ए ! बोल न बोल, कोही त बोल :: वीरेन्द्रमणि पौडेल

१५ असार २०७०, शनिबार ०७:२६ मा प्रकाशित

सबै कुरा नासिने बेला भएर हो कि कुन्नि हिजोआज यो देशमा चाहिने र नबोली नहुने कुरामा समेत मान्छे बोल्न छाडे । घाँटीबाट आवाजै ननिस्किनेहरू त बोल्नै सक्दैनन् कुरै सकियो । जसको मुखबाट आवाज निस्किन्छ र त्यो आवाज निकाल्दा कसैको ज्यानै बाँच्छ भने पनि बोल्दैनन् । बोल्दै बोल्दैनन् । अस्ति भर्खरै सिन्धुपाल्चोक जिल्लामा एउटा गाडी भीरबाट गुल्टियो । गाडी आफैँ भीरबाट गुल्टिएको होइन । ड्राइभरले जानीजानी भीरबाट गुल्ट्याएर आफ्नो मात्रै ज्यान जोगाउने उद्देश्यले भागे । अर्थात् उनले गाडी गुल्ट्याएर थुप्रै मान्छे मारे । मर्नेभन्दा बढी घाइते भए । बिनाकारण ती ड्राइभरले गाडी भीरबाट तल फ्याँकेका थिएनन् । कारण एउटी युवती थिइन् । ड्राइभरले मन थाम्न नसकेर ती युवतीलाई कर्केनजरले हेरे । युवतीलाई सम्बोधन गरेर केही शब्द पनि मुखबाट फुत्काए । आफ्नो अभिभावक पनि साथैमा भएकाले होला ती नानीले मस्किएर स्वागत गर्लिन् भन्ने ड्राइभरको आशामाथि पानी खन्याउँदै तिनी च्याँठ्ठिइन् । तिनको आवाज र विरोधको स्वर सुनेर उनका अभिभावक र गाडीका अन्य यात्रुहरू ड्राइभरमाथि खनिए । कुट्न मात्रै बाँकी राखेर मुखमा आएजति सबै गालीका शब्दहरूले ड्राइभरलाई नुहाइदिए । गालीका शब्दको असरले तिल्मिलाएका ड्राइभरको रिसको पारो चढ्यो र उनले गाडी खसालिदिए । घटना दु:खद् हो । असामान्य क्षति भयो । तर, यो क्षतिमा कोही दु:खी भएजस्ता देखिएनन् । घटनाबारे खबर आयो पत्रपत्रिका, रेडियो र टेलिभिजनमा तर अरू कोही बोलेनन् । ‘ड्राइभरको सामान्य भनाइमा गाडीका सबै यात्रु मिलेर एक्लो व्यक्तिलाई ङ्याक्ने काम अबदेखि नगरौँ’, ‘गाडीको ड्राइभरलाई बिच्क्याउने काम नगरौँ’ कसैले बोलेनन् । यति मात्रै होइन । ड्राइभरलाई सम्बोधन गरेर पनि कसैले सल्लाह र सुझाव दिएनन् । ‘ड्राइभर तिम्रो जिम्मामा आफ्नो जीवन अर्पेर थुप्रै निर्दोष यात्रु गन्तव्य सम्झेर सिटमा बसेका हुन्छन् । कुनै यात्रुले जानेर वा नजानेर मुख चलाए पनि तिमी रिसाउनुहुन्न । सबै यात्रुलाई गन्तव्यमा इमानदारीपूर्वक तिमीले पुर्‍याउनुपर्छ’ यस्ता वचनले कोही बोलेनन् । जानी–जानी त्यत्रा यात्रुलाई मृत्युको मुखमा धकेल्ने ड्राइभरलाई कडा कानुनी कारबाही गर्नुपर्छ । यो पनि कसैले भनेनन् । भन्दै भनेनन् । ड्राइभर भाग्यो । मर्ने मरे । सानै निहुँमा अब त्यस्तैगरी गाडी गुल्ट्याएर अर्को ड्राइभर भाग्न सक्छ । फेरि त्यही पाराले निर्दोष मान्छे मारिनेछन् । सबैले समाचार पढ्ने छन्, सुन्ने छन् र हेर्ने छन् तर कोही बोल्ने छैनन् । फिटिक्कै कोही बोल्ने छैनन् । किनकि यो अपवादलाई छाडेर जिउँदा मुर्दाहरूको बस्ती हो । 
चितवन र मकवानपुर जिल्लाका कहिलेकाहीँ मात्रै अन्नको मुख देख्न पाउने चेपाङ भन्ने गरिएका केही नेपाली मान्छे एक वर्षअघि जङ्गली विषालु च्याउ खाएर मरे । हुनेखाने, धनी, पहुँचवाला, उच्च ओहोदाका, मन्त्री, प्रधानमन्त्रीलगायत आफू पेटभरि खाएर बढी भएको खानेकुरा फ्याँक्नेहरू सबैले चेपाङ मरेको हेरे । तिनका लास हेरे । तर कोही बोलेनन् । ‘ए चेपाङ हो ! अबदेखि जङ्गली च्याउ नखाओ । खान नपाउने अवस्था भए हेटौँडा बजार जाओ या चितवनको भरतपुर आओ । शहरमा हामीले खाएर बढी भएको अन्न तिमीहरूलाई दिन्छौँ । तिमीहरू पनि बाँच्नुपर्छ । तिमीहरू बाँच्दा हामीलाई केही घाटा छैन,’ यसरी कोही बोलेनन् । मर्ने चेपाङहरू मरे । बाँच्नेहरू मौनधारण गरेर बसिरहेका छन् । जङ्गली च्याउ खान हुँदैन भन्ने सन्देश सरकारले रेडियोबाट चेपाङसम्म पुर्‍याउन सक्थ्यो । सरकारले त्यसो गरेन । अरू पनि थुप्रै निकाय छन् । तिनले पनि केही बोलेनन् गरेनन् । अब फेरि कुनै दिन चेपाङले विषालु च्याउ खानेछन् । फेरि त्यसरी नै मर्नेछन् । त्यतिबेला पनि कोही बोल्ने छैनन् । भन्ने छैनन्– ‘ए दु:खी चेपाङहरू, च्याउ नखाऊ, हामी अन्न दिन्छौँ ।’
केही दिनअघि मात्रै तराईको एक जिल्लामा एक पूर्वसभासद्लाई उनकै श्रीमती र छोरी मिलेर भाडाका हत्यारा प्रयोग गरी ज्यान लिएको समाचार विश्वमानवको कानमा पुग्यो । कारण ठूलो थिएन । छोरी एक युवकसँग बिहे गर्न चाहन्थिन् । बाबु मानेनन् । यो कारणबाट छोरी बाबुसँग रिसाएकी थिइन् भने श्रीमतीचाहिँ लगातारको घरझगडाबाट आगो भएकी थिइन् । दुवैका काँडा बनेका पूर्वसभासद्लाई यत्ति नै कारणबाट ती दुई आमाछोरीको मिलेमतोमा बुबा/श्रीमान्को भाडाका हत्यारा प्रयोग गरी हत्या गरियो । नेपाल प्रहरीले बडो मुस्किलले यी आमाछोरी हत्यारा भएको पत्ता लगायो । असाध्यै मन दुख्ने खालको यो अपराधबारे सबैले थाहा पाए तर कोही बोलेन । कुनै केटा मन पर्दा र बाबुआमाले केटा अस्वीकार गर्दा बाबुको हत्या नै गर्न पर्दैन । ‘अबउप्रान्त कुनै केटीले यस्तो अपराध नगरून्’ कसैले भनेनन् । कोही बोलेनन् । लोग्नेसँग कुरा नमिल्ने स्वास्नीको सङ्ख्या नेपालमा मात्रै होइन संसारभरि छन् । मन र कुरा नमिले डिभोर्स गर्दा पनि हुन्छ । लोग्ने मार्न हत्यारा खोज्न पर्दैन । यो पनि कसैले भनेन यो नेपालमा । यस्तो वचन कसैले बोलेको भए शायद आउने दिनमा अपराधका घटनामा कमी आउँथ्यो होला । यी घटना अलि अविकसित जिल्ला र ठाउँहरूमा भएका हुन् । यस्ता मुटुमै चसक्क बिझ्ने खालका थुप्रैथुप्रै घटना भइरहेका छन् तर कोही बोलेका छैनन् । विकट र अति विकट अनि अविकसित जिल्लामा भएका यस्ता घटनामा मान्छे नबोल्नुमा ती ठाउँका मान्छेहरूको चेतनास्तरलाई प्रश्न तेस्र्याउन सकिएला । लौ भैगो । अविकसित ठाउँका मान्छेहरू बोलेनन्, बोल्न जानेनन्, विकसित कहलिएका ठाउँका मान्छेले बोलिदिएनन् । यतिसम्म चित्त बुझाउन करैले सकिएला । तर हरेक कोणबाट विकसित मानिएको ठाउँका मान्छेहरूचाहिँ चरम अन्याय र अत्याचारको विरुद्धमा किन बोल्दैनन् ? कुरा एउटा अस्पतालसँग सम्बन्धित छ । भौतिक विकासको चरम उपभोग गरिरहेका मान्छेहरू बस्ने थलो भरतपुर चौबीसकोठीमा रहेको ‘चितवन अस्पताल प्रा.लि.को गैरन्यायिक क्रियाकलाप’सँग सम्बन्धित छ ।
चितवन अस्पताल प्रा.लि. चौबीसकोठीको मुख्यचोकमै छ । सडकमै जोडिएको छ । दुनियाँमा कहीँकतै होहल्ला र चर्को आवाजको नजिक अस्पताल निर्माण गरिँदैन र निर्माणका लागि अनुमति दिइँदैन तर कसले दियो यो अस्पताल चलाउन थाहा छैन । चोकमै छ बाटोसँग जोडिएको अस्पताल । एकातिर बिहानदेखि रातिसम्म लगातार हजारौँको सङ्ख्यामा चर्को हर्न बजाउँदै गाडी गुड्छन् भने अर्कोतिर त्यो होहल्ला र कोलाहलवाला आवाज सुन्न बाध्य छन् त्यहाँभित्र भर्ना भई जीवन बाँच्ने आशामा बसेका बिरामी र तिनका आफन्त । यो समस्या यस भेगका गन्यमान्य सबैलाई थाहा छ तर कोही बोल्दैन । भर्ना भई बसेका खासगरी मुटुरोगका बिरामी मृत्युको मुखमा परेको देख्दादेख्दै कोही बोल्दैनन्, बोलेका छैनन् । मुटुरोगका केही बिरामी यही अस्पतालको शय्याबाट परलोक गएको भनाइ यत्रतत्र सुनिन्छ । अस्पताल दुर्गन्धित छ । अस्पतालको दुर्गन्ध चौबीसकोठीबाट पार हुने जोकोही मानिसको नाकैमा ठोक्किन्छ । नाक थुनेर हिँड्छन् तर तिनीहरू पनि बोल्दैनन् र भन्दैनन्, ‘ए, यो अस्पताल यहाँ नराख अन्त कतै सार ।’ भन्नेहरू भन्छन्, ‘अचाक्ली महङ्गो छ तर, उपचारचाहिँ ठीकठीकै छ ।’ उपचार ठीकठीकै भएर के गर्नु स्वस्थ मान्छे नै बिरामी बनाउन जब कारण बन्छ भने यो अस्पताल स्वस्थ मानिसलाई अप्ठ्यारोमा नपार्ने स्थानमा सार किन नभन्ने ? तर कोही बोल्दैन, अँ हँ बोल्दै बोल्दैनन् । तमाम नेपाली जनताको माग छ ‘स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराऊ ।’ सरकारले मानेन । व्यापारमुखी नीति लागू गर्दै निजी अस्पताल सञ्चालन गर्न अनुमति दियो । नगर्नु थियो सरकारले गलत गर्‍यो । तर, सरकारले गलत गर्‍यो भन्दैमा अस्पताल सञ्चालनै गर्न नमिल्ने ठाउँमा कसरी सञ्चालन गरियो ? नेपालमा यतिबेला थुप्रै निजी अस्पताल र स्वास्थ्यकेन्द्र छन् तर कम्तीमा बाटो हिँड्ने मानिस नाक थुनेर हिँड्न पर्ने अवस्थामा छैनन् । चितवन अस्पताल प्रा.लि.ले चाहिँ जनतालाई सीधै दु:ख दियो । तर, कोही बोल्दैन । न सरकार, न राजनीतिक दल, न त नागरिक समाजका कोही र कुनै बोल्छ । ‘अस्पताल चलाऊ, धन बटुल, तिमीहरूलाई धन बटुल्न अनुमति छ तर अस्पताल हजारौँ सवारीसाधन चल्ने र लाखौँ मानिस हिँड्ने ठाउँमा होइन, अन्यत्रै शान्त ठाउँमा सार ।’ यत्ति शब्द कोही बोल्दैनन् ।
नेपाली जनतालाई सीधा वा घुमाएर अत्याचार गरिएका केही उदाहरण यहाँ प्रस्तुत गरियो । उदाहरण खोज्ने हो भने हजारौँ पुग्न सक्छन् तर अचम्मको विषयचाहिँ यही भएको छ कि यतिबिघ्न अन्याय र अत्याचार हुन्छन् । प्रत्येक मिनेटमिनेटमा अत्याचार हुन्छन् तर बोल्न सक्नेहरू बोल्दैनन् । बोलीमा तागत हुन्छ । बोलीको तागतले सम्भावित अपराध रोक्न सकिन्छ । बोलीकै भरमा अपराधरहित समाज निर्माण गर्न सकिन्छ । त्यसैले शान्त र अपराधरहित समाज निर्माणका खातिर आजसम्म नबोली बस्नेहरूलाई भन्नै परेको छ, ए आफूलाई जिम्मेवार भनी दावा गर्नेहरू हो † सबैका सबैले बोल्ने आँट गरेनौ, ठीकै छ नामर्दीपनबाट मुक्त भएर अत्याचारविरुद्ध कोही त बोल । संसारमा बोल्ने प्राणी मान्छे मात्रै हो । आफूले आफूलाई त्यही बोल्ने मान्छे ठान्छौ भने बोल, अत्याचारविरुद्ध आजैदेखि बोल ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण