‘जनयुद्ध’ सुरु गर्ने बेला जेठीसासुको नाममा घरपास :: अर्जुन मल्ल

१४ असार २०७०, शुक्रबार ११:०७ मा प्रकाशित

जनयुद्धको सुरुवातभन्दा अगाडि ०५२ असोजमा गोरखामा बसेको चर्चित बैठकमा प्रचण्डले जनयुद्ध सुरुवातका लागि आर्थिक सङ्कलन गर्न मनी एक्सन गर्ने प्रस्ताव पनि राखेका थिए । मनी एक्सन भनेको पैसा खोस्ने कारबाही हो । त्यसबेला नेपाललाई चार क्षेत्रमा विभाजन गरिएको थियो र चारै क्षेत्रले एक–एक मनी एक्सन गर्ने प्रस्ताव प्रचण्डको थियो । 
जनयुद्ध सुरुवातका लागि कम्तीमा २० लाख रुपैयाँ हुनुपर्ने अनुमान केन्द्रीय समितिको थियो । यो रकम अहिलेका माओवादीका लागि एक दिनको जाँडपानीको खर्च भए पनि त्यसबेला निकै ठूलो रकम थियो । मनी एक्सन गरेर पैसा जुटाउने योजना निकै संवेदनशील पनि थियो किनभने पार्टी खुला थियो । केही गरी गम्भीर गल्ती भएमा जनयुद्धको तयारीमा नै धक्का पुग्थ्यो । त्यसैले मनी एक्सन गर्ने तर पार्टीले जिम्मा नलिने नीति बनाएको थियो । यो गम्भीर विषय भएकाले खतरा मोलेर अरू क्षेत्र–उपक्षेत्रहरूले मनी एक्सन गर्ने हिम्मत गरेनन् ।
शीतलकुमारले भने आफ्नो गृहजिल्ला सिन्धुलीमा मनी एक्सनको योजना बनाए । योजना यस्तो थियो– मरिन खोलाको एक हाइस्कुलका हेडमास्टर सबै शिक्षक स्टाफको एकमुष्ट तलब लिन सदरमुकाम आउने रहेछन् । सो रकम लिएर करिब चार–पाँच घन्टाको पैदल बाटो फर्कंदा रहेछन् । कहिले एक्लै कहिले एक–दुईजना साथीसहित । बीचबाटोमा जङ्गल पनि पर्दथ्यो । त्यही जङ्गलको बाटोमा त्यो पैसा खोस्ने योजना बन्यो ।
योजनाअनुसार शेरमान कुँवरले सो हेडमास्टर चिनेको हुनाले जङ्गलको बाटो आएपछि अरू लुकेर बसेका साथीहरूलाई चिनाइदिने र महेन्द्र श्रेष्ठको टोलीले खोस्ने र सुरक्षित स्थलतर्फ भाग्ने । तर, जङ्गलको बाटोमा लुकेर बसेका साथीहरू पर्खंदा–पर्खंदा हैरान भएर थाकेछन् । कहिल्यै नगरेको काम, डर र उत्साहमिश्रित स्थितिमा रहेका साथीहरू शेरमान र महेन्द्र पनि यताउता डुल्न थालेछन् । त्यसैबेला आकस्मिक रूपमा हेडमास्टरसँग भेट भएछ । अब योजना भताभुङ्ग भइहाल्यो । दुवैले हेडमास्टरलाई नमस्कार गरेर सामान्य कुराकानी गरी आफूहरू सदरमुकाम जान लागेको बताएर बिदा भएछन् । अलि पर एम्बुस प्वाइन्टमा बसेका साथीहरूले हेडमास्टर आउँदै गरेको थाहा पाएछन् । अब के गर्ने समस्या भइहाल्यो । त्यहाँ बसेकामध्ये सिनियर र कवि हृदयका साथीको मन फलामजस्तो कठोर बनेछ– क्रान्तिका लागि यो पैसाको कति महत्त्व छ भन्ने सम्झेर । तिमिल्सिना थर भएका यी कवि हृदयका साथीले जनयुद्धको सुरुवातको महान् सपना सम्झेर आफ्नो मुटु दरो बनाएछन् र आफ्नो अगाडिको बाटोमा आउनेबित्तिकै झ्याप्पै हेडमास्टरलाई समातेछन् र पैसा भएको झोला खोसेछन् । बिचरा हेडमास्टर चिच्याउँदा रहेछन् तर मुखबाट आवाज भने आउँदो रहेनछ । त्यसपछि कवि हृदयका कामरेड र सहयोगी साथीहरू त्यहाँबाट भागेछन् । हेडमास्टर पनि के गरून् बिचरा, सदरमुकामतिर भाग्न थालेछन् । बाटोमा फेरि शेरमान र महेन्द्रसँग भेट भएछ । यसरी अलि पर जङ्गलमा पैसा खोसे भन्ने कुरा बताएछन् । खोज्न जाने हो त हेडसर भनेछन् एकजनाले । अर्कोले हतियार लिएर बसेका रहेछन् भने बर्बाद हुन्छ, बरु सदरमुकामतिरै जाऊँ भनेछन् । आफ्नै साथीहरू फेलापर्ला भन्ने डर पनि हुने भयो । बीचबाटो पुगेपछि हाम्रो अर्को गाउँमा काम छ भनेर हेडमास्टरसँग छुट्टिएछन् ।
यता कवि हृदयका कामरेडको भने होसहवास गुमेछ । अरू साथीहरू पनि कता–कता छुट्टिए थाहा भएनछ । आफू एक्लै खोसेको पैसा बोकेर भाग्दै गरेछन् । यो पैसा जोगाउनुपर्छ र दुश्मनको हातमा पर्न दिनुहँुदैन भन्ने मात्र सम्झने रहेछन् । यी साथीलाई लाग्दोरहेछ कि पछाडि कोही लखेट्न आउँदै छ । आफ्नै खुट्टाका आवाज पनि अरू कसैको आवाजजस्तो लाग्ने रहेछ । निकै समय एक्लै भागेपछि एउटा पहिरो गएको भीरबाट साथी खसेछन् र टाउकोमा चोट लागेर बेहोस भएछन् ।
केही समयपछि गोठालो गएका गाउँका महिला र केटाकेटीले देखेछन् । गाउँबाट अरू मान्छे बोलाएर यी साथीलाई गाउँको एक गोठमा लगेछन् । संजोगले त्यो गाउँ माओवादीको पकड भएको गाउँ परेछ । होसहवास गुमाएर भाग्दा पनि साथी बिल्कुल ठीक ठाउँमा पुगेछन् । स्थानीय पार्टीका साथीहरूले कवि हृदयका साथीलाइ चिनिहाले । साथीले त्यस्तो भीरबाट खसेको बेला पनि पैसाचाहिँ हातले कस्सेर समातेरै राखेका रहेछन् । आफ्नै टाउकोमा चोट लागेर बगेको रगतले भिजेका ती हजारहजारका करिब एक लाख पचास हजार रुपैयाँ पार्टीका जिम्मेवार कामरेडलाई दिनु भनेर फेरि बेहोस भएछन् ।
त्यो पैसा पीके शर्मा (कमल)ले सिन्धुलीबाट काभ्रे हुँदै तीन दिनको पैदल हिँडेर कोटेश्वरको बाबुराम भट्टराईको निजी घरमा पुगी बाबुरामको हातमा दिएछन् । यस ऐतिहासिक मनी एक्सनका नायकहरू शेरमान कुँवर, महेन्द्र श्रेष्ठ, पीके शर्मालगायतका साथीहरू पछि शहीद भए । कवि हृदयका साथी भने अहिले पनि फाट्टफुट्ट कविता लेख्छन् र अरू माओवादीहरूले जस्तै त्यति कमाइधमाइ पनि गरेनन् वा गर्न सकेनन् भन्ने सुनिन्छ । बिचरा ती हेडसरको पैसा माओवादी नेतृत्वको सरकार बनेपछि फिर्ता दिनुपर्ने हो तर दिएका छैनन् भन्ने सुनिन्छ ।
यो पैसा पाएपछि प्रचण्डहरूले ठूलो राहत पाए । यसले जनयुद्धको अन्तिम तयारीमा ठूलो योगदान पुर्‍यायो । किनभने अन्यत्र कतै पनि मनी एक्सन भएन । जनयुद्ध सुरुवातको दिन ०५२ फागुन १ गते वितरण गरिएका पर्चा र टाँसिएका पोस्टर यही पैसाबाट छापिएका थिए । त्यसबेला बाह्य चन्दा अभियान पनि त्यति सफल हुन सकेन । जनयुद्धका लागि भनेर चन्दा सङ्कलन गर्ने कुरा पनि भएन, गोप्यता भङ्ग भइहाल्थ्यो । त्यसैले पार्टीका लागि भनेर विशेष चन्दा सङ्कलन अभियान चल्यो तर सोचेअनुसार आर्थिक सङ्कलन भएन । चन्दा लिनका लागि यहाँका ठूला पुँजीपति, व्यापारी, मारवाडीहरूकहाँ बाबुराम भट्टराई, पम्फा आदि स्वयम् पार्टीको लेटरप्याडमा आफैँले हस्ताक्षर गरेको पत्र लिएर गए । तर, एक लाख मागेको ठाउँमा पाँच हजार लिएर जानुस् भनेपछि उनीहरू रिसले कालोनीलो मुख लाउदै फर्के । प्रधानमन्त्री, मन्त्री भइसकेपछि उनीहरूले पहिलेका ती ठुला पुँजीपति र मारवाडीहरू कैयौँ पेटी र खोका पैसा ‘चन्दा’ लिएर भेट्न आउँदा पहिलाको कुरा सुनाएर हाँसे रे ।
पार्टी समर्थक र पार्टी सदस्य व्यापारी, शिक्षकलगायत विभिन्न पेसामा संलग्नहरूबाट भने केही रकम सङ्कलन भयो । पार्टीका केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्तिको दश प्रतिशत पार्टीलाई बुझाउने निर्णय गरे । तर, बुझाउने बेला भने कैयौँ केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति श्रीमती, छोराछोरीलाई अंश बाँडेपछि आफ्नो मात्र भागमा जति पर्छ सोको दश प्रतिशत मात्र बुझाए । त्यति गर्दा पनि अलिअलि रकम जम्मा भइहाल्यो । केन्द्रीय सदस्यहरूले दश प्रतिशत सम्पत्ति बुझाए भन्ने हल्ला गरेर तल पार्टी सदस्यसम्म नै जनयुद्ध सुरुवातका लागि विशेष आर्थिक सहयोग अभियान चल्यो । यसबाट पनि केही रकम जम्मा भयो । एकातिर जनयुद्ध सुरुवातका लागि भनेर आफ्नो सम्पत्तिको केही भाग पार्टीलाई दिने अभियान चल्दै थियो भने अर्कोतिर जनयुद्धपछि आफ्नो सम्पत्ति सरकारले रोक्का गर्ला वा कब्जा गर्ला भनेर एकथरी टाठाबाठा नेताहरू र नेतृहरू आफ्नो नाममा रहेका सम्पत्ति अरूका नाममा नामसारी गर्न कानुनी प्रक्रिया मिलाउन मालपोत कार्यालय धाउँदै थिए । गाउँतिरका कैयौँ साधारण महिला कार्यकर्ता आफ्ना नाककानका स–साना गहना पनि फुकालेर पार्टीलाई बुझाउँदै थिए भने महिला सङ्गठनकी तत्कालीन अध्यक्ष हिसिला यमी आफ्नो श्रीमान् बाबुरामको नाममा रहेको कोटेश्वरको बंगला आफ्नी दिदीको नाममा नामसारी गरी बेचेको कानुनी कागज मालपोत कार्यालयमा बनाउँदै थिइन् र तत्कालीन महासचिव लक्ष्मी श्रेष्ठ आफ्नो चितवनका घडेरीहरू आफ्नै आमाको नाममा सुटुक्क नामसारी गरेर पछिको लागि जोगाउन मालपोत कार्यालय धाउँदै थिए । आफ्नो सम्पत्तिलाई यस्तो माया गर्ने नेता र नेतृहरूले जनयुद्धमा ज्यान दिन तयार हुनुपर्छ भनेर भाषण गरेको पनि यस्ता चर्तीकला थाहा नपाएका बिचरा हजारौँ कार्यकर्ताहरूले सहर्ष मानेर आफ्नो ज्यानसमेत अर्पण गरे । बिचरा ती शहीदहरूले माथिबाट अहिलेका खाओवादी नेताहरू, नेतृहरू र कार्यकर्ताहरू देखेर के सोच्दै होलान् ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा