगायतका दश जनाले पसले टहरा बनाएका थिए । थापाले गत वैशाख १४ गते मध्यरातीमा डनको सहायताले डोजर लगाएर ती टहरा भत्काइदिए । घटनामा मानवीय क्षति नभएपनि पचास लाखभन्दा बढी धनमाल क्षति भएको प्रहरीको प्रतिवेदन छ ।
उक्त घटनालगत्तै रुपन्देहीका प्रजिअ बालकृष्ण पन्थीले सो जग्गा थापाको नभई सरकारले राजमार्ग निर्माणको क्रममा थापालाई मुआब्जा दिएर सरकारीकरण गरिसकेको प्रमाणित गरि बुटवल नगरपालिका कार्यालयलाई थापाको नाममा भएको सो जग्गाको विटौरी (नगरपालिकाले धनीपुर्जा दिएको र मालपोतले पुर्जा दिने क्रममा भएको जग्गालाई विटौरी भनिन्छ) धनीपुर्जाको श्रेष्ता खारेज गरि कर नबुझ्न निर्देशन दिएका थिए । सोही वमोजिम वुनपाले श्रेष्ता खारेज गरेको जग्गा शाखा प्रमुख हरि आचार्य बताउँछन् ।
स्थानिय प्रशासन ऐनमा सरकारी जग्गाको संरक्षण गर्ने कर्तव्य र अधिकार प्रजिअको भएको बारे ध्यानाकर्षण गराउँदा प्रजिअ पन्थीले उक्त जग्गाको प्रकृतिबारे आफू स्पष्ट नभएको द्वैध चरित्र झल्किने जवाफ दिए । वुनपाका जग्गा शाखा प्रमुख आचार्यले सो जग्गाको श्रेष्ता खारेज गर्न प्रजिअको निर्देशन आए पनि संरक्षणका लागि निर्देशन नआएको बताए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि राजकुमार वैदवारले अर्को हिंसात्मक घटना नहोस् भनि सुरक्षाको लागि प्रहरी खटाएको र घर निर्माण भइरहेको जानकारी प्रजिअ र वुनपालाई दिएको तर्क गरे ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।