सुरक्षा निकायमा सहयोग गर्न दुई छिमेकीबीच प्रतिष्पर्धा

१४ असार २०७०, शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं, १४ असार । केही समयअघि भएको गृहसचिवस्तरीय वार्तामा भारतले नेपाल प्रहरीको तालिम केन्द्र (एकेडेमी) बनाइदिने सम्झौता गरेको लगभग महिना दिनमै चीनले पनि सशस्त्र प्रहरीको एकेडेमी बनाउने सम्झौतामा हस्ताक्षर गरेको छ । यसरी, सुरक्षा निकायलाई सहयोग गर्न पछिल्लो समयमा दुई छिमेकी मुलुकको प्रतिस्पर्धा बढेको छ ।
भारतले नेपाल प्रहरीका लागि काभ्रेको पनौतीमा अत्याधुनिक एकेडेमी बनाइदिन लागेको हो । करिब १० वर्षदेखि नै भारतले त्यसका लागि प्रस्ताव राखेपनि सँगसँगै विभिन्न सर्त राखेकाले प्रक्रिया अघि बढ्न सकेको छैन । एकेडेमीमा भारतीय सल्लाहकार राख्न पाउनुपर्नेलगायतका सर्त भारतले राख्दै आएको छ । गत महिना सम्पन्न गृहसचिवस्तरीय सुरक्षा बैठकमा भारतीय गृहसचिव आरके सिंहले एकेडेमी बनाइदिने सहमति दोहोर्‍याएका थिए । तर, हालसम्म त्यसले मूर्त रूप पाउन सकेको छैन ।
यता, चीनले भने सशस्त्रका लागि तीन अर्ब रुपैयाँ खर्चमा मातातीर्थमा सशस्त्र प्रहरीको एकेडेमी बनाइदिने पक्का नै भइसकेको छ । चीनले दुई महिनाअघि पनि नेपाल प्रहरीलाई डिजिटल सञ्चार सेट सहयोग गरेको थियो ।
चीनले यसरी सुरक्षा निकायमा चासो र सहयोग बढाउनुको मकसद स्वतन्त्र तिब्बत आन्दोलनमा नियन्त्रण जमाउनकै भएको दाबी एक उच्च प्रहरी अधिकारीको छ । पछिल्लो समय प्रहरी तथा गृह मन्त्रालयका अधिकारीलाई चीनले हरेक साताजसो तालिममा लगिरहेको यथार्थलाई पनि यही मामलासँग जोडेर हेरिएको छ ।
यसैबीच सरकारले आसन्न संविधानसभा निर्वाचनमा परिचालन हुने सुरक्षा निकायका लागि करिब एक हजार गाडी भारतसँग अनुदान माग गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि सरकारले सहयोग मागेको हो । काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारको प्रस्ताव नयाँदिल्ली पठाएको छ । सहयोगका लागि भारत सकारात्मक रहेको संकेत पाएपछि प्रस्ताव पठाइएको बताइन्छ । भारतले मागबमोजिम सहयोग उपलब्ध गराउने या नगराउने निर्णय भने गरिसकेको छैन ।
सुरुमा गृह मन्त्रालयले करिब १५ सय सवारीसाधन सहयोग माग्ने प्रस्ताव पठाएको थियो । तर, दूतावासका अधिकारीसँग छलफल गर्दा संख्या घटाउने प्रस्ताव गरेपछि करिब हजार सवारीसाधन मात्र मागिएको स्रोत बताउँछ । एक हजारमध्ये धेरै प्रहरीका लागि भ्यान मागिएका छन् । ०६४ सालको निर्वाचनमा पनि भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पाँच सयभन्दा बढी गाडी अनुदान दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।